PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उही रुट, उही पैसा, आधा ज्यान पार्ने ‘नेपाल यातायात’को सास्तीबाट मेट्रो सिटीको राहत



पहिलोपोस्ट

उही रुट, उही पैसा, आधा ज्यान पार्ने ‘नेपाल यातायात’को सास्तीबाट मेट्रो सिटीको राहत

काठमाडौँ : दिनहुँ नेपाल यातायातमा कोटेश्वरबाट पुतलीसडक कार्यालय आउने सुवास श्रेष्ठले अचेल नयाँ विकल्प पाएका छन्। थोरै सिट र उभिने ठाउँ पनि साँघुरो रहेको नेपाल यातायातमा कोचिएर यात्रा गर्दा आजित श्रेष्ठ आफ्नो रुटमा ठूलो आकारको सिटी मेट्रो यातायात चल्न थालेपछि त्यसमै चढ्न थालेका हुन्।

साझा यातायातको पुनर्जन्मसँगै तीन बर्ष अघि राजधानीको लोकल रुटमा भित्रिएको ठूला आकारका बस अहिले निजी क्षेत्रका व्यवसायीले पनि ल्याउन थालेका छन्। त्यहि क्रममा सुन्तला रंगको सिटी मेट्रो काठमाडौँको सडकमा देखिएको हो। सिटी मेट्रोको उपस्थिती यसकारण महत्वपुर्ण भयो की- त्यो रुटमा सार्वजनिक यातायातको रुपमा नेपाल यातायातका मात्र बस चल्थे। 
 
‘जबर्जस्ति खाँदिनु पर्ने, बेपर्वाह हुइक्याउने, सहचालकको दुर्ब्यवहार जस्ता अनेक सास्ती खेपेर पनि नेपाल यातायात चढ्नुको बिकल्प थिएन, सिटी मेट्रो यातायातमा भेटिएका तेजबहादुर थापाले भने- सबै भन्दा तितो त सहचालकको यता र उता धकेल्ने ब्यवहार देखिनै लाग्थ्यो।’ 
 
फराकिलो ‘स्पेस’का कारण सिटी मेट्रोमा उभिन समेत सजिलो हुने उनको भनाइ छ। त्यस बाहेक बस स्टपमा मात्र रोकिने र उक्लिने/ओर्लिने अलग अलग ढोकाका कारण बसले शहरकै शोभा बढाएको उनले बताए। 

यी बस काठमाडौँका सडकमा देखिएको तीन साता हाराहारी मात्र पुगेको छ। सिटी मेट्रो यातायात कम्पनीले १५ वटा बसबाट सेवा सुरु गरेको हो। ४० भन्दा बढी सिट क्षमताका यी बस काँडाघारीबाट सुरु भएर जटिबुटी – कोटेश्वर – नयाँ बानेश्वर – बवरमहल – माइतीघर – रामशाह पथ – न्युप्लाजा – पुतलीसडक – नक्साल – टिचिङ हस्पिटल – महाराजगञ्ज – बसुन्धरा – नयाँ बसपार्क हुँदै बनस्थलीसम्म पुग्छन् र त्यहि बाटो भएर फर्किन्छन्। 
 
अहिले हरेक १५ मिनेटमा दुबै तिरबाट बस छुट्ने गरेको कम्पनीका अध्यक्ष हेमन्त शेरचनले जानकारी दिए। सरकारले बजेट मार्फत ४० भन्दा बढि सिटका बसमा राजश्व छुट दिने ब्यवस्था गरेपछि आफुहरुले सेवा सुरु गरेको उनले बताए। 
 
सिटी मेट्रो गुड्ने कोटेश्वर देखि महाराजगञ्जसम्मको रुट नेपाल यातायातसँग मिल्दोजुल्दो छ। यो रुटमा नै नेपाल यातायात पनि सर्वाधिक भिड हुने गर्छ। नेपाल यातायात नयाँ बानेश्वरबाट थापागाउँ हनुमानस्थान हुँदै आउनेमा सिटी मेट्रो बबरमहल भएर गुड्छ। न्यु प्लापा पछि फेरि यिनीहरुको रुट एउटै हुन्छ।    
 
पुरानै भाडादरमा सञ्चालित यी बस सुविधा सम्पन्नसँगै अपाङ्गता भएका ब्यक्तीमैत्री समेत छ। सामान्य गाडीमा पत्ता सिस्टम हुने गरेकोमा सिटी मेट्रोमा ‘एयर ससपेन्सन’ प्रविधि रहेको र यहि कारण गाडी कम हल्लिने अध्यक्ष शेरचनले जानकारी दिए।
 

गाडीको लोकेसन मोबाइलमा


यो सेवा भित्र्याउँदा कम्पनीले प्रविधिको पनि भरपुर उपयोग गरेको छ। सिटी मेट्रोको मोवाइल एपमा गाडी कहाँ आइपुग्यो भनेर हेर्न सकिने ब्यवस्था मिलाइएको छ। बस भित्र हरेक स्टप पिच्छे कहाँ पुग्यो भन्ने सुचना स्पिकरबाट बज्ने गर्छ। जसले दृष्टिविहिन लगायत नयाँ यात्रुलाई समेत सजिलो पार्छ। बसमा राखिएको सिसिटिभी क्यामेराले चोरी, महिलाहिंसा लगायतका घटना नियन्त्रणमा समेत सहयोग पुग्ने अध्यक्ष शेरचन बताउँछन्।
 
काँडाघारीबाट बनस्थलीसम्मि साढे २९ किलोमिटरको दुरी छ। अब केहि महिनामै यो दुरीको यात्रा थप छोटो हुनेछ। किनभने कम्पनीले तीन महिना भित्र १७ वटा बस थप गर्ने जनाएको छ। त्यसपछि बस छुट्ने अवधि पाँच मिनेटमा छोट्टिनेछ भने यात्रुको पर्खाइ १० मिनेटले घट्नेछ। 
 
एउटा बसको लागत ५२ लाख ५५ हजार रुपैयाँ तिरेर भित्र्याएको कम्पनीले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell