PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कर्णालीको सहायक नदी लिमी पहिरोले थुनिएको शंका 'गलत'



कर्णालीको सहायक नदी लिमी पहिरोले थुनिएको शंका 'गलत'
फोटो स्रोत : http://3.bp.blogspot.com/

काठमाडौं : पहिरोका कारण कर्णाली नदीको सहायक नदी लिमी थुनिएको मिडियाहरुको रिपोर्ट 'गलत' प्रमाणित भएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले चीनको तिब्बत हुँदै आउने लिमी खोलाको वहाव ९० प्रतिशत पुरानै अवस्थामा फर्किएको पहिलोपोस्टलाई बताए।

'बाक्लो हिमपातका कारण नदीमाथि हिउँ जम्मा भएको देखियो, मान्छे हिँड्न मिल्ने गरी हिउँ जम्मा भएको रहेछ, पानी समेत भित्रभित्रै बगेको रहेछ,' कटुवालले पहिलोपोस्टसँगको टेलिफोन कुराकानीमा भने, 'पहिरो गएको कतै देखिएन।'

मंगलबार पहिरोका कारण कर्णाली नदीको वहाव रोकिएको भन्दै विभिन्न सञ्चार माध्यमहरुले समाचार सम्प्रेषित गरेका थिए। हुम्लाको टेलिफोन समेत अवरुद्ध हुँदा मंगलबार अन्यौलता छाएको थियो। तर, बुधबारबाट टेलिफोन सेवा अवरुद्ध सुचारु भएको छ।

'स्थानीयले आइस जमेको कारण पानी कम भएको भनेका छन्, जुन सतहमा पानी थियो अहिले नाइन्टी पर्सेन्ट त्यहि अवस्थामा आइसक्यो, पहिरो गएको भन्ने खै कतै देखिएन,' कटुवालले भने।

कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले कर्णाली नदिको वहाब बढ्दै गएको जानकारी प्राप्त भएको बताए।

'हुम्लाबाट नदीको वहाव बढेको खबर आएको छ, त्यो नदीको पानी यहाँ आइपुग्न अझै चार पाँच घण्टा लाग्छ भन्छन् यहाँका बुढापाका,' श्रेष्ठले पहिलोपोस्टसित भने।

गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव रामेश्वर दंगालले पहिरोबारे नखुलेको र हिउँ नै जमेको बुझिएको बताए।

हुम्लाका पहाडी इलाकामा अझै हिमपात भइरहेको र मौसम नखुलेकाले थप जानकारी प्राप्त नभएको दंगालले बताए। इसिमोडबाट सहयोग लिन खोज्दा समेत बाक्लो कुहिरोका कारण स्याटेलाइट इमेज प्राप्त गर्न कठिनाई भएको दंगालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell