PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

घाउ भयो कसरी भन्ने? छोरीको समस्याले खुलेको स्कुल



स्वेच्छा राउत

घाउ भयो कसरी भन्ने? छोरीको समस्याले खुलेको स्कुल

हातमा घाउ। आँखामा बलिन्द्र धारा आँसु। पढ्न पठाएको भतिजी स्कूलबाट फर्कँदाको अवस्था देखेर असनका दीपक तुलाधरलाई असह्य भयो।

रोइरहेकी छोरीलाई स्कूलबाट बिना औषधी उपचार आएको देखेर तुलाधारले सोधे, 'किन सर मिसलाई नभनेको?'

छोरीले नेवार भाषामा जवाफ फर्काइ,'जितः घाःयात छु धाइ मस्यु, जिं धयागु मिसपिन्सं मथू’ (मलाई नेपालीमा घाउ भयो भन्नै आएन। मैले बोलेको मिसले बुझ्नु भएन)।' 

दीपकलाई नेवार भाषाको वातावरणमा हुर्किएका आफ्नो सन्तानको मायाले पिरोल्यो। भाषाको समस्याले बच्चाले भोगेको पीडाले दुखायो। अनि समुदायको अन्य बालबच्चाले स्कूलमा कसरी पर्वते भाषा बोल्नेहरुसँग कुरा गर्लान्? भन्ने चिन्ताले सतायो। अझ स्कूलमा पढाई कसरी गर्लान् भन्ने कौतूहुलताले डेरा जमायो। 

नेवार भाषा नै सुनेर, सिकेर र बोलेर स्कूल जाने उमेर भएकाहरुलाई अन्य समुदायका विद्यार्थी र शिक्षकहरुसँग घुलमिल हुन साँच्चै गाह्रो थियो। 

...

समय पुरानै भएपनि काठमाडौँको असन, नेवार समुदायको बाहुल्य। थोरै स्कूल। स्कूलमा नेपाली भाषा बोल्ने साथीहरु। र पनि नेवार समुदायका विद्यार्थी धेरै भएकाले दीपकले आफ्नो समयमा पढ्न अप्ठेरो भोग्नु परेन। कारण थियो -मिसहरुले पढाउन र बुझाउन नेवार भाषानै प्रयोग गरे। 

'हामीलाई त्यतिबेला पढाइएको बुझ्न सजिलो भयो। तर नेपाली भाषा राम्ररी बोल्न र बुझ्न चार पाँच कक्षामा पढ्ने भएपछि मात्र सिक्यौँ', दीपक आफ्नो कहानी सुनाउँछन्,'बरु क्षेत्री बाहुन साथीहरु नेवार भाषा बोल्न र बुझ्न सक्ने भए।' 

आफ्नो समयमा स्कूलका शिक्षकहरु बाध्य थिए- नेवार भाषा सिकेर हुर्किएका धेरै विद्यार्थीलाई जसरी हुन्छ बुझाउनु पर्थ्यो। किनकी पढाउने पनि अधिकाशं नेवार समुदायकै थिए।

तर आफ्नो छोराछोरीको समयले दीपकलाई झस्कायो। कक्षाकोठाको स्वरुप र सांस्कृतिक भिन्नताबीच बालबालिकाले भोगेको मानिसिक पीडाले ध्यान खिच्यो। 

हरेक भाषा र समुदायकाहरु एउटै कक्षामा पढ्छन्। नेवार भाषालाई मात्र माध्यम बनाएर पढाउन सकिने वातावरण  छैन। छोरीले घाउ भन्न नजान्नाले निम्तिएको समस्यालाई बुझ्न दीपकलाई समय लाग्यो। तर उनले छोरीको मात्र समस्याको समाधान निकालेन्। नेवार समस्या भोगिरहेका बालबालिका र समुदायकै समस्या समाधानको उपाय निकाले। 

र, दीपकले निधो गरे नेवारमात्र बुझ्ने बच्चाहरुका लागि नेवार माध्यममा पढाउने स्कूल स्थापना गर्ने। आफूले एक कक्षाभन्दा अघि पढेको 'आधा कक्षा' जस्तै प्रि-स्कूल खोल्ने निर्णयमा पुगे। आफ्नो इम्पोर्ट, एक्सपोर्टको व्यवसायलाई थाती राख्दै 'नेवाः स्कूल' खोले। 

उनको मुख्य उद्देश्य थियो नेवार माध्यममा पढाउने। पढाउनुभन्दा अघि बुझाउने। 'शिक्षकले पढाएको विद्यार्थीले ९०% पनि नबुझे पढ्नु पढाउनुको के अर्थ? अनि नेवार भाषा मात्र बुझ्ने हाम्रो छोराछोरीले पर्वते भाषामा पढाएको कसरी बुझुन्?', आफूले १३ वर्ष अघि स्कूल खोल्दाको कहानी सुनाउँछन् दीपक। 

बालबालिकामा भाषाको समस्या कति थियो भन्ने उदाहरण आफ्नै स्कूलको दिन्छन् उनी। २०६० मा स्कूल स्थापना गरेको वर्षनै नेवार समुदायका अभिभावकले छोराछोरी ल्याएर भर्ना गराए। 'समुदायको साथ थियो र छ, त्यसैले आजसम्म स्कूल एउटा पहिचान सहित चलेको' उनको अनुभव छ। 

सुरुमा माध्यम मात्र नेवार भाषा बनाएर पढाउने गरेको सुनाउँछन् दीपक। नेपाली र अङ्ग्रेजी भाषामा भएका विषयहरु नेपालभाषाको प्रयोगमा विद्यार्थीलाई बुझाउँथे। आफ्नै स्कूल नेवार भाषा माध्यम बनाएर पढाउने पहिलो प्रि-स्कूल भएको उनको दावी छ। विद्यार्थी बढ्दै गए। सुरु सुरुमा नेवार समुदायका विद्यार्थी मात्र भर्ना भएपछि स्कूलको नाम 'मोर्डन नेवा' बनाएको बताउँछन् दीपक। 

हाल प्लेग्रुप, नर्सरी, एलकेजी र युकेजी गरेर १०५ विद्यार्थी छन् जसमा २०% नेवार समुदाय बाहिरका विद्यार्थी रहेका छन्। पारिवारीक वातावरण भएकै कारण अन्य समुदायका विद्यार्थी र अभिभावक पनि स्कूलप्रति सकारात्मक रहेको उनी टिप्पणी गर्छन्। 

भन्छन्,'दुई भाषाका विद्यार्थीहरु एक अर्कासँग सिक्छन्। भाषा मात्र होइन संस्कृति र प्रवृत्तिहरु पनि जोडिन्छन्।' अन्य भाषाको विद्यार्थील़ाई भने नेपालभाषा अनिवार्य छैन। उनीहरुका लागि नेपाली र अङ्ग्रेजी विषय कोर्समा राखिएको छ। हाल मोर्डन नेवा स्कूलमा पढाउने माध्यम मात्र होइन पढाउने विषय पनि नेवार छ। 

नेवार भाषा शिक्षक र विद्यालयहरु मिलेर प्रकाशन गरेको किताब स्कूलमा प्रयोग हुन्छ। दीपक आफ्नो भाषा संरक्षण र स्कूल स्थापनाको उद्देश्य बारे प्रष्ट छन्। भन्छन्,'भाषा मात्र बच्दैन। नेपाली नबुझेर पढ्न छोड्ने र पढ्नको लागि नेवार भाषा छोड्ने दुबै बाध्यताको अन्त्य हुन्छ।'

 दरबार मार्गस्थित मोडर्न नेवा स्कूलमा हाल व्यवस्थापक रहेका दीपक तुलाधारले आफ्नो स्कूलमै मात्र भाषा संरक्षण र नेवारी माध्यमको पढाइलाई सिमित राखेका छैनन्। 

उनले 'नेवा: बस्ति नेवा: स्कूल अभियान' सुरु गरे। नेवार समुदाय रहेका गाउँ गाउँमा नेवारी भाषामा पढाई गराउन आह्वान गरे। माध्यम प्रयोग नभए एउटा विषय नेवार भाषाको राख्न लगाए। १२ वर्ष अघि सुरु भएको उनको सो अभियानको पहलमा हालसम्म १०१ नेवार भाषामा पढाइ हुने स्कूल स्थापना भइसकेको उनको दाबी छ। 

भने,'सिक्किममा १२ वटा विद्यालयमा नेवार भाषा माध्यम वा विषयमा पढाई हुन्छ। काठमाडौंमा पनि १५ जति विद्यालयमा नेवार भाषालाई माध्यम वा विषय बनाइएको छ।' सरकारले लागू गरेको स्थानीय भाषाको वैकल्पिक पाठ्यक्रमका कारण सरकारी विद्यालयहरुमा नेवार समुदायलक्षित नेवार विषय अनिवार्य राखिएको तुलाधारको अध्ययनले देखाउँछ। २०७० सालदेखि सरकारी बाहेकका रातो बंगला स्कूल, सिद्धार्थ वनस्थली र मल्री जस्ता स्कूलले पनि नेवार भाषालाई ऐच्छिक विषयमा समावेश गरे। 'तर प्रावधानमा विद्यालयमा नेवार विषय राख्नु भनेको हात बाँधेको मान्छेको अगाडि खाना दिएर यो खा भन्नु जस्तै हो', दीपकको तितो अनुभव बोल्छ,'न पुग्दै पाठ्यक्रम छ न नीति नै।'

शिशु कक्षादेखि पाँच कक्षासम्म नेवार विषय राखिएको छ। कक्षा ६, ७ र ८ मा कुनै भाषाको विषय सरकारी प्रावधानमा छैन। त्यस्तै कक्षा ९ र १० मा भाषालाई ऐच्छिक विषयका रुपमा लिन सकिन्छ। दीपक नीतिप्रतिको असन्तुष्टि यसरी व्यक्त गर्छन्,'भाषा लिनेले ऐच्छिक म्याथ लिन पाउँदैन। म्याथ नलिनेले कलेजमा साइन्स लिन पाउँदैन। त्यसैले पनि भाषा लिने विद्यार्थी कम छन्।' नेवारी भाषाका किताब पर्याप्त प्रकाशन नहुनु पनि अर्को समस्या रहेको दीपक बताउँछन्। 

ललितपुरको जगतसुन्दर विद्यालयमा नेवार भाषालाई माध्यम बनाएर कक्षा नर्सरीदेखि १० सम्म पढाई हुन्छ। विद्यालयकी प्रधानाध्यापक माया मानन्धरका अनुसार विद्यालयमा कक्षा आठसम्म नेवार भाषा मात्र होइन विषय पनि अनिवार्य राखिएको छ। 'हरेक वर्ष एसएलसी दिने आधा भाषाको विद्यार्थी हुन्छन् त्यस्तै आधा अन्य विषय ऐच्छिक लिन्छन्' उनी सुनाउँछिन्। माध्यम नेवार भएकै कारण धेरै विद्यार्थीले पढाई नछोडेको उनको अनुभव छ।

 नेपालमा १२३ भाषा छन्। एउटै स्कूलमा सबै भाषा राख्नु सम्भव छैन। मानन्धरको जस्तै अनुभव छ जगत सुन्दर विद्यालयकी शिक्षिका अरुणा रन्जितकारको। उनी भन्छिन् – 'कुनै भाषिक समुदायको बाहुल्यता रहेको स्थानमा सोही भाषाको पाठ्यक्रम भए सिक्ने सिकाउने प्रक्रिया पक्कै सहज हुन्छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell