PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​कडा मिजासमा सभामुख नेम्वाङ



​कडा मिजासमा सभामुख नेम्वाङ

पहिलोपोस्ट-
काठमाडौं: पहिलो संविधानसभामा 'सहमति र सहकार्यको विकल्प छैन, दलहरु मिल्नुको विकल्प छैन' भन्दै सहमतिका रटान लगाउँदै आएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ दोश्रो पटक संविधानसभाको अध्यक्ष र संसदको सभामुखको भूमिकामा छन्। तर यसपटकको भूमिकामा उनले केही कडा मिजासको भूमिका निर्वाह गरिरहेका छन्।  

गत मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँगको मतभेदमा सभामुख नेम्वाङ कडा रुपमा प्रस्तुत भए। सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा माइक काटेका नेम्वाङले भने, ‘मैले तपाइँलाई बोल्न पर्याप्त समय दिएको छु, माननीय सदस्य। सभामुखले नियम बमोजिम अभ्यास बमोजिम लाइन नकाटेर के तपाइँले काट्नुहुन्छ?‘

गत फागुन ६ गते संविधानसभाको अध्यक्षमा सर्वसम्मतले चयन भएपनि नेम्वाङले सोही दिन निकै आलोचना खेप्नुपर्‍यो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो संविधानसभाको अन्त्य रोक्न नेम्वाङले बैठक नबोलाएको आरोप लगाए।

प्रचण्डले पहिलो संविधानसभाका अध्यक्ष नेम्वाङ दलहरुसँगै असफल सावित भएको टिप्पणी गरे। ‘पुरानै नेताहरुको संविधानसभामा उपस्थिति र पुरानै सभादक्ष्य चयन सँगै पुरानै भूल दोहोरिने र संविधान नबन्ने खतरा छ,’ प्रचण्डले भने।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभा भित्र हुने गरेको गतिविधिमा नेम्वाङको नियन्त्रण नरहेको टिप्पणी गर्दै ट्विट पढे ‘सुवास नेम्वाङ यस्ता शिक्षक हुन् जसको क्लासमा विद्यार्थीहरु सुत्न, हल्ला गर्न, लास्ट बेन्चमा बसेर दोहोरी गाउन र केटीलाई चकले हान्न पाउँछन् !’ थापाले ट्विट पढ्दै नेम्वाङमाथि प्रहार गरे।


लगत्तै भोलिपल्ट संविधानसभाको बैठकको अध्यक्षता ग्रहणसँगै नेम्वाङले आफ्नो सहनशीलतालाई कमजोरी नठान्न चेतावनी दिए। फागुन १४ गते संविधानसभा बैठकमा नेम्वाङले संविधान निर्माणमा सहमति नजुटे प्रक्रियाबाटै अगाडि बढ्ने भन्दै दृढता देखाए।

प्रक्रियामा कडाइ
पछिल्लो समय संसदका बैठकमा समेत नेम्वाङले कडा मिजास प्रदर्शन गर्दै आएका छन्। नेम्वाङले साउन ११ गतेको संसदको बैठकमा मन्त्रीलाई समेत बोलिरहेका सभासद्को बाटो काटेको भनेर फर्कन भने। सभासद् बोलिरहँदा ठिक सामुन्ने अगाडिबाट हिँडेपछि पर्यटन मन्त्री भीम आचार्यलाई सभामुखले 'मन्त्रीज्यू बाटो नकाट्नुस् पछाडि फर्कनुस्' भने।

त्यस्तै संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिमा विघटित संविधानसभामा भएका सहमति र असहमतिबारे छलफल गर्ने कि नगर्ने भन्ने विवाद भएपछि नेम्वाङले सहमति र असहमति केलाउने मात्र काम समितिको भएको स्पष्ट गरिदिए जसका कारण कतिपय विषय दलहरुको असहमतिका बाबजुद सिधै मस्यौदा समितिमा पुगेको छ।

दलहरुलाई देखाउने सोच
संसदको बैठक बसेको आठ महिना लाग्दा समेत संसद मातहतका विषयगत समितिका सभापति चयन नभएपछि नेम्वाङले दलहरुलाई देखाउनकै लागि सार्वजनिक लेखा समितिको निर्वाचनको प्रक्रिया अगाडि बढाए। फलस्वरुप प्रमुख प्रतिपक्षी दलले पाउने समितिको सभापति गत साउन १६ गते निर्वाचित भए। उनले अन्य समितिमा समेत दलहरुबीच सहमति नजुटे प्रक्रिया अगाडि बढाउने चेतावनी दिएपछि भदौ ४ गतेका लागि संसद मातहतका विषयगत समितिमा सभापति चयन प्रक्रिया अगाडि बढेको छ।

नेम्वाङको मिजासका संविधानसभालाई फाइदा कि बेफाइदा?
सभामुख र संविधानसभाका अध्यक्षका रुपमा रहेका नेम्वाङको मिजासको प्रत्यक्ष असर संविधानसभामा पर्नेछ। दलहरुबीच सहमतिको पुल बन्ने वा कडा मिजासका साथ प्रक्रियामा हिँडाउने भन्ने उनी माथि दबाब छ। तर संविधानविद् निलाम्बर आचार्य संविधानसभाका अध्यक्ष्यले प्रक्रियामा कडाइ गरेर केही नहुने बताउँछन्। ‘सुन्नेले नसुनेपछि के लाग्छ?’ आचार्यले भने, ‘सभामुखसँग नेताहरुलाई भन्ने अधिकार मात्र छ पार्टीका नेताहरुले नसुन्दा केही कडा हुन सक्नुहोला।‘

पहिलो संविधानसभाबाट सहमतिमा प्रक्रिया नटुंगिएको पाठ सिकेका नेम्वाङ यसपटक प्रक्रियामा बढी केन्द्रित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell