PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रेखा थापादेखि कोमल वलीसम्मलाई राप्रपाको चुनाव लाग्यो: महाधिवेशनको रौनक १४ फोटोमा



पहिलोपोस्ट

रेखा थापादेखि कोमल वलीसम्मलाई राप्रपाको चुनाव लाग्यो: महाधिवेशनको रौनक १४ फोटोमा

काठमाडौं: प्रत्यक्षतर्फ ६० प्रतिशत केन्द्रीय सदस्य निर्वाचनको माध्यबाट चुनिने विधान पास भएपछि अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीयतहमा पुग्ने होडबाजी शुरु भएको छ।

४० प्रतिशत मनोनित हुने भए पनि नवप्रवेशी देखि पुराना पाका नेतासम्म निर्वाचित केन्द्रिय सदस्य हुन उम्मेद्वार बनेका छन्। कमल थापा निकटका हालका केही केन्द्रिय सदस्यहरु भने पदाधिकारी बन्न निर्वाचनमा होमिएनन्। ९४ जना निर्वाचित हुने सदस्यका लागि अधिकांश चर्चित अनुहार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्।

३ हजार ४ सय ७६ मतदाताको मन रिझाउन नायिका रेखा थापा, गायिका कोमल वली, पूर्वमन्त्री प्रतिभा राणा, पूर्वराज्यमन्त्री कुन्ती शाहीदेखि खेलकुद क्षेत्रमा चिनिएका इश्वर कार्की सम्म चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्।

यी हुन् राप्रपाका केन्द्रीय सदस्यका चर्चित अनुहार 

रेखा थापा 

फिल्मि क्षेत्रमा सफलतापछि राजनीतिमा भाग्य परिक्षण हाम फालेकी रेखा थापा केन्द्रीय सदस्यको उम्मेद्वार बनेकी छिन्।
करिव ८ वर्ष अघि माओवादीले गरेको आम हड्तालमा सडकमा प्रचण्डसँग नाचेर माओवादीमा लागेकी थापा संविधानसभाको दोस्रो चुनाव हुँदा २०७०मा उम्मेद्वारको आकांक्षी बनेकी थिइन्। त्यसवेला मतदाता नामावलीमा नाम नभएका कारण उम्मेद्वार बन्नबाट बञ्चित भएकी थापा माओवादीले ५ हजारको संख्यामा बनाउँदा समेत केन्द्रीय समितिमा नपरेपछि राप्रपा प्रवेश गरेकी हुन्। अहिले उनी राप्रपाको महिलातर्फबाट उम्मेद्वार बनेकी छन्।
 

कोमल वली

महाधिवेशन स्थल पुग्दा गायिका कोमल वली समेत दलबलसहित मत माग्दै हिडिरहेकी भेटिइन्। उनी पनि निर्वाचित केन्द्रीय सदस्य हुन निर्वाचनमा होमिएकी छिन्। लामो समय देखि रेडियो नेपालमा समाचारवाचिका रहेकी वलीले राप्रपामा चुनाव लड्नकै लागि रेडियो नेपालबाट समेत केही दिन अघि राजिनामा दिएकी थिइन्। 
यस अघि नेपाली कांग्रेससँग निकट रहेकी उनी राजा र राजपरिवारसँग समेत निकट भएर काम गरेकी थिइन्। कांग्रेसमा खुमबहादुर खड्कासँग निकट मानिने ओली खड्काको हिन्दु राज्यको औपचारिक लाइन लिएको राप्रपामा प्रवेश गरिन्। उद्घोषणमा अब्बल वली उद्घाटन सत्रको उद्घोषण र बन्दसत्रको रिफ्रेसमेन्टमा अध्यक्ष कमल थापासहित अधिकांस प्रतनिधिलाई आफ्नो गितमा नचाएकी थिइन्।

कुन्ती शाही

 

दैलेखकी कुन्ती शाही राप्रपा नेपालको तर्फबाट पहिलो र दोस्रो संविधानसभा काम गरेकी परिचित अनुहार हुन्। कानुनकी विद्यार्थी शाहीले संविधानसभामा रहेको आफ्नो संलग्नताकै कारण पार्टीभित्र मात्र नभएर राजनीतिक वृत्तमा समेत छवि स्थापित गरेकी छन्। राप्रपा नेपाल हुँदा महिलातर्फको अध्यक्षको भूमिकामा रहेकी शाही राप्रपा एकीकरण हुँदासमेत प्रजातान्त्रिक महिला संघकी अध्यक्ष भएकी छन्। शाहीले केन्द्रीय सदस्य निर्वाचित हुँदै पदाधिकारीसम्म बन्ने लक्ष्य निर्धारण गरेकी छन्।
 

 मीना सुवेदी

 

ओखलढुंगाकी मीना सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा लामो समयदेखि केन्द्रीय तहमा रहेर काम गरेकी छन्। यसअघिका दुई कार्यकाल राप्रपाको केन्द्रीय सदस्य भइसकेकी सुवेदी राप्रपामा पढेका महिलाको अग्रपंक्तिमा छन्।  राजनीतिक शास्त्र, इतिहास र समाजशास्त्रमा स्नातकोत्तर सुवेदी महिलातर्फबाट केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएकी छन्।

किरण गिरी

पत्रकारीता पेशाबाट आएका किरण गिरी पत्रकारीता पेशाबाट नै राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाको निकट भएका हुन्।
सूर्यबहादुर थापाको प्रेस सयहोगी भएर काम गरेका गिरी राष्ट्रिय जनक्ति पार्टी हुँदै राप्रपामा आएका हुन्। राप्रपाको सहप्रवक्ता समेत रहेका गिरी अहिले केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका छन्।
 

 

सगुन लावती

 

राप्रपाका पुराना तथा चर्तित नेता पद्‍मसुन्दर लावतीका छोरा सगुन लावतीले पनि राप्रपामा उम्मेदवारी दिएका छन्। राप्रपा नेपालमा कमल थापालाई कसैले पनि टक्कर दिन नसक्ने समयमा उनै पद्‍मसुन्दर लावती र केशरबहादुर विष्टले टक्कर दिएका थिए। त्यसमध्ये विष्ट अहिले राप्रपाबाट टाढिएका छन् भने पद्‍मसुन्दर लावतीको निधनपछि उनका छोरा सगुन लावतीले राजनीतिक निरन्ततरताको प्रयास गरेका छन्।
सांसद् वविना मोक्ता लावतीका श्रीमानसमेत रहेका लावतीले राप्रपामा युवाहरुको क्रियाशीलताका लागि काम गर्ने बताएका छन्।

 

प्रतिभा राणा

राप्रपामा लामो समयसम्म केन्द्रीय तहमै रहेकी प्रतिभा राणा पूर्व मन्त्रीसमेत हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासुसमेत रहेकी राणा राप्रपाका पुराना नेतामध्येमा पर्छिन्। उनले महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।

रेशम लामा

 काभ्रेपलाञ्चोकका रेशम लामा युवाहरुमाझ लोकप्रिय व्यक्तित्व हुन्। राप्रपा नेपालको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गरेका लामा अघिल्लो सरकारमा संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्रीसमेत बनेका थिए। अहिले उनी जनजाति तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार छन्।

ईश्वरबहादुर कार्की

सर्लाहीका ईश्वरबहादुर कार्की सूर्यबहादुर थापासँग निकट रहेर लामो समय काम गरेका नेता हुन्। सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीमा केन्द्रीय सदस्य भएर काम गरेका कार्कीले संविधानसभाका दुवै चुनावमा सर्लाहीबाट टिकट पाएका थिए। कार्की उसु तथा सुटिङका खेलाडी हुन् भने अहिले नेपाल सुटिङ एसोसिएसनका अध्यक्षसमेत छन्। प्रजातन्त्रिक युवक संघको संयोजकसमेत भएर काम गरिसकेका कार्की अहिले केन्द्रीय सदस्यमा खुल्ला तर्फबाट उम्मेद्वार बनेका छन्।

मोहन श्रेष्ठ

गोरखाका मोहन श्रेष्ठ राप्रपा नेपालको राजनीतिबाट स्थापित भएका हुन्। अध्यक्ष कमल थापासँग निकट भएर काम गरेका श्रेष्ठ राप्रपा नेपालको सहप्रवक्ता थिए। राप्रपासँगको एकतापछि उनी सोही पदमा थिए। थापा परराष्ट्रमन्त्रीहुँदा उनी जनसम्पर्क संयोजक थिए।
 


उदय सि‌ंह गुभाजुका समर्थक


केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको लाइन।


उम्मेदवारहरुको भिड




 भोट माग्दै रविन्द‍्रप्रताप शाहका समर्थक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell