PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​प्रहरीले गोप्य राखेको त्यो रिपोर्ट जुन कार्यान्वयन भएको भए ३३ किलो सुनकान्ड रोकिन सक्थ्यो



केपी ढुंगाना

​प्रहरीले गोप्य राखेको त्यो रिपोर्ट जुन कार्यान्वयन भएको भए ३३ किलो सुनकान्ड रोकिन सक्थ्यो

'फ्लाई दुबईको विमानमा बम छ।'

२०६९ असोज १९ गते बेलुका ८ बजे त्रिभुवन विमानस्थलको ल्यान्डलाइनमा आएको फोन कलले हलचल मच्चियो।

सूचना गम्भीर थियो। दुबई जाने विमानमा पाइलट, यात्रु पुगिसकेका थिए। एफजेड ५७६ कलसाइनको विमान उड्नमात्रै बाँकी थियो। विमानस्थलमा रहेका सेना, प्रहरी सबै सतर्क भए। विमान उडान रोकियो। 

सबै यात्रुलाई ‌ओरालेर विमानभित्र जाँचको क्रममा बम भेटिएन। बरु भेटियो एक करोड २४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा। विदेशी मुद्रासँगै फेला परे भारतीय नागरिक विनोदकुमार सोनी। विमानको जाँच सकिँदा अन्य शंकास्पद सामाग्री केही फेला परेन। सुरक्षा निकायले बुझ्यो, फोन कल बमका लागि हैन त्यही डलरका लागि आएको थियो जुन विमानस्थलको सबै सुरक्षा जाँच पास गरेर विमानभित्र पुगिसकेको थियो।

सुन तस्करी मौलाएको थियो। सुन ल्याउन डलर तस्करी पनि उस्तै। सबै जाँच पास गरेर विमानसम्म डलर पुग्नुमा संगठित समूहको संलग्नताको आशंका गर्दै प्रहरी प्रधान कार्यालयले तीन दिनपछि छानबिन समिति गठन गर्योा। र, त्यही छानबिनबाट प्रहरी अधिकारीले तस्कर समूहसँग मिलेर गरिरहेको तस्करीको र्या,केट खुलासा भयो जसमा विमानस्थलका प्रहरी जोडिए।

विमानस्थलमा खटिएका प्रहरी हवल्दार सोभितबहादुर कार्की र सोनीबीच प्रत्यक्ष सम्पर्क भएको देखियो। अर्का देखिए प्रहरी सहायक निरीक्षक हिराकाजी कुमाल।

सम्पर्कमा देखिएको अर्को नम्बर पनि प्रहरीकै थियो। उनी थिइन् प्रहरी जवान सोममाया पाख्रिन। तर उनी काठमाडौंमा हैन, झापामा थिइन्।
पाख्रिनको कनेक्सन केलाउँदै जाँदा अर्को ब्यक्ति अनुसन्धानमा तानिए। ती थिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डका एसएसपी रविराज श्रेष्ठ। अनुसन्धानमा पाख्रिनको नाममा निकालिएको सिम उनै रविराजले तस्कर समूहसँग सम्पर्क र समन्वयका लागि प्रयोग गरेको खुल्यो। प्रहरीले प्रहरीमाथि गरेको अनुसन्धानमा श्रेष्ठ दोषी देखिए र उनी बर्खास्तीमा परे।

∙∙∙∙∙

४ वर्षपछि पात्र फेरिए। पद, स्थान र घटनाक्रम भने उस्तै।

पुस २१ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको अनुसन्धानका क्रममा नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्री पक्राउ परे। विमानस्थलमा कार्यरत रहेका उनी हेडक्वार्टर तानिएको २० दिन भयो। २० दिन हेडक्वार्टरमा राखेर गरिएको अनुसन्धानमा ३३ किलो सुन तस्करीमा संलग्न समूहसँग खत्रीको संरक्षण खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेर ब्युरोको महाराजगञ्जमा रहेको हिरासत कक्ष पुर्‍यायो।

सुनसहित ब्युरोले गोपालबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो। उनीहरुको पक्राउबाट भन्सारका कर्मचारी तानिए श्रीनारायण यादव र राजकुमार ढकाल। यी दुई कर्मचारीको पक्राउपछि एसएसपी खत्री तानिए।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार एसएसपी खत्री सुन तस्करीबारे जानकार रहेको र उनले विमानस्थलबाट उनीहरुलाई सहजै बाहिरिन दिए वापत भन्सारका कर्मचारीमार्फत् नियमित रकम लिने गरेको खुलेपछि उनलाई औपचारिक रुपमै अनुसन्धानको दायरामा ल्याउन पक्राउ गरिएको हो।

∙∙∙∙∙

'विदेशी मुद्रा बरामद भएको घटना र सो अघि भएका विभिन्न यस्तै प्रकृतिका संगठित तस्करीका घटनाहरु छानबिनको क्रममा तथ्यहरुले स्थापित गरेको हुँदा यसअघि विमानस्थलमा भएका विमान अपहरण, लागू औषधको कारोबार लगायतका घटनाहरु जस्तै अन्तर्राष्ट्रिय आतंकवादी र अन्य आपराधिक संगठनले पनि यसको फाइदा उठाउन सक्ने हुँदा यसमा संलग्न संगठित आपराधिक समूहका व्यक्तिहरुको थप पहिचान र विस्तृत अनुसन्धान तथा कारवाही गर्नुपर्ने देखिन्छ।'

डलर तस्करीबारे अनुसन्धानका लागि गठन भएको छानबिन समितिको निष्कर्ष हो यो। 

छानबिन समितिमा थिए तत्कालीन एआइजी भीष्म प्रसाईँ, तत्कालीन डिआइजी उपेन्द्रकान्त अर्याल र दिन्करशमशेर राणा। अनुसन्धान निष्कर्षमा पुग्नुको कारण थियो तस्करीमा संलग्नहरुबारे खुलेको जालो। विमानस्थलको एक घटनामात्रै केन्द्रित गरेर गठन गरिएको समितिले तस्करीमा नाम खुलेकाहरुको भूमिकाबारे विस्तृत अनुसन्धान गर्न समय पाएन।

त्यसैले उसले प्रतिवेदनको अन्तमा सिफारिस गर्‍यो-
 
'यस बोर्डलाई तोकिएको सीमित समयावधिभित्र घटनाको छानविन गर्नु परेकाले प्रारम्भिक सूचनाहरुको आधारमा प्राविधिक छानबिन गरी प्रतिवेदन तयार गरिएको र छानबिनको क्रममा यो अपराध निरन्तर रुपमा भइरहेको यस्तै अपराधहरुको एउटा कडी मात्र भएकोले यस्ता अपराधका सम्पूर्ण पक्षहरुलाई उजागर गरी संगठित अपराधिक समूहको विभिन्न तह र आवरणमा क्रियाशील व्यक्तीहरुको गहन अनुसन्धानबाट पहिचान र कारवाही गर्ने जिम्मेवारी हेतु यो प्रतिवेदन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जमा पठाउनु उपयुक्त हुने देखिन्छ।'

∙∙∙∙∙

मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, बिनोदकुमार सोनी, गोपाल कुकरा, घनश्याम कुकरा, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का, मुरारीलाल गोयल र सुमन अग्रवाल नेपालबाट अवैध विदेशी मुद्रा बोकेर विदेश जाने तथा त्यस्तै अवैध वस्तुहरु विदेशबाट लिई आउने व्यक्तिहरु निम्न बमोजिम रहेको खुल्न आएको प्रतिवेदनको निष्कर्ष थियो। 

यत्ति मात्रै हैन, यी मध्ये तत्कालीन समयमा फरार रहेका मुरारीलाल गोयल (जमालिया), पवन अग्रवाल, विमल पोद्धार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, राजेश अग्रवाल, ज्ञानकुमार श्रेष्ठ लगायतका व्यक्तिहरु अवैध हुण्डी, विदेशी मुद्राको कारोवार तथा तस्करीको काममा सक्रिय रुपमा संलग्न भएको' निष्कर्ष दिँदै समितिले योबारे समेत विस्तृत अनुसन्धान गर्नुपर्ने औंल्यायो।

यत्ति गम्भीर तथ्यसहित प्रहरीले नै तयार पारेको प्रतिवेदन दराजमा लुकाइयो। तस्करीदेखि आतंकवादसम्म जोडेर विस्तृत अनुसन्धानका लागि समितिले गरेको सिफारिस कार्यान्वयनमै आएन। प्रतिवेदन अनुसार संलग्न देखिएका प्रहरी कर्मचारी कारवाहीमा परे। विदेशी मुद्रा राजश्व अनुसन्धान विभाग पुग्यो।

तस्करीमा संलग्न देखिएका तत्कालीन अवस्थामा फरार रहेका पावरफूलहरु अपराधको प्रकृति अनुसारको अनुसन्धानमा तानिएनन्। भन्सार छलीको अभियोगमा उनीहरु विभाग धाए। कोही धरौटीमा छुटे, कसैले सफाई पाए।

∙∙∙∙∙

३३ किलो सुन तस्करीको कनेक्सन केलाउने क्रममा ब्युरोले पक्राउ परेकाहरुलाई संगठित अपराधको अभियोगमा प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ।

अनुसन्धानको प्रारम्भदेखि नै प्रहरीले ३३ किलो सुन तस्करी संगठित, अन्तर्राष्ट्रिय र बलियो जालो रहेको दावी गर्दै आएको छ। तर एक महिनाको अनुसन्धान अहिलेसम्म कर्मचारी पक्राउबाट अगाडि बढेको छैन। 

अनुसन्धान स्रोत नियमित रुपमा सुन तस्करीमा संलग्न समूहले नै सो सुन मगाएको र उनीहरुको पहिचान समेत भइसकेको बताउँछ। तर अनुसन्धानको गम्भीरतालाई हेर्दै नाम भने खुलाउन चाहेन।

'केही ब्यक्ति काठमाडौंमै छन्, केही नेपाल बाहिर पुगिसके,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'नेपाल बाहिर पुगेका पक्राउ नगरी काठमाडौंमा रहेकालाई पक्राउ गर्नसक्ने अवस्था बनिसकेको छैन।'

आइतबार भएको एसएसपी पक्राउले अनुसन्धानलाई नयाँ मोड दिएको छ। ब्युरोको अनुसन्धान उपलब्धिउन्मुख पनि देखिन्छ। 

कतै ३३ किलोको अनुसन्धान पनि अघिल्लो अनुसन्धानझैँ साना र मझौला माछामै समेटिने अनि ठूला माछा पुनः सक्रिय हुने त हैन?
ब्युरो प्रमुख डिआइजी नवराज सिलवाल अनुसन्धान अन्तिम तहसम्म पुगेर मात्र टुङ्गिने बताउँछन्। 

तर अनुसन्धानको निचोड सार्वजनिक नभएसम्म आशंका जारी नै रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell