PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​विप्लव बन्दसत्रमा भए भावुक, भन्छन् ‘आवश्यक परे हतियार उठाउँछौं’



पहिलोपोस्ट

​विप्लव बन्दसत्रमा भए भावुक, भन्छन् ‘आवश्यक परे हतियार उठाउँछौं’

  • दीपेश शाही/पहिलोपोस्ट
काठमाडौँ : रोल्पाको थावाङमा नेकपा (माओवादी)को ८औँ महाधिवेशनको बन्दसत्र जारी छ।

बन्दसत्रमा प्रतिनिधिहरुको रिपार्टिङ आइतबार दिउँसो सकिएको छ। रिपार्टिङ क्रममा प्रतिनिधिले उठाएका प्रश्नमाथि पार्टी स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले छोटकरीमा जवाफ दिएका छन्। 

२४ वटै समूहका कमाण्डरहरुको रिपोर्टिङ र स्थायी समिति सदस्यको जवाफपछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आइतबार नै करिब २ घण्टा बन्दसत्रलाई सम्बोधन गरे। 

करिव एकहजार पार्टी कार्यकर्ताबीच मन्तव्य सुरु गरेको बिल्पव बोल्दा–बोल्दै भक्कानिए। सम्बोधनको सुरुवातमा दश वर्षे माओवादी जनयुद्धका शहीद, घाइते र बेपत्ता परिवारबारे बिप्लवले धारणा राखे।  

बिप्लव भक्कानिएपछि हलको माहोल भावुक बनेको एक प्रतिनिधिले बताए। ती प्रतिनिधिले भने ‘हलको माहोल भावुक बनेपछि बिप्लव दाई एकछिन रोकिनु भयो।’ 

मास’लाई भाषणबाट उचाल्न सिपालु बिप्लवले सम्बोधनमा शहीद, बेपत्ता र घाइते योद्धाका सपनाहरु पुरा गर्न आवश्यक परे हतियार उठाउन पनि तयार हुनुपर्ने बताए। 

दश गतेसम्म चल्ने बन्दसत्रमा सोमबार महासचिव बिप्लवले दस्तावेजमाथि उठेका प्रश्नहरुको बुँदागत जवाफ दिएपछि सकिने सम्भावना रहेको प्रतिनिधि शिव डुम्रेले बताए।


पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

बिप्लव नेतृत्वको पार्टीको नाम फेरिने भएको छ। लिवाङमा जारी बन्दसत्रबाट पार्टीको नाम परिवर्तन गरेर नेपाल कम्युनिष्ट पार्टी राख्ने प्रस्ताव पारित भएको हो। बिप्लवले बन्द सत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको नाम परिवर्तन उल्लेख छ। प्रस्तावमाथि अधिकांश प्रतिनिधिहरुले सहमति जनाएका छन्। 

केहीले जनयुद्धको सम्मानका लागि भए पनि नाम परिवर्तन गर्न नहँुने धारणा राखेका छन्। तर, माओवादीले त्यसलाई स्वभाविक मानेको छ। ‘नाम भन्ने कुरा त प्राविधिक कुरा भइहाल्यो नि, काम के गछौँ भन्ने पो महत्वपूर्र्ण कुरा हो’ पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले भने। 


नेतृत्व महासचिव प्रणालीमा

पाटीको नेतृत्व महासचिव प्रणालीमा नै जाने निश्चित भएको छ। दस्तावेजमा नेतृत्वको विषयमा राखेको प्रस्तावमाथि प्रतिनिधिहरुले महासचिव प्रणाली नै सकरात्मक भएको धारणा राखेका छन्। 

जनसेना बिनाको कम्युनिष्ट पार्टी हुन नसक्ने भन्दै पार्टीका सेना र समानान्तर सत्ताको अभ्यासलाई अझैँ सशक्त बनाउने निर्णय माओवादीले गरेको छ। मोहन वैद्य किरणसँग पार्टी विभाजन गरेदेखि नै सेना र समानान्तर सत्ताको निर्माणमा लागेका बिप्लवलाई प्रतिनिधिहरुको सुझावले झन उत्साहित बनाएको छ। 

यसअघि बन्द सत्रमा उठेका प्रश्न र सुझावलाई आइतबार साझँसम्म एकीकृत गरी सकेर सोमबार राजनीतिक प्रतिवेदन र विधान पारित गरिने भएको छ । त्यसपछि सोमबार नै पार्टीको नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ। 

बन्दसत्र सकिएपछि पार्टीले करिव साढे २ करोड लगानीमा निर्माण गरेको एक हजार जना क्षमताको शहीद स्मृति हल थवाङका स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ। त्यसपछि १४ गते रोल्पाको सदरमुकाम लिवाङमा राप्ती अञ्चलस्तरीय आमसभा गर्ने र त्यसलाई बिप्लवले सम्बोधन गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell