PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​कमल थापाले कसरी फकाए प्रकाशचन्द्र लोहनीलाई



रमेश वाग्ले

​कमल थापाले कसरी फकाए प्रकाशचन्द्र लोहनीलाई

काठमाडौं : पदाधिकारी मनोनित गर्ने व्यवस्था गरेर भजनमण्डली जम्मा पार्न लागेको र लोकप्रिय निर्वाचन चिन्ह हलोलाई विस्थापित गर्ने शड्यन्त्र गरेको भन्दै प्रकाशचन्द्र लोहनीले विज्ञप्ति निकालेर पार्टी अध्यक्षको उम्मेदवार नबन्ने सहमती तोडे।

उनले एकता महाधिवेशनको उद्घाटन शत्रमै आफ्नो अशन्तुष्टी राख्दै कमल थापालाई सर्वसम्मत पार्टीको नेतृत्व नदिने उद्घोष गरे पनि अन्तमा उनी उम्मेदवार बने भएनन्। लोहनी उम्मेदवार नभए पनि थापा सर्वसम्मत भने हुन सकेनन्। अरुकै उम्मेदवारी पर्‍यो। तर जसले उम्मेदवारी दिएका छन् ती लोहनीझै शक्तिशाली छैनन्।

पार्टी एकता हुँदा राप्रपाले धर्म निरपेक्षता छोडेर हिन्दु धर्ममा आउने, राप्रपा नेपालले राजा छोडेर गणतन्त्र स्वीकार गर्ने तर दुबै निर्णय महाधिवेशन प्रतिनिधिको राय लिएर मात्र गर्ने भन्दै सहमतिमा गएका दुई पार्टी एकीकृत कार्यसम्पादन समितिबाट नै राजासहितको प्रजातन्त्र र सनातन हिन्दु राज्यको राजनीतिक प्रस्ताव पारित गर्न सफल भयो।

प्रजातन्त्रिक अभ्यासलाई बचाउने भन्दै थापासँगै लोहनीले पनि उम्मेद्वारी सार्वजनिक गरेपछि दुइनेताबीच सहमतिको प्रयास भएको थियो। अध्यक्ष थापाले पार्टीमा नीति तथा निर्देशन समिति रहने र त्यो समितिको संयोजक बरिष्ठ नेतासहित प्रमुखमा लोहनीलाई राख्ने सहमति गरेपछि पार्टीका वरिष्ठ चार नेताको सहमतिमा थापालाई समर्थन गर्ने सहमतिसहितको विज्ञप्ति जारी भएको थियो।

गत ४ गते साँझ भएको सहमति लोहनीले पार्टी एकता हुँदाको सहमति थापाले पालना नगरेको भन्दै २४ घण्टा नवित्दै औचित्यहिन घोषणा गरे । उनले निर्वाचन चिन्ह हलो बनाउने सहमति थापाले पालना नगरेको र पदाधिकारी निर्वाचित हुने व्यवस्था उल्टाएर सबै पदाधिकारी मनोनित हुने व्यवस्था ल्याएर पार्टीलाई एउटा गुटको 'भजन मण्डली' बनाउने प्रयत्न गरेको भन्दै पुनः उम्मेद्वारी घोषणा गरेका थिए।

त्यसरी उम्मेद्वारी घोषणा गर्दै महाधिवेशनको उद्घाटन सत्रमा समेत कार्यकर्तासँग 'हलो' चिन्ह र निर्वाचित पदाधिकारीका पक्षमा वकालत गरेका लोहनी कुनै राजनीतिक धारणा सार्वजनिक नगरी अध्यक्षको उम्मेद्वारी दिन रोकिकएका छन्।

किन रोकिए लोहनी?


स्रोतका अनुसार लोहनीलाई अध्यक्ष थापाले पार्टीमा दोस्रो हैसियतमा राख्ने आश्वासन दिएका छन्। लोहनी र पशुपतिशमशेर राणाले उठाएको चिन्ह र थापाले चाहेको गाई चिन्हको विवादमा महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिहरुबीच चर्को विभाजन र बहस देखिएपछि अध्यक्ष थापाले कुटनीतिक शैली प्रयोग गर्दै 'झण्डा र चुनाव चिन्हको विषय विधानमा नराख्ने र पछि स्थानीय कार्यकर्ताको सुझावमा निर्धारण गर्ने' भन्दै विधान पारित गराएका थिए।

त्यही कुटनीतिक शैलीमा थापाले लोहनीलाई चुनाव चिन्ह पनि हलो हुने आश्वासन दिएका छन्।

'अहिले प्रतिनिधिहरुबीचको ध्रुवीकरण रोक्न विधानमा उल्लेख नगरिएको चुनाव चिन्ह हलो नै निर्धारण हुने आन्तरिक सहमतिपछि लोहनीले उम्मेद्वारी नदिनुभएको हो,' केन्द्रीय सदस्य इश्वर कार्कीले भने, 'त्यसैले अब महाधिवेशनपछि जतिवेला निर्वाचन आयोगमा जान आवश्यक हुन्छ त्यसवेला राप्रपाको चुनाव चिन्ह हलो नै कायम हुन्छ।' उनले अध्यक्ष थापाको आश्वासन पछि लोहनीले उम्मेद्वारी नदिएको बताए।

राप्रपाका सहप्रवक्ता तथा कमल थापा निकटका नेता मोहन श्रेष्ठले भने चुनाव चिन्हको विषयमा सहमति हुन नसकेकै कारण विधानमा नराखिएको भन्दै पछि कार्यकर्ताको सुझावमा निर्धारण हुने बताए। 'महाधिवेशनको बन्द शत्रमा चुनाव चिन्हबारे मत विभाजित भयो,' श्रेष्ठले भने, 'त्यसैले यो विषयलाई पछि कार्यकर्तातहमा छलफल गरेर टुंग्याउनेगरी थाति राखिएको हो।'

राप्रपामा हलो चिन्हले अहिलेसम्मकै सबैभन्दा बढी १८ प्रतिशत मत प्राप्त गरेको, पुराना कार्यकर्तामा हलो चिन्ह नै स्थापित भएको भन्ने एउटा मत छ भने गाई चिन्हले पार्टीको सनातन हिन्दु राज्यको मर्मलाई सार्थक बनाउने तथा जनतामा पनि सम्मान बढि हुने तर्क रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell