PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रतिपक्षी गठबन्धनको प्रधानमन्त्रीलाई दुई प्रश्न



पहिलोपोस्ट

प्रतिपक्षी गठबन्धनको प्रधानमन्त्रीलाई दुई प्रश्न

काठमाडौँ : नेकपा एमाले नेतृत्वको ९ दलिय प्रतिपक्षी गठबन्धनले सरकार र सत्ता समर्थित मधेसी मोर्चालाई दुई प्रश्न अगाडि सारेको छ। ९ दलको बैठकले प्रक्रियामा गएपछि आउने परिणाम र संविधानको व्यवस्थाको विषयमा प्रश्न सोधेको हो। प्रतिपक्षीको प्रश्न सँगै आग्रह पछि सभामुखले संसद बैठक भोली ३ बजेसम्मका लागि स्थगित गरेकी छिन्। बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले ९ दलको बैठकमा भएको छलफलबारे पत्रकारलाइ जानकारी गराए। यस्ता छन् दुइ प्रश्न-
 

प्रश्न १ : प्रक्रियाको परिणाम स्वीकार हुन्छ कि अस्वीकार?

संसदमा प्रतिपक्षी गठबन्धनसँग सत्तापक्षलाइ संविधान संशोधनमा रोक्न आवश्यक अंकगणित छ। सत्तापक्षसँग आवश्यक सांसद संख्या नभएकाले अहिलेकै अवस्थामा संशोधन प्रस्ताव अगाडि बढे फेल हुने निश्चित प्राय छ। यस्तोमा एमालेले फेल भएको अवस्थामा मधेसी मोर्चा निर्वाचनमा आउने सुनिश्चितता खोजेको हो।
 
रावलले भने - 'मधेसी मोर्चाका नेताहरुबाट जे जस्तो भनाइ आइ रहेको छ त्यसबारे सरकारको धारणा के हो? सरकारमा रहेका दुइ ठूला दलको धारणा के हो? स्पष्ट उत्तर पाउन सकेको छैन। प्रक्रियामा गएपछि जुन परिणाम आउँछ त्यो बारेमा सरकार र सरकारी पक्ष मधेसी मोर्चाका नेताहरुको धारणा स्पष्ट भएन। प्रष्ट पार्नुपर्‍यो। प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्‍यो। त्यसपछि के गर्ने विपक्षीले सोच्ने कुरा हुन्छ।

 

प्रश्न २ : संविधानको धारा २७४ को ४ अनुसार के हुन्छ?

संविधानको धारा २७४ को ४ मा सीमाङ्कन हेरफेरका लागि सम्बन्धित प्रदेश सभाको सहमति आवश्यक हुने उल्लेख छ। प्रदेश सभा गठन नभएको अवस्थामा संवैधानिक प्रावधानको ब्याख्या हुनुपर्ने प्रतिपक्षी गठबन्धनको भनाई छ।
 
रावलले भने - स्थानीय तहको निर्वाचन गर्ने भनेर त्यसलाइ स्वागत पनि गर्‍यौँ तर संविधानको धारा २७४ को ४ को जुन व्यवस्था छ। त्यसमा कसैले प्रदेश सभाको सीमाङ्कन हेरफेर गर्ने विषय ल्याए सभामुखले त्यस विषयलाइ प्रदेशमा पठाउनुपर्छ। त्यो संवैधानिक व्यवस्थाको विषयमा सरकारको भनाई के छ त? किनभने संसदीय व्यवस्थाको कुरा गर्ने संविधान कार्यान्वयनको कुरा गर्ने तर यी कतिपय विषयहरुमा सरकारको धारणाहरु स्पष्ट छैनन्।
 
प्रतिपक्षी गठबन्धनले प्रश्न सँगै कार्यव्यवस्था परामर्श समितिमा आफ्ना प्रश्नमा जवाफ खोजेको छ। कार्यव्यवस्था परामर्श समितिमा गठबन्धनले संसद अगाडि नबढाउन आग्रह गरेपछि बैठक भोली ३ बजे सम्मका लागि सूचना टाँस मार्फत स्थगित समेत भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell