PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइतबारदेखि सरकारी कार्यालयको भुक्तानी अनलाइनमार्फत हुने, अब चेक काट्नु नपर्ने



रासस

काठमाडौँ : सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार (फागुन–१५ गते) देखि अनलाइनमार्फत गरिने भएको छ।
 
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
 
कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भुक्तानी पाउने पक्षबाट सम्बन्धित कार्यालयलाई पहिलो चरणमा रु २५ हजारभन्दा माथिको भुक्तानी अनलाइनमार्फत उपलब्ध गराइने जनाएको छ।
 
हाल कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेक जारी गरी कार्यालयमा पठाइन्छ। कार्यालयले उक्त चेक बिल पेस गर्ने पक्षलाई बुझाउँछ। बिल पेस गर्ने पक्षले चेक बैंकमा पेस गरी भुक्तानी लिनेछन्।
 
अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था लागू भएपछि चेक लिएर बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयका प्रवक्ता केबल भण्डारीले जानकारी दिए। अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्लेरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउँछ। अनलाइनमार्फत भुक्तानी व्यवस्था भएसँगै भुक्तानी पाउन छिटो र सरल हुने उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी दिए।
 
हाल भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दै आएको छ। अनलाइनमार्फत एक दिनमै भुक्तानी हुने, जनशक्तिको खपत हुने र चेक हराउने तथा च्यातिने समस्या नआउने महालेखाको दाबी छ।
 
महालेखाका प्रवक्ता भण्डारीका अनुसार डिजिटल हस्ताक्षर अनिवार्य नभइसकेको अवस्थामा पूर्णरुपमा अनलाइन भुक्तानी दिन सकिँदैन। पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइनमार्फत भुक्तानी दिइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell