PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​प्रहरीको खबरी नै लुटेराः फन्दामा पर्‍यो बानियाँ ग्याङ्ग



सविन ढकाल

​प्रहरीको खबरी नै लुटेराः फन्दामा पर्‍यो बानियाँ ग्याङ्ग

काठमाडौं : २०७३ फागुन १०,
स्थानः व्यापारिक केन्द्र, न्यूरोड
समयः दिउँसो २ बजे। 

'म असई नारायण अनुसन्धानबाट आएको' एटिएमबाट भर्खर ४ लाख २७ हजार निकालेर हिँडिरेहका नारायण खनाल र विधान खनाल प्रहरीको नाम सुनेपछि रोकिए। ६ जना थिए। यसो हुलिया हेरे। कपाल पुलिसको झैँ थियो।

'तपाईँहरु हुन्डीको कारोबार गर्नुहुँदोरहेछ हामीलाई सूचना आएको छ, हिँड्नुस् हामीसँगै।'

उनीहरुले आफू हुण्डी कारोबारी नभएको बरु कपडा व्यापारी भएको बताए। तर टोली उनीहरुलाई छोड्ने मुडमा थिएन। हामीसँग जानैपर्छ भनेपछि पछि लागे काका-भतिज।

समूहले दुवै जनालाई न्यूरोडबाट हिँडाएर डल्लु लगे। समूहमा रहेको एक जनाले भने 'असई साब यिनीहरु त हुन्डीकै कारोबारी रहेछन् भन्ने खबर आयो नि के गर्ने ?

अर्कोले भन्यो 'छोड्न मिल्दैन कारबाही हुन्छ ।'

लौ के बित्यास आइलाग्यो। समूहको संवाद सुनिरहेका दुवै जना डराए।

न्यूरोडबाट हिँडेर उनीहरु डल्लु पुगे। दुईटा ट्याक्सी लिए। ट्याक्सीमा बसेपछि बल्ल खुल्यो ती प्रहरी हैन लुटेरा रहेछन्।

एउटाले खुकुरी देखाए। खनालको साथमा भएको ४ लाख २७ हजार रुपैयाँ, चेक र मोबाइल लियो। अनि उनीहरुलाई बसुन्धरामा छोडेर त्यही ट्याक्सीमा भागे।

दिउँसै मध्य सहरमा एटिएमबाट निकालेको पैसा लुटिएर रनभुल्लमा परेका काका-भतिजले महानगरीय प्रहरी अपराध महाशाखामा फोन गरेर भने' हामीलाई प्रहरी हौं भन्ने एक समूहले लुट्यो।'

दिउँसै व्यस्त व्यापारिक केन्द्रमा २ जना लुटिएको सूचना पाएपछि प्रहरी सक्रिय भयो। महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं अनि महानगरीय प्रहरी बृत्त जनसेवा। तिनैतिरका प्रहरी लुटेराको खोजीमा खटिए। करिब ४८ घन्टाको खोजीमा समूह फेला पार्‍यो महाशाखाले।

उनीहरुलाई टेकुमा रहेको महाशाखाको कार्यालयमा ल्याएर सोधपूछ गर्दा लुटेरा समूहका केही सदस्य प्रहरीकै सहयोगी रहेको खुल्यो। लुटेराका नाइके प्रहरीका खबरी सहयोगी पूर्व सैनिक।

खबरीको आडमा संरक्षणको योजना

गिरोहको नेतृत्व गरेका थिए नारायण बानियाँले । एक वर्षअघि कोरियाबाट फर्किएका उनी हुन्डी धन्दा गर्ने योजनामा थिए। धन्दा सिक्न उनी हुन्डी व्यापारीसँग निकट भए। उनले प्रहरीसँग पनि सम्बन्ध बढाउन थाले।

प्रहरीको मन जित्न उनी प्रहरीको खबरी बने र हुन्डी कारोबारबारे सूचना दिन थाले। बानियाँको सहयोगमा प्रहरीले केही हुन्डी कारोबारी पक्राउ पनि गर्‍यो। प्रहरीको खबरी बनेसँगै उनले कसले के धन्दा गर्छ कसरी पहिल्याउने, कसरी कुरा गर्ने, प्रहरीको शैली अध्ययन गर्न थाले।

प्रहरीसँग राम्रै उठबस भयो। काम दिएकाले केही प्रहरीसँग उनको निकट सम्बन्धसमेत बनेको थियो नै। उनले त्यही सम्बन्धको फाइदा लिन आफैं लुट्ने योजनामा लागे र पक्राउ परे।

महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार पक्राउ परेको समूह उपत्यकामा लुटपाटका घटनामा संलग्न देखिएका छन्। उनीहरु लामो समयदेखि उपत्यकामा सक्रिय रहेकाले अन्य आपराधिक घटनामा समेत संलग्न हुनसक्ने उनको आशंका छ। खबरी बनेर उनले हुण्डी कारोबारोसँग रकम असुलेको प्रहरीको आशंका छ।
सांकेतिक फोटो :www.police.co.uk



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell