PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​दुर्घटनाग्रस्त विमान हटाउन भारतीय वायुसेनाको सहयोग मागियो, विमान नहटेसम्म विमानस्थल बन्द



​दुर्घटनाग्रस्त विमान हटाउन भारतीय वायुसेनाको सहयोग मागियो, विमान नहटेसम्म विमानस्थल बन्द

  • कञ्चन अधिकारी-
काठमाडौँ : बुधबार बिहान क्र्यास ल्यान्डिङ गर्दा काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलको रनवे छेकिने गरी अड्किएको टर्किस एयरलाइन्सको विमान त्यहाँबाट निकाल्न भारतीय वायुसेनासित सहयोग मागिएको छ।
 
नागरिक उड्डयन प्राधिकरणले बुधबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा  महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले भारतीय वायुसेनाको एयरक्राफ्ट रिमुभल किट ल्याउन प्राधिकरणको पहलमा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, भारतीय दूतावास हुँदै भारतीय वायुसेनालाई अनुरोध गरिसकिएको जानकारी दिए।
 
बिहीबार बिहान ८ बजेसम्ममा इन्डियन एयरफोर्सको सि १३० विमान एयरक्राफ्ट रिमुभल किटसहित अवतरण गर्ने जानकारी सुमनले दिए।

अडियो सुन्नुस‌्-


किन चाहियो भारतीय सहयोग? 

सुमनका अनुसार टर्किस एयरलाइन्सको एयरबस ३२०-३०३ ठूलो जहाज र वजन धेरै भएकोले हटाउन समस्या भएको हो। 'हामीले १७ टन इन्धन हटाउँदा पनि अझै १५० टन वजन छ। हामीसँग टोइङ मेसिन जम्मा ७० टनको छ। क्रेनको क्षमता पनि जम्मा ७० टन तान्न सक्ने मात्रै छ', सुमनले भने, 'जहाजको ल्यान्डिङ गियर क्षतिग्रस्त भएकोले टोइङ (गुडाएर डोर्‍याउन सक्ने) स्थितिमा छैन।'

उनले भने, 'यो एरियामा रिमुभल किट जम्मा एउटा मात्रै छ- मुम्बई विमानस्थलमा इन्डियन एयरफोर्सको। जहाज रनवेको झण्डै बीच भागमा छ। जसले गर्दा ठूलो जहाज हामी रनवेमा ल्यान्ड गराउन सक्दैनौँ। हामी यस्तो विमानको खोजीमा छौँ, जो ५ हजार मिटर रनवेमा बौद्ध साइडबाट ल्यान्ड गरोस्। जहाज खोजिसकेका छौँ। यो जहाजलाई हामी राति ल्यान्ड गराउन सक्ने अवस्थामा छैनौँ। त्यसैले भोलि बिहान हामी ल्यान्ड गराउने छौँ।'
 
'यस्ता घटना विरलै मात्र हुन्छ, हामीसँग साधन कम छ। छिमेकी मुलुक भारत र थाइल्यान्डमा पनि यस्ता क्षमतावान एयर क्राफ्ट एक–एक वटा मात्र छन्। आगामी दिनमा पाठ सिकेर तयारी अवस्थामा रहनुपर्छ', उनले भने।
 
विमान हटाउनका लागि स्वदेशी एवम् आवश्यकता परेमा विदेशी जनशक्तिसमेत परिचालन गरिने उनले बताए। 

विमानस्थलमा अवतरण गराउन नसकेको भए

विमान हटाउन आवश्यक रिमुभल किट यो क्षेत्र मै भारत र थाइल्यान्ड गरी दुई स्थानमा रहेको जानकारी दिँदै सुमनले भने, 'हाम्रो रनवेको साइजका कारण पनि त्यस्ता विमान अवतरण गराउन सकिँदैन।'

उनका अनुसार काठमाडौँमा विमान अवतरण गराउन नसकेको भए नजिकैको विमानस्थल भारतको बागडोरामा अवतरण गराएर त्यहाँबाट सडकमार्ग हुँदै काठमाडौँ ल्याउनु परेको भए २० घण्टासम्म लाग्न सक्थ्यो। 
 

अनिश्चित कालका लागि विमानस्थल बन्द

टर्किस एयरलाइन्सको विमान नहटाएसम्म विमानस्थल बन्द हुने निश्चित छ। औपचारिक रुपमा भने विमानस्थल प्रशासनले भोलि बिहीबार अपराह्न ४ बजेसम्मका लागि विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द हुने जनाउ एयरलाइन्सहरुलाई दिइसकेको छ। तर 'भोलि अपराह्न ४ बजेपछि पनि एयरपोर्ट खुल्ने संभावना छैन', विमानस्थलस्थित प्राविधिक स्रोतले पहिलोपोस्टलाई बतायो, 'दुर्घटनाग्रस्त विमानलाई रनवेबाट नहटाएसम्म उडान र अवतरण संभव छैन।' 

सुमनले पनि भने, 'भोलि बिहान रिमुभल किटसहितको विमान अवतरण हुनेछ। त्यसपछि विमान हटाउने प्रयास सुरु हुनेछ। यसमा कति समय लाग्छ हामीलाई थाहा छैन। तर हामीले अपराह्न ४ बजेसम्म हटाइसक्ने अनुमान गरेका छौँ।'

८० फ्लाइट रद्द

विमानस्थल दिनभर बन्द भएपछि ४० वटा उड्ने र ४० वटा अवतरण गर्ने गरी ८० फ्लाइट रद्द भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। आन्तरिक तर्फ करिब ५ घण्टा उडान बन्द गरिएको थियो। करिब २५ हजार यात्रु यसबाट प्रभावित भए। 

कति क्षति ?

पाँच वटा रनवे लाइट र आठ वटा ट्याक्सी लाइट साइनेज तीन वटामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। 

रनवे बन्द हुने गरी दुर्घटना भएको दोस्रो पटक

सुमनका अनुसार काठमाडौँ विमानस्थलको रनवे बन्द हुने गरी दुर्घटना भएको यो दोस्रो पटक करिब १० वर्षअघि नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटना हुँदा करिब चार घन्टा रनवे अवरुद्ध भएको थियो।
 
यसअघि थाइ र गल्फ एयरलाइन्सका विमान अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएर दुर्घटना भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell