PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अपडेट : पहिरोले कर्णाली नदी थुनिएको अझै पुष्टि भएन



अपडेट : पहिरोले कर्णाली नदी थुनिएको अझै पुष्टि भएन

  • पहिलोपोस्ट
काठमाडौँ :  हुम्लाको याङ्चे वडा नम्बर ९ मा पहिरो गएर कर्णाली नदी थुनिएको चर्चा केही मिडियाले दिनभर दिए पनि त्यसको आधिकारिक रुपमा पुष्टि रातिसम्म हुन नसकेको सरकारले स्पष्ट पारेको छ। 

 गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव रामेश्वर दंगालले पहिलोपोस्टलाई भने, 'घटना भएको भनिएको ठाउँ विकट छ। त्यहाँ कोही पनि पुग्न सकेका छैनन्।'


अपडेट : कर्णाली नदी थुनिएको बारे अझै जानकारी आएन, वर्षा जारी, स्याटेलाइट इमेज प्रष्ट छैन 

काठमाडौँ :  कर्णाली नदी पहिरोका कारण थुनिएको भन्ने चर्चा चले पनि दिउँसो २ बजेसम्म यसको पुष्टि हुन सकेको छैन। गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव रामेश्वर दंगालले कर्णालीको याङ्सु भन्ने ठाउँमा नदीको बहाव घटेको खबर आएपछि सेटेलाइट इमेजले केही पत्ता लाग्छ कि भनेर हेर्न इसिमोडलाई हेर्न आग्रह गरिएको पहिलोपोस्टलाई बताएका थिए। 

इसिमोडकी प्रवक्ता मीना गुरुङका अनुसार उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेको र बादल लागेका कारण पहिरो गएको भन्ने ठाउँ स्याटेलाइटले 'पिन' गर्न सकेको छैन। 

'स्याटेलाइट इमेज प्रष्ट नभएकोले यस्तै हो भन्न सकिने स्थिति छैन', उनले पहिलोपोस्टलाई बताइन्। 

कर्णाली थुनियो? गृह भन्छ- पुष्टि भएको छैन, कालिकोट प्रजिअ भन्छन्, पानीको सतह घट्यो 

काठमाडौँ : गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले अहिलेसम्म कर्णाली नदी थुनिएको बारे पुष्टि भइनसकेको जनाएको छ।महाशाखाका प्रमुख सहसचिव रामेश्वर दंगालले कर्णालीको याङ्सु भन्ने ठाउँमा नदीको बहाव घटेको खबर आएको पहिलोपोस्टलाई बताए। 'तर नदी थुनिएको भेटिएको छैन', उनले बताए। 

'हुम्लाको याङ्सु भन्ने ठाउँमा नदीको बहाव घटेको भन्ने खबर आयो, बहाव किन घट्यो भन्ने खोज्ने कार्य जारी छ, थुनिएको भेटिएको छैन, मौसमका कारण, फ्रिजिङ भएको हुनसक्छ', दंगालले भने।

हुम्लामा अत्यधिक चिसोका कारण रेगुलर टेलिफोन सेवा अवरुद्ध रहेको छ। दंगालले गृह मन्त्रालय प्रहरीको सेटबाट सम्पर्कमा रहेको बताए।  

'हामी नदी थुनिएको बारे सेटेलाइट इमेजले केही पत्ता लाग्छ कि भनेर हेर्न इसिमोडलाई भनेका छौँ, थुनिएको भनेको ठाउँ विकट हो, नजिकका मान्छेले नभनुन्जेल हामीलाई गाह्रो भयो', दंगालले भने।

घटनाबारे बुझ्न सेना र प्रहरी सक्रिय रहेको जानकारी उनले दिए।

पानीको सतह दुई मिटर घटेको खबर छ : कालिकोट प्रजिअ

उता, कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले कर्णालीको सहायक नदी लिमीको पानीको सतह दुई मिटर घटेको खबर स्थानीयबाट आएको जानकारी दिए। 

पहिलोपोस्टसित कुरा गर्दै उनले भने, 'हामीले प्रहरीसँग बुझ्दा पूरै क्षेत्र हिउँमय भएकोले पानीको सतह नै नदेखिएको जानकारी दिएका छन्।'
कुन कुन ठाउँ खतरा ?

प्रजिअ श्रेष्ठका अनुसार नदी यदि थुनिएकै हो भने कालिकोटका ११/१२ गाविस, बाजुराका तीन गाविस र सुर्खेतका केही बस्ती प्रभावित हुनेछन्।  

उता, हुम्लाका स्थानीय राजबहादुर लामाले नदी थुनिएको भनिएको ठाउँ पुग्न सदरमुकामबाट डेढ घण्टा लाग्ने जानकारी दिए। 'हामीले पनि सुनेको हो, यहाँबाट देखिँदैन', पहिलोपोस्टसँगको टेलिफोन सम्पर्कमा उनले भने, 'यता हिमपहिरो गएको भन्ने चर्चा छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell