PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाबुरामको दिल्ली तीर्थाटनका सन्देश



बाबुराम भट्टराईको (यसपछि बाबुराम) फेसबुक र ट्विटर पोस्ट हेरेर उनको मानसिक अवस्था आकलन गर्न गाह्रो छैन। उनका टिप्पणी हेर्दा उनी थाके झैँ देखिन्छन्। हालैको आफ्नो भारत भ्रमणलाई लिएर मिडियामा भएका 'गसिप' ले आजित भएका छन् भट्टराई।

कुरो प्रस्ट छ- उनी देशभक्ति र राष्ट्रियताबारे अरुका कुरा सुन्ने पक्षमा छैनन्। उनको मानसिक अवस्था बुझ्न गाह्रो छैन, मात्र हामीले उनका जुतामा उभिएर हेर्न जरुरी छ। 

उनले हालै सोसल मिडियामा लेखेका पोस्टले राजनीतिक गर्मी बढेको छ। उनी भन्छन्- आज जसले मलाई राष्ट्रियता र देशभक्तिका बारेमा प्रवचन दिँदैछ, ऊ नै विदेशी दूतावासले गर्ने 'फ्रिको दारु पार्टीमा' हामफालेर पुग्छ, अझै उनका शब्दमा 'टाउको टेकेरै' पुग्छ।

'रियल इस्यु' लाई साइड लगाउन प्रतिप्रश्न गर्नु नेताहरुको रगतमै छ। यो 'क्लासिक टुल' हो राजनीतिमा। कोही भन्दा कोही कम छैनन् यो मामिलामा। अझै बाबुराम त यस कलामा पोख्त खेलाडी हुन्।

उनले यस्तो हतियार प्रयोग गरेका छन्, जसले गम्भीर मुद्दालाई हल्का बनाइदिन्छ। उनी आफैले सन्तुष्टि पाउँछन् राजनीतिमा 'दुसरा' (क्रिकेट बललाई स्पिन गर्ने एक तरिका हो 'दुसरा') फाल्न सफल भएको मा। यो यस्तो पैन्तरा (चाल) हो जसको सहायताले  बाबुराम राष्ट्रियता र देशभक्तिलाई आजको युगमा कसरी बुझ्ने भन्ने बहसमा भाग लिन प्रयास गर्नुको साटो भाग्ने मुडमा देखिन्छन्।

नेपाल र भारत नजिकका छिमेकी हुन्। धेरै सामाजिक र सांस्कृतिक कुरामा हाम्रो घनिष्ठता त छ तर जब 'हाम्रो घरेलु मुद्दामा नजिकको छिमेकीको कुनै रोल हुनुपर्छ वा पर्दैन' भन्ने कुरामा मत बाँडिन्छन् र यसले 'को ठूलो देशभक्त?' भन्ने 'रेस' लाई गति दिने गर्छ।

कुनै समय नेकपा एमाले यही मुद्दाको मसाल लिएर उभिएको थियो। जब २०५२ सालमा माओवादीले जनयुद्ध सुरुवात गरे, उनीहरुले भनेका थिए कि- जनयुद्ध सुरु गर्नुपर्ने बाध्यता यस कारण आयो, जब तत्कालीन देउवा सरकारले माओवादीका ४० सूत्रीय माग सम्बोधन त परै जाओस्, एकपटक राम्रोसँग पढ्न पनि जरुरी ठानेनन्।

माओवादीको भनाइमा ४० सूत्रीय मागमा 'राष्ट्रियता' र भारतका विषयमा जुन माग थिए, ती पूरा गर्न सरकारले ठोस कदम चालेन। उनीहरुले पछि भारतलाई 'शत्रु नम्बर एक' घोषणा गर्दै युद्धमा होमिए। माओवादीका लागि भारत विस्तारवादी शक्ति थिए।

घुमेको घडी

त्यो एउटा समय थियो। तर अहिले घडीको सुई धेरै घुमिसकेको छ- खास गरेर माओवादीको। माओवादी शान्तिपूर्ण लोकतन्त्रमा सामेल भएपछि जनताले भित्री र भिन्न कुरा पनि थाहा पाउन थाले। भित्री कथा त बेग्लै पो रहेछ।

प्रचारबाजीमा भारत प्रधान शत्रु थियो तर व्यवहारमा माओवादीले भारतविरुद्ध कुनै गतिविधि नगर्ने 'वचन' भारत सरकारलाई उसका 'एजेन्सी' मार्फत दिएका रहेछन्। यस्तो भद्र सहमति पाए पछि भारत सरकारले पनि अतिथिका लागि सुरक्षित आवास सुनिश्चित गरेको रहेछ।

शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिमा सामेल भएपछि माओवादीको आल्मारीबाट यस्ता अस्थिपञ्जर बाहिर आएका छन् कि भारत बारे उनीहरुको दोधारपन अझै उदांगिएको छ। भारतलाई हेर्ने नेपालको विदेश निति कस्तो हुनुपर्छ भन्नेमा उनीहरुमा कुनै स्पष्टता पाइँदैन। माओवादीहरुले 'कहाँबाट कहाँ पुग्यौँ?' भनेर आत्म-समीक्षा गर्ने बेला आइसकेको छ।

राष्ट्रियताको विषयमा ढुलमुल गर्ने प्रवृत्ति माओवादीको दयनीय स्थितिको उपज हो। पहिलो कुरा, सन् २००८ को दाँजोमा 'स्वतन्त्र र निष्पक्ष' भएको सन् २०१३ को चुनावले माओवादीलाई राष्ट्रिय राजनीतिको 'न्युक्लियस' भन्दा टाढा राखेको छ । प्रजातन्त्रमा जनताले व्यक्त गरेको इच्छाले 'जनयुद्ध' को आडमा भर्खरै सत्ताको स्वाद चाख्न थालेका माओवादीलाई किनारामा हुत्याइ दिएको छ।

दोश्रो, 'कुइरोमा रुमल्लिएको कागजस्तो' संविधानसभालाई जे काम गर्न बनाइएको हो त्यो पुरा गर्न सत्ताधारीहरु "सिरियस" भएपछि माओवादीको हंसले ठाउ छोडेको छ। सम्भव भएसम्म 'सहमति' बाट र नभए संवैधानिक प्रक्रियाद्वारा संविधान बनाएरै छाड्ने कुराले माओवादी आत्तिएको छ।

समस्या के भैदियो भने प्रजातन्त्रिक अभ्यासमा माओवादी कच्चा सिकारु हो। लोकतन्त्रिक व्यवस्थाले कसरी काम गर्दछ भन्ने उनीहरुले अहिलेसम्म राम्ररी बुझेका छैनन्। जसको लोकतन्त्रप्रतिको प्रतिवद्धतामा अझै शंका छ, ऊ ठान्दछ कि नेपालमा शासन गर्ने उसको 'जन्मसिद्ध अधिकार' छ। माओवादी यो ठान्दछ कि नेपालको सरकार चलाउने, बेलगाम शासन गर्ने, शत्रु घोषणा गर्ने वा कुनै बिन्दुमा सत्रु बदल्ने र 'पब्लिक प्रेसर' बढ्दै गएपछि मात्रै संविधान नामको खोस्टो जारी गर्ने सबै कदम "कोशेर" (kosher) हुन्।

माओवादीले महसुस गरेको हुनुपर्दछ कि प्रजातन्त्रको पहिलो आवश्यकता अर्थात जनताको मत उनीहरुको पक्षमा छैन। यस्तो अवस्थामा उनीहरु कुनै 'दैवीक वा तिलस्मी जादु वा 'ईश्वरीय हस्तक्षेप' (Divine Intervention) को खोजीमा छन्। 'प्रभु' (कुनै बेला प्रचण्डले भारतलाई दिएको उपमा) को खोजीमा बाबुरामको दिल्ली भ्रमणलाई हेरिनुपर्दछ। यस अर्थमा यो बाबुरामको तिर्थयात्रा हो। यो कुनै नयाँ र पहिलो घटना होइन। माओवादीको प्यारो तिर्थस्थल यात्राका घटना राष्ट्रियतालाई प्रमुख मुद्दा बनाएर सुरु गरिएको आन्दोलनताका नै उजागर भएको हो। उनीहरुले भारतमा पहिलेदेखि नै आशिष पाइरहेको कुरा नयाँ होइन।

अब हेर्न रोचक के हुनेछ भने लुट्यन्सको दिल्ली (Lutyens' Delhi) मा सन् २०१४ मे को चुनाव पश्चात विराजमान नयाँ प्रभुले उचित समयमा हस्तक्षेप गर्ने वचन दिएका छन् वा छैनन्। भारत संसारको सबै भन्दा ठूलो प्रजातान्त्रिक मुलुक भएकोले नेपाली भारतबाट के आशा गर्छन् भने प्रभुले पक्कै पनि लोकतन्त्रमा कसरी 'बिहेभ' गर्ने भन्ने बारेमा प्रवचन दिएका छन्। यदि प्रभु प्रवचनमै मात्र सीमित भएका हुन् भने बाबुरामको तीर्थाटन सफल भएको मान्नुपर्छ।

बाबुरामको दिल्ली तीर्थाटनबारे अनुमान गरिहाल्नु भन्दा पर्खेर हेर्नु नै राम्रो हो किनकि आउँदा दिनमा दलहरुबीचको वार्ताले लिने मोडले दिल्लीको सन्देश प्रष्ट हुनेछ। यसले बाबुरामले दिल्लीबाट ल्याएको 'कोसेली' बारे नेपालीको कौतुहलता पनि मेटिने छ।

[email protected]
लेखक वकिल हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell