PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कथा : आतङ्ककारीको छाया



पहिलोपोस्ट

कथा : आतङ्ककारीको छाया

  • दीपक नेपाल 

माछा ढुक्ने बकुल्लोझैँ दायाँतिर टुक्रुक्क बसेको थियो बैंक घर। बायाँतिर बजार फैलिएको थियो। भर्खर विकसित हुँदै थियो बजार अनि सँगै झिनामसिना कार्यालयहरू थिए। बीचैमा थियो प्रहरी चौकी, जहाँ चौबीसै घण्टा सेन्ट्री बसेका हुन्छन् प्रहरीहरू।
 
आज पनि एक जवान प्रहरी सेन्ट्री पोष्टमा उभिएको छ। सूर्य पश्चिमी आकाशबाट ओर्लिएपछि ऊ त्यहाँ उभिएको हो। कालो र अत्यासलाग्दो रात धरतीभरि पोखिनुभन्दा अघि।
 
‘कतिसारो अँध्यारो!’ भर्खर लगाएको ड्रेस मिलाउँदै ऊ एक्लै बरबरायो।
 
ऊ वरपर अटेसमटेस गरी उभिएका घरहरूतिर हेर्छ। काला थुप्राजस्ता घरहरू तर्साउने भुतझैँ देखिन्छन्। ती घरहरूभित्र बाहिरको भन्दा ज्यादा अन्धकार कैद छ भन्ने उसले नबुझेको हैन। मुर्दासँग सुरक्षा मागेझैँ ऊ उज्यालोको आशा गर्छ।
 
गल्लीहरूबाट कुकुरहरू भुकिरहेका थिए। भोक, चिसो या डरले, कुन कारणले कुकुरहरू भुकेका हुन्? उसलाई थाहा छैन। तर ती भुस्याहा कुकुरहरूको झर्कोलाग्दो दोहोरी पनि उसलाई प्रिय लाग्छ।
 
हरेक आपतमा तुच्छ नै महान् हुन्छ सायद। सेन्ट्री बसेको प्रहरी भुस्याहा कुकुरले भुकेर आतङ्ककारी आएको जानकारी दिन्छन् भन्नेमा ढुक्क छ।
 
कामको नाम छ– सेन्ट्री बस्नु! तर उसले कहिल्यै बस्न पाउँदैन, उभिएको उभियै रात काट्नु पर्छ। आतङ्ककारीको डरले मुटुमा ढ्याङ्ग्रो बजाएर।
 
जताजता कुकुर भुक्यो ऊ उतैउतै मुन्टो घुमाउँछ। तर अन्धकारमा उसका चक्षु उज्यालोको भिक्षु भैदिन्छन्। त्यो अन्धकारको साम्राज्यमा उज्यालोको भिक्षा दुर्लभ भइदिन्छ।
 
माघ महिनाको मुटु हल्लाउने जाडोले उसलाई पटक्कै छोएको छैन। उसले लामो र बाक्लो बर्दी ज्याकेट लगाएको छ। भुवादार टोपीले टाउको छोपेको छ। परन्तु ऊ लुगलुग काँपेको छ।
 
जाडोभन्दा डर ठूलो छ, ‘कतै आतङ्ककारी त आउने हैनन्? धन्न भुस्याहा कुकुरले आधा काम गरिरहेछन्।’ ऊ भुस्याहा कुकुरहरूप्रति कृतज्ञ देखिन्छ।
 
मान्छेभन्दा बढी स्वतन्त्र छन् ती भुस्याहा कुकुहरू। बस्तीमा मान्छेहरू प्रशस्त छन्। तर आवाज चुइँ...सम्म छैन। कुकुरहरू आलाप गाइरहे जस्तै छन्।
 
त्यस जवान प्रहरीलाई त्यो आलाप कुनै मीठो सङ्गीतभन्दा कम्ता लागेको छैन। उसको अनुभवले उसलाई विश्वस्त पारिरहेछ, आतङ्ककारी आए भने कुकुरहरू झन् जोडले भुक्नेछन्।
 
त्यो रातको अन्धकारमा उसलाई अचानक घरको सम्झना भयो। स्वास्नी, तोते बोली बोल्ने छोरो, बूढा बाबुआमा र तरुनी बहिनीहरू उसले पालैपालो सम्झिँदा फराकिलो निधारमा चिट्चिट् पसिना उम्य्रो।
 
‘कतै स्वास्नीलाई आतङ्ककारीहरूले...!’ उसको मन सम्भावित भयले झन् काँप्यो। अनि तरुनी बहिनीहरू...। अनि सानो बाबुको अपहरण भयो भने...! यहाँनेर आएर ऊ झन् काँप्न थाल्यो। आमाबाबुको वृद्ध हाँसोमाथि कुनै तुषारापात नहोस्! मनमनै कामना गर्‍यो।
 
बेलाबेला उसको ध्यान कुकुरहरूले भङ्ग गरिदिन्छन्। ऊ झन् चनाखो बन्छ। कुकुरसँगै ऊ आतङ्ककारीको रौद्र रूप सम्झन्छ। कुकुरको भुकाइसँगै डरलाग्दा आतङ्ककारीका छायाँ सल्बलाएजस्तो उसलाई लाग्छ। डर सँगसँगै उसको कन्पारो तात्यो। के गरौँ न कसो गरौँ छट्पटियो आफै। भिरेको बन्दुक च्याप्प समात्यो। भयभित दुई खुट्टा दह्रो टेक्यो।
 
आतङ्ककारीको रिसले च्याप्प समाएको बन्दुकको कमानी अन्जानमै थिचिएछ। प्रतिक्रियास्वरूप बजारभरि त्रास फैलाउँदै एउटा गोली खुस्कयो–
ड्याम्म...!
 
भुँडीभरि अत्यास बोकेका घरहरू ब्युँझिए। बस्ती चलमलायो। केही परको मन्दिरबाट परेवाहरू उड्न खोजेर पनि उड्न सकेनन्। प्रत्येक घरका झ्यालहरू खुल्दै बन्द हुँदै गए। सम्पूर्ण मानवबस्ती त्रासको कालो हाँडीबाट चियाउन थाल्यो।
 
काँइँ काँइँ काँइँ!!!
 
निकै लामो कुकुरको करुण चीत्कार गुन्जेर त्रासमा झन् त्रास थपियो। अन्जानमा खुस्किएको गोली र कुकुरको अवाज। सेन्ट्री बसेको प्रहरीले बल्ल बुझ्यो– खुस्किएको गोली निमुखा कुकुरलाई लागेछ!
 
कुकुरको चीत्कार सुनेर उसलाई अघि उठेको रिस कता गायब भयो, पत्तै पाएन। निर्दोष कुकुरलाई आफ्नो हातको बन्दुकबाट खुस्किएको गोली लाग्दा दयाभन्दा पश्चात्ताप ज्यादा भयो।
 
अदना भुस्याहा कुकुर घाइते भएकामा त्यस प्रहरी जवानलाई कुनै दया पलाएको छैन। बरु आतङ्ककारी आएको थाहा दिने कुकुर घाइते भएकामा ऊ पछुताएको छ।

वरपर भुकिरहेका कुकुरहरू झन् चर्को आवाजमा भुक्न थाले। गोली खाएको घाइते कुकुरको करुण स्वर रोकिएको छैन। ती कुकुरहरूले आफैलाई गाली गरेझैँ लाग्छ उसलाई।
 
चलमलाएको बस्ती र घरहरू फेरि चकमन्न हुन्छन्। फेरि लगलगी काँप्न थाल्छ जवान प्रहरी। हठात् उसको मुखबाट खुस्कन्छ, ‘हत्तेरी! यो अन्धकार जुगजुगसम्म रहने त हैन?’
 
ऊ ध्यानपूर्वक चारै दिशातर्फ हेर्दै आफैले आफैलाई भन्छ, ‘अन्धकार मृत्युभन्दा भयानक हुँदो रहेछ।’ आपतमा हरेक मान्छे दार्शनिक हुन्छ। ऊ दार्शनिकझैँ शब्दवाणी छोड्न थाल्छ। ऊ फेरि बर्बराउँछ– बन्दुकले एक पटकमा मार्छ तर अन्धकारले बाँचुञ्जेल पटकपटक मारिराख्छ।
 
उसका अनिँदा आँखाहरू चारैतर्फ घुमेर हेर्नमै व्यस्त छन्। पूर्वी आकाशमुनि ऊतर्फ आउँदै गरेको कालो छायाँजस्तो मानव आकृति देखापर्छ। दृष्टिभ्रम हो कि सत्य हो? ऊ एकछिन अलमलिन्छ। छुट्याउन सक्दैन। तर आकृति सत्यजस्तै लागेर ऊ एकाएक झसङ्ग हुन्छ। झुन्झनाउँछन् उसका सम्पूर्ण शरीरका अङ्ग-प्रत्यङ्ग। हातखुट्टा सात दिन खान नपाएझैँ फत्रक्क गल्छन्।
 
त्यो आकृति साँच्चैको मानव मात्र हो या आतङ्ककारी? उसको मनमा भयको अर्को द्वन्द्व रुमल्लिन्छ। ऊ मनभरि प्रश्न बोकेर आकृतितिर आँखा तिखार्छ। तर अँध्यारोमा ठम्याउन सक्दैन।
आकृति नजिकै आइपुगेपछि अचानक ऊ आदेशको भाषा बोल्छ, ‘हल्ट! एक पाइलो अघि नबढ! नत्र ठोकिदिन्छु!’
 
उसको ‘हल्ट!’ आदेश हावामा गएर थर्थराउँछ। उसको स्वर लगलगी काँपेको छ। तर नडराएको भाव देखाउन, ऊ झन् चर्को बोल्छ।
 
आफैँले दिएको चेतावनीको आदेशपछि कुनै महिलाको अस्पष्ट आवाज सुन्छ। आवाजसँगै दुवै हात आत्मसर्मपणको भावमा माथि उचालिएको उसले धमिलो गरी देख्छ।
 
त्यो देखेर ऊ ढुक्क हुनुपर्ने हो, तर भएन। कतै आतङ्ककारीहरूले घाँस हालेको त हैन? उसको मस्तिष्कमा आशङ्कामाथि अर्को आशङ्का पलाउँछ।
 
‘को होस् तँ, यति राति एक्लै हिँड्ने? कर्फ्र्यु पास छ?’ डर–त्रासले भयभित प्रहरी कर्कश आवाज निकालेर बोल्छ। यसरी बोल्दा आफ्नै बोलीसमेत अनौठो लाग्यो उसलाई। तर अनौठो मान्ने फुर्सद छैन।
 
उसको सोधाइमा ‘सत्य, सेवा, सुरक्षणम्’को भाषाभन्दा त्रासको भाषा ज्यादा मिसिएझैँ लाग्छ। प्राणको माया र मृत्युको चिन्ता मिसिएको छ।
 
‘काम गर्दा गर्दै ढिला भयो सर!’ महिलाको स्वरमा मानव आकृति बोल्छ। उसको बोलाइमा विनम्रको भाषा प्रस्ट झल्किन्छ।
‘काँ जाँदैथिइस्?’ प्रहरी कठोरतापूर्वक कड्किन्छ।
 
‘घुम्दै रिपोर्टिङ् गर्न हिँडेकी। अलि ढिला भयो।’
 
जवाफ सुनेर प्रहरीको रिसको पारो तात्छ। ‘रिपोर्टिङ’ सुनेर अर्को आशङ्का पनि गर्छ।
‘राति राति घुम्न हिँड्ने? कर्फ्यु भन्ने था छैन तँलाई? कि ज्यानको माया छैन?’ महिला आकृतिभन्दा बढी ऊ आफैँ डराइरहेको छ। तैपनि ऊ तर्साउन खोज्छ।
 
हप्की आएर होला, उक्त महिलाको आवाज आएन। बरु आदेश बमोजिम ऊ नजिक पुग्छे। प्रहरी उसका झारिएका दुवै हात माथि उठाउने अर्को आदेश दिन्छ। ऊ होसियारीपूर्वक दुवै हात माथि उठाउँछे।
 
ऊ अर्थात् प्रहरी जवान त्यो अँध्यारोमै तलदेखि माथिसम्म हेर्न भ्याउँछ। तर उक्त महिलाले प्रहरीलाई हेरिन। उसको कालो बुट हेरी। त्यो बुटमा उसले सिंहदरबारको छायाँ देखी। प्रहरीको बर्दी हेरी, यो देशको आलो रगत् लतपतिएको देखी। प्रहरीले भिरेको बन्दुक हेरी, त्यहाँ उसले महान् ख्वामितहरूको विलासी चित्र नाङ्गै देखी।
 
‘तँ पत्रकार होस्?’ प्रहरी उसै जङ्गियो। एउटी निरीह मामुली महिला देखेपछि ऊ अलिकति ठडिन खोज्यो।
 
पत्रकार भने झस्किई। तर निडर हुँदै भनी, ‘म पत्रकार मात्र हैन, देश बचाउन बाबुको कुटील सल्लाहमा राजीखुसी पैला जाने राजकुमारी हुँ।’ उसको स्वर गम्भीर सुनियो।
तर बुझ्ने प्रहरीले गम्भीर रूपमा बुझेन। ऊ बेमज्जासँग हाँस्दै सोध्छ, ‘तँ राजाकी छोरी?’ प्रश्न गरिसकेपछि ऊ फेरि उसै गरी हाँस्छ। लामो हाँसो रोक्दै ऊ आफैँलाई सोध्छ, ‘यो त पागल हो कि क्या हो !’
 
लगभग बीस/बाइस वर्षकी अविवाहित युवती थिई ऊ। उसको अनुहारमा डर र त्रास केही छैन। एकजोर कुर्ता–सुरुवालमाथि पातलो स्वेटर लगाएकी छे।
 
टाउकोमाथि कपालको चुल्ठो ऊ आफैँभन्दा बढी स्वतन्त्र छ। तन्द्रङ् झुण्डिएको। तर ऊ आफैँ भने अपराधीझैँ कठघरामा उभिएकी छे।
 
‘राजाकी छोरी रानी हुन्छे। ल हिँड, अब रानी बन्नुपर्छ।’ प्रहरीको कर्कश एवं अप्रत्याशित बोली सुन्दा पत्रकारलाई लाग्यो होला– यो प्रहरीलाई पान चपाएझैँ चपादिऊँ! तर पनि उसले बोल्ने साहस गर्न सकिन।
 
प्रहरी जवानले महिलाको सम्पूर्ण शरीर धेरैबेर लगाएर चेक जाँच गर्‍यो। त्यस बेलासम्म उसले आफ्नो मुटु चुहिएको अनुभव गरिसकेकी थिई। शरीर चेकजाँच गर्दा जिउँदै पिण्ड खायो या खाएन उसलाई याद भएन। मन भने बेस्सरी दुख्यो। केही समयपश्चात् यो देशको प्रजातन्त्रझैँ अस्तव्यस्त आफ्नो शरीर समेटी। सुरक्षा चुहिएको गन्हाउने अनुहार पुछी।
 
अन्त्यमा आनन्दको उच्छवास लिँदै ऊ पत्रकारको झोला खोतल्न थाल्छ। युवती विवश हेरिरहन्छे। ऊ झोलाको डायरीसँगै चर्ट लाइट झिक्छ।
 
‘राती यस्तो उज्यालो बत्ती बोकेर हिँड्ने पनि पत्रकार हुन्छ कहीँ? यो सब बन्दोबस्तीको सामान हो। पूरा आतङ्ककारी हअँ, साप?’ हाकिमको स्वीकृति पाउने आशामा उसले हाकिमतर्फ पुर्लुक्क अनुहार फर्काउँछ।
 
‘लगेर थुन्दे।’ अफिमको नशाले लट्ठिएझैँ निद्राले लट्ठिएको हाकिम तन्द्रामै आदेश दिन भ्याउँछ।
 
विना हिचकिचाहट ऊ हाकिमको आदेश शिरोपर गर्छ।
 
रातभर देशको सुरक्षा चिन्ताले पत्रकारको मस्तिष्क गिजोलिरह्यो। बिहानीपख पत्रकारलाई अन्य महिला आतङ्ककारी भएको कोठामा थुन्यो।
 
नयाँ आतङ्ककारीले पुरानी आतङ्ककारी महिलालाई हेरिरही। त्यहाँ उसले के देखी, उसैलाई थाहा भएन। सायद पुराना आतङ्ककारीहरूले त्यस नयाँ आतङ्ककारीको अनुहार हेर्दा ऊभन्दा बढी च्यातिएको देशको भविष्य देखे!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell