PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​योजना कार्यान्वयनलाई प्राथमिकता –उपाध्यक्ष श्रेष्ठ



रासस

बेनी : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले देशको विकास निर्माण र जनताको समृद्धिका लागि बजेट विनियोजनसँगै योजना कार्यान्वयनतर्फ पनि प्राथमिकता दिनुपर्ने बताएका छन्। 

आयोग उपाध्यक्षमा नियुक्त भएपछि पहिलोपटक आफ्नो जन्मथलो म्याग्दीको सिङ्गा तातोपानीमा आउनुभएका उपाध्यक्ष डा श्रेष्ठले बिहीबार स्थानीयवासीले आयोजना गरेको स्वागत कार्यक्रममा सो कुरा बताएका हुन्। 

उपाध्यक्ष श्रेष्ठले योजना कार्यान्वयनका लागि योजना सञ्चालन भएका क्षेत्रका बासिन्दा, सरकारी निकाय, निर्माण व्यवसायी, स्थानीय राजनीतिक दल र सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए। देशमा विकास निर्माणको कामलाई दु्रतगतिमा अघि बढाउन र नयाँ विधिबाट योजनालाई प्राथमिकीकरण र कार्यान्वयन गर्न आफू लागिपरेको पनि जानकारी दिए। 

म्याग्दीको दरबाङ, ताकम, मुना हुँदै ढोरपाटनबाट मध्यपहाडी लोकमार्गमा जोडिने सडक, बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिने कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमजोम–लोमान्थाङ सडक आफूले प्राथमिकतामा राखेको पनि उपाध्यक्ष डा श्रेष्ठले बताए। 

त्यसैगरी, म्याग्दीमा सुस्तगतिमा रहेका राहुघाट जलविद्युत् आयोजनालगायत योजनाको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ पनि आफ्नो ध्यान केन्द्रित भएको उनको भनाइ थियो। 

बेनी–दरवाङ सडकसहित ग्रामीण क्षेत्रका सडकमा धमाधम बजेट विनियोजन हुन थालेपछि उत्साहित भएका म्याग्दीवासीलाई अझै विकासको अनुभूति दिलाउने योजनालाई प्राथमिकताका साथ अगाडि बढाउन स्थानीयवासीले उपाध्यक्ष डा श्रेष्ठलाई अनुरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell