PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​८६ घण्टापछि खुल्यो विमानस्थल, पहिलो प्रस्थान दिल्ली, पहिलो आगमन फ्लाइदुबई



​८६ घण्टापछि खुल्यो विमानस्थल, पहिलो प्रस्थान दिल्ली, पहिलो आगमन फ्लाइदुबई

  • सविन मिश्र/पहिलोपोस्ट-
काठमाडौं : बुधबार बिहान टर्किस एयरलाइन्सको जहाजले क्र्यास ल्यान्ड गरेदेखि अवरुद्ध काठमाडौँ विमानस्थलको अर्न्तराष्ट्रिय उडान शनिबार राति १० बजेदेखि सुचारु भएको छ।
 
शनिबार राति १० बजे नेपाल वायु सेवा निगमको काठमाडौं–नयाँ दिल्ली उडान भएसँगै अन्तर्राष्ट्रिय समुदायसँग विच्छेद हवाई सम्बन्ध ८६ घण्टापछि फेरि सुचारु भएको हो। निगमको एयरबस एक सय ५८ जना यात्रु लिएर दिल्ली जाने भनिए पनि सबै यात्रु नआइपुगेका कारण ९२ जना मात्र यात्रु लिएर उडेको हो।

निगमले राति साढे ११ बजे दोहामा पनि उडान गर्दैछ।
 
त्यसैगरी अवरुद्ध विमानस्थल खुलेपछिको पहिलो अराइभल फ्लाइ दुबईको जहाज बिहान १ बजे हुँदैछ।
 
विमानस्थलमा दैनिक ८० वटा उडान/अवतरण हुने गरेका थिए।
 
चार दिन यता उडान अवरुद्ध हुँदा काठमाडौंमा २४ हजार यात्रु अलपत्र भएका थिए भने विदेशका विभिन्न विमानस्थलमा पनि झण्डै २४ हजार नै यात्रु अलपत्र परेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताए।
 

ट्याक्सी वे टू बन्द

निगमले दुर्घटनाग्रस्त विमान डोमेस्टिक टर्मिनल अगाडि लगेर राखेको छ। यसले निगमका आन्तरिक र बाह्य कुनै पनि उडान प्रभावित नहुने श्रेष्ठले बताए। त्रिभुवन विमानस्थल प्रशासनले तत्कालका लागि 'ट्याक्सी वे टू' बन्द गरेर विमान पार्क गरेको उनले जानकारी दिए।
 
शनिबार दिउँसो दुर्घटनाग्रस्त विमान धावनमार्गमा ल्याइएसँगै आन्तरिक उडान पनि प्रभावित भएको थियो। यसअघि बुधबार, विहीबार र शुक्रबार भने आन्तरिक उडान रोकिएका थिएनन्।
 

कुन आउँछन् कुन जान्छन्?

विमानस्थल प्रशासनले फ्लाइट सेड्युल तयार गरिरहेको बताएको छ। यद्यपि यो समाचार तयार पार्दासम्म पहिलो र दोस्रो उडान नेपाल वायुसेवा निगमले गर्दैछ। निगमले पहिलो उडान साढे नौ बजे नयाँ दिल्ली गरेको छ भने दोस्रो उडान सवा ११ बजे कतारको राजधानी दोहा जाँदैछ।
 
यस्तै शनिबार राति फ्लाइ दुबईको जहाज काठमाडौं अवतरण गर्ने पहिलो जहाज बन्दैछ। यो जहाज राति सवा एक बजे काठमाडौं आएर सवा दुई बजे दुबई फर्कने छ। यस्तै फ्लाइ दुबईकै अर्को विमान सवा दुई बजे काठमाडौं आइपुगेर सवा तीन बजे दुबई फर्कने छ।
 
यस्तै चाइना साउदर्नको विमान पनि शनिबार राति सवा एक बजे काठमाडौं अवतरण गर्ने छ। यो विमान पनि राति नै चीन फर्कने भएपनि फर्कने समय भने तय भइनसकेको विमानस्थल स्रोतले जनाएको छ।
 
यस्तै ड्रागन एयरले पनि शनिबार राति नै काठमाडौं आउने अनुमति मागेको छ। अनुमति माग्नेमा जेट एयरवेज, चाइना इस्टर्नलगायतका छन्।
 
शनिबार राति सबैभन्दा ढिलो गरी ओमान एयरको विमान काठमाडौं आइपुग्ने छ। यो विमान राति साढे दुई बजे काठमाडौं आएर आइतबार बिहान साढे तीन बजे काठमाडौंबाट फर्कने स्रोतले जनाएको छ।
 
यस्तै इत्तेहाद एयरको विमान पनि आइतबार विहान चार बजे  उड्ने संभावना छ। टर्किस एयरको अर्को जहाजर मलेशियन एयरलाइन्सको जहाज पनि आइतबार आउने छन्।
 

टर्किस टोली आएर सके काम

रनवेको छेवैमा दुर्घटनामा परेको विमान हटाउन भारतीय एयरफोर्सको हर्कुलस विमान बिहीबार एयरक्राफ्ट रिमुभल किट लिएर काठमाडौं आएको थियो। नेपाली र भारतीय प्राविधिकले प्रयास गरेपनि विमान हटाउन ढिलाइ हुने भएपछि टर्कीबाट नै शनिबार दिउँसो सवा तीन बजे सातजनाको टोली काठमाडौं आयो।
 
'टर्कीबाट नै प्राविधिक टोली नेपाल आएपछि उहाँहरुले नै जिम्मा लिएर काम अगाडि बढाउनु भयो,' विमानस्थलको कर्पोरेट विभागका उपनिर्देशक प्रेमनाथ ठाकुरले भने, 'प्राविधिकसहितको उहाँहरुको टोलीले काम छिटो अगाडि बढायो, त्यसैले हामीलाई पनि सजिलो भयो।' टर्कीबाट आएको टोलीले नै सबै जिम्मेवारी लिएर काम अगाडि बढाएको थियो।
 
टर्कीस प्राविधिकको टोली दिउँसो सवा तीन बजे शेषना एक्सएल जहाजबाट काठमाडौं आइपुगेको। भारतीय विमान उनीहरुलाई नेपाल छोडेर दिउँसो सवा चारबजे फर्किएको थियो।
 

बुधबारसम्म २४ घण्टा

सामान्य अवस्थामा राति १२ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो चारदिन भने २४ घण्टा चल्ने भएको छ। नेपाल आउने र नेपालबाट बाहिरिने यात्रुको चापलाई मध्यनजर गर्दै २४ सै घण्टा उडान गर्न लागेको विमानस्थलका महाप्रबन्धक श्रेष्ठले बताए।
 
'हामीले ११ मार्चको विहान ६ बजेसम्म २४ घण्टा नै उडान गर्ने तयारी गरेका छौं,' श्रेष्ठले भने, 'आवश्यक परे समय थप गर्न पनि सकिन्छ।'
 

डोरी चुँडिदा भयो ढिलाइ

दुर्घटनाग्रस्त विमान शनिबार बेलुकी ६ बजेसम्ममा जसरी पनि रनवेबाट हटाउने तयारी विमानस्थलको थियो। तर विमान तान्न प्रयोग गरिएको डोरी चुँडिएपछि झण्डै डेढघण्टा ढिलो गरी मात्रै काम सकिएको थियो।
 
'हामीले विमान तान्न प्रयोग गरिएको डोरी चुँडिएपछि काममा ढिलाई भयो,' श्रेष्ठले भने, '५४ घण्टा कन्टिन्यू काम गरेका छौं, केही कठिनाई भए पनि काम सकेका छौं।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell