PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​साउदीमा मृत्यु भएका मण्डलको शव दुई महिनादेखि अलपत्र, परिवारद्वारा सरकारसँग सहयोग माग



रासस

राजविराज : वैदेशिक रोजगारीका लागि सप्तरीबाट साउदी अरब गएका एक व्यक्तिको मृत्यु भएको दुई महिना भएपनि शव नेपाल ल्याउन सकिएको छैन। 

सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको आज दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर ल्याउन नसक्दा परिवारमा रुवावासी भएको पारिवारिक स्रोतले जनाएको छ। 

फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षा–दीक्षा दिने उद्देश्यले साउदी पुगेका मण्डलको दुई महिना अगाडि पेट दुखेपछि अस्पताल भर्ना गरेपनि उनको मृत्यु भएको थियो। 

काठमाडौँस्थित प्रिसियम इन्टरनेसनल प्रालि’ नामक म्यानपावरमार्फत साउदी अरब गएका मण्डलको शव ल्याउन नसक्दा परिवारमा रुवावासी हुनुका साथै घरमा दुई छोरी र एक छोराको शिक्षादीक्षा तथा पालनपोषणमा समेत समस्या भइरहेको उनकी श्रीमती विमलादेवीले गुनासो गरेकी छिन्। 

मृत्यु भएलगत्तै सम्बन्धित निकायलाई जानकारी दिँदा पनि हालसम्म आफ्नो श्रीमान्को शव नेपाल ल्याउन नसकेको विमलादेवीले बताइन्। 

यता बहादुरको दुई महिनादेखि शव नआउँदा अधिकांश पुरुषले कपाल काटेका छैनन् भने उनको सद्गत नहुँदा गाउँमा रहेका छ परिवारमा धार्मिक कार्यसमेत रोकिएको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले जानकारी दिए। 

मृतकको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव ल्याइदिन आग्रहसमेत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell