PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​हामी अब कुनै पनि किसिमको डोमिनेसन सहन तयार छैनौँ : महन्थ ठाकुर



पहिलोपोस्ट

​हामी अब कुनै पनि किसिमको डोमिनेसन सहन तयार छैनौँ : महन्थ ठाकुर

मधेश राजनीतिको वर्तमान प्रसंगमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भूमिका महत्वपूर्ण देखिएको छ। उहाँ तपसीलका समस्याहरुमा अल्झिनुभएको छैन। उहाँको कुरा स्पष्ट छ – लोकतन्त्र समावेशी हुनु पर्दछ। लोकतन्त्रको स्वभाव र चरित्र नै यही हो। एकथरी मानिस र समुदायबाट सर्वाधिक आलोचित ठाकुर आलोचनाबाट विचलित हुने राजनीतिज्ञ होइन। नेपाली कांग्रेस समावेशी नभएको र पार्टीले तराई–मधेशका समस्याहरुमा स्पष्ट दृष्टिकोण नराखेकोले कांग्रेससँगको जन्मजातको नाता तोड्नुभएका ठाकुर प्रखर बौद्धिक व्यक्तित्वका रुपमा सुपरिचित हुनुहुन्छ। उहाँ राजनीतिलाई गम्भीरतापूर्वक लिनुहुन्छ। अहिलेको समस्याको समाधान के हुनसक्छ? किशोर नेपालको प्रश्नमा उहाँले जवाफ दिनुभयो : मधेश अब कसैको डोमिनेशनमा बस्दैन। विवरण 


किशोर नेपाल :
अहिले एमाले अध्यक्ष केपी ओली र केही नेताको भाषण सुन्दा लाग्छ मधेस र पहाड बीच विभाजन आइसक्यो। भर्खरै लहानमा सिके राउतको जुलुस देखियो । लहानका साथीहरुलाई फोन गरेर सोधेँ। उनीहरुले भने तीन हजारदेखि पाँच हजारको बीचमा भिड थियो। तपाँइको प्रतिक्रिया के हो यसमा?

महन्थ ठाकुर : सामान्यतया युवा वर्गमा आफ्नो इनप्रिन्ट  छाड्ने आकांक्षा हुन्छ। चाहे त्यो पहाडमा होस् या मधेसमा। अनि त्यो इच्छा र आकांक्षा राजनीतिमा पनि हुन्छ, प्राइभेट लाइफमा पनि हुन्छ र सार्वजनिक जीवनमा पनि हुन्छ। प्राइभेट लाइफमा समृद्धिसँगै आकांक्षा सम्बन्धित हुन्छ। गाडी चाहियो, बंगला चाहियो। 

सार्वजनिक जीवनमा केही गर्ने इच्छा हुन्छ। हुनसक्छ त्यो इस्टाब्लिसमेन्टको भिडमा पनि होस् । साधन स्रोत होस्। त्यो सेन्टिमेन्ट दुवैतिर देखिएको छ। मधेस र पहाडको बीचमा फल्ट लाइन त क्रियट भइसकेको छ। 

किशोर नेपाल : फल्ट लाइन क्रियट नै भैसक्यो?
महन्थ ठाकुर : त्यो त तपाँइले नै भन्नुभयो नि देखेँ भनेर...

किशोर नेपाल : मैले त अहिले देखेँ भनेको छु...
महन्थ ठाकुर : फल्टलाइन पहिलेदेखि नै छ। 

किशोर नेपाल : तपाईँ संसदीय प्रक्रियाहरुमा भाग लिँदै आउनु भएको छ। अहिलेसम्म त अहिंसक प्रतिरोध मात्र  छ। नाकाबन्दी भयो। त्यसको विरोध भयो। मुठभेडको अवस्थामा त पुगेको छैन नि। 

महन्थ ठाकुर : के साँच्चिकै त्यो नाकाबन्दी थियो ? डिसरप्सन अफ गुड्स एण्ड सर्भिसेज थियो। राज्यले सहरमा कर्फ्यु लगाइदिन्छ। निषेधित क्षेत्र घोषित गर्दिन्छ। मानिसहरु बाध्य भए नि घरबाट बाहिर जान। सहरबाट बाहिर जान। त्यसका लागि स्पेस चाहियो । उत्तर दक्षिण जहाँ पायो त्यहाँ मानिस भेला भए। राज्यले सडकलाई पनि निषेधित गर्दिएको थियो। यस्तो अवस्थामा नो म्यान्स ल्याण्ड त हो ठाउँ । कतिपय ठाउँमा त नो म्यान्स ल्याण्ड पनि दुवैतिरबाट एट्याक भयो। 

किशोर नेपाल : इण्डियाबाट पनि, यताबाट पनि...?
महन्थ ठाकुर : अँ, भन्नलाई इण्डियाले गर्‍यो। तर बीस-बीस माइल, तीस किलोमिटरसम्म सामान बोकेका ट्रक लाइन लागेका छन्। पर्यटक कहिल्यै रोकिएनन्। भैरहवा र लुम्बिनीमा बराबर आउने जाने भयो।  

बोर्डरमा यतातिर (नेपाल) को मानिस बसिरहेको छ। होटलमा खान दिएन। खानलाई कहाँ जाने? कहिले स्टेट पुलिस र कहिले सीमाका पुलिसले लखेटेर यहाँबाट भागो भागो भन्यो।  कतिपय ठाउँमा यस्तो घटना पनि त भए।

किशोर नेपाल : तर भारतीय पक्षले एक हिसाबले नाकाबन्दी  एसेप्ट गर्‍यो हैन...!
महन्थ ठाकुर : भारतीय पक्षले त एसेप्ट गरेको छैन। सरकारले त कहिल्यै एसेप्ट गरेको छैन। 

किशोर नेपाल : विदेश मन्त्री सुष्मा स्वराजले गरेको छ नि?
महन्थ ठाकुर : त्यो ‘स्लिप अफ टङ्ग’ हो।

किशोर नेपाल : हामीले त्यसो भन्न मिल्छ र?
महन्थ ठाकुर : (हाँस्दै) पहिलोचोटी भएको होइन। 

किशोर नेपाल : मधेस मामिलामा भारतको ‘स्लिप अफ टङ्ग’ भैराख्ने अनि हामीले के सोच्ने?
महन्थ ठाकुर : ब्लकेडको खास कुरा त सीमामा गएर हेर्न सकिन्थ्यो। त्यहाँको अवस्था थियो? नवलपुरमा  लाखौँ मानिस जम्मा भएका थिए आमसभाका लागि । त्यहाँ गोली चल्न सुरु भयो। भागाभाग भयो। त्यहाँको निवासी कहाँ भागोस्। पुरुषहरु त घर छाडेर भागे। महिलाहरु त भाग्नै सकेनन्। बच्चा छाडेर कहाँ भाग्ने... त्यस्तो अवस्थामा घर भित्र घुसेर  कुटेको, गोली हानेको हैन र !

किशोर नेपाल : एमाले अध्यक्ष ओलीले मधेसी मोर्चा र दलका नेताको केही औकात छैन भन्न थाल्नुभयो । हामी नै मधेसका नेताहरु हौँ र हाम्रा मतदाता हुन् भनेको सुनियो। मधेसमा क्यापेन गर्न थालेका छन्। यो लड्न आऊ भनेर तपाईँहरुलाई प्रोभोक गराएको हो? 

महन्थ ठाकुर : प्रोभोक !! हामीलाई के प्रोभोक? उनको बोलीबाटै देखिन्छ कि उनी आफैँ प्रोभोक भएका छन्। सदियौँदेखि हामीलाई जुन उपेक्षा गरिएको हो, अवहेलना गरिएको हो त्यो विषयमा सम्बोधन माग गरेको हो। प्रोभोक हामीलाई के गर्ने? उनको प्रोभोकबाट हामी प्रोभोक हुने हो? 

उनीहरुले आफ्नो हैसियत देखाइरहेछन् नि मधेसमा। किन मधेसमा जाँदैनन्? जाऊ न। हामीले कहाँ रोकेको छ र?

कुनै लिडरको घेराउ गर ऊ  गर भन्ने हाम्रो कुनै निर्देशन छैन। । कांग्रेसीहरु गएका छन्। कहाँ रोकेको छ। आन्दोलनको बेलामा त सबैलाई रोकेको थियो। प्रचण्डलाई पनि रोकेको थियो। प्रधानमन्त्री भएपछि पनि गए। हामीले कालोझण्डा देखाएर स्वागत गर्‍यौ उनको। 

किशोर नेपाल : कालो झण्डा देखाएर स्वागत?
महन्थ ठाकुर : हाँस्दै ...... आफ्नो क्षेत्रमा गएको छ स्वागत त गर्नुपर्योछ। वास्तवमा बोलीको चोट गोलीको चोट भन्दा पनि गहिरो हुन्छ। शब्दहरुले हिंसात्मक गतिविधि भन्दा बढी हानी गर्छ। शब्दको घाउ भरिँदैन ..

किशोर नेपाल : अहिले मधेसी मोर्चाको पोजिसन के त ?
महन्थ ठाकुर : अहिले हाम्रो दुई वटा पोजिसन छ । एउटा संविधान संशोधन। 

अहिलेको संशोधन सम्बन्धि जुन प्रस्ताव छ त्यो ओलीजीको अर्थात् कांग्रेस र एमालेको प्रस्ताव नै हो। यो प्रस्ताव आएपछि म पहिलो व्यक्ति थिएँ जो ओलीलाई भेट्न गएको थिएँ। मैले तपाँइहरुको यो प्रस्ताव अन्तिम हो कि के हो भनेर सोध्दा उहाँले भन्नुभयो – हैन छलफलका लागि राखेको। यही कुरा मोर्चाका नेताहरुलाई बोलाएर भनिदिनुस् अनि दोश्रो वा तेश्रो दिन आफ्नो प्रस्तावको विषयमा कुरा राख्नुभयो। 

त्यसबेला कांग्रेसको सरकार थियो। सुशीलजी प्रधानमन्त्री हुनुहुन्थ्यो त्यसमा उहाँको सही छ। तर उहाँ (सुशील)ले प्रस्तुत गर्नु भएन। प्रस्तुत केपी ओलीले गर्नुभयो। पूर्वतर्फको भाग आठ जिल्ला राख्यो, मधेस भन्यो। तर पश्चिमको हिस्सालाई हटाइयो। एक दिन पहिलेको कुरा हो त्यो। अहिले त्यसैलाई काँटछाँट गरेर राखेको हो।

संशोधन प्रस्ताव देशहित राष्ट्रहितको विपरित हो भन्ने केपी ‌ओलीको भनाई छ  त्यो आफैँमा कन्ट्रयाडिक्टरी देखिन्छ। यहाँ अर्को घोच्ने कुरा के छ भने संविधान ल्याउँदा ३०८ धारा तीन दिनमा पास गर्यो । फास्ट ट्रयाक मेथडमा । छलफल केही गरिएन। यति हुँदाहुँदै पनि संविधानमा पहिलो संशोधन त भयो।

किशोर नेपाल : एउटा संशोधन त भयो..
महन्थ ठाकुर : अब अर्को संशोधन छ। यदि द्वन्द्वलाई केही साम्य गर्न चाहन्छन् भने उहाँहरुले आफ्नो स्ट्याण्डलाई पास गर्नेतर्फ चेन्ज गर्नुपर्छ। हैन संघर्षतिर लैजाने हो, बिना समाधान चुनावतर्फ जानुहुन्छ भने त संघर्षको स्थिति रहिरहनेछ।

यही कुरा स्थानीय तहको पुनर्संरचनामा पनि छ। स्थानीय तह पुनर्संरचनाको विषयमा ‌औपचारिक रुपमा हामीलाई जानकारी छैन।

सञ्चारमाध्यममार्फत् कहिले ७४७ त कहिले ७१९ बनाउने भन्ने सुन्छु। स्थानीय निकायको पुनर्संरचनामा जे आएको छ यसलाई त्यही रुपमा स्वीकार गर्ने पक्षमा हामी छैनौँ। 

किशोर नेपाल : यसको विरोध पनि शुरु भयो नि।
महन्थ ठाकुर : यसको विरोध शुरु भइसकेको छ। विरोध कुनै पार्टीले गराएको हैन। स्थानीय तहमा स्वतः आएको हो। सर्लाहीमा ४-५ हजार जम्मा भएर विरोध गरिसकेका छन्। पुनर्संरचना प्रतिवेदनमा जनसंख्याको आधारलाई पूर्ण अवज्ञा गरिएको छ। अहिलेको अवस्थामा २५ देखि ३३ प्रतिशत मात्रै मधेसको प्रतिनिधित्व हुनसक्छ। 

कुरा स्थानीय निकाय कस्तो बनाउने भन्ने प्रान्तीय सरकारको जिम्माको कुरा हो। एउटा दल यसो भन्छ अर्को हैन त्यसो हो भन्छ। अहिले यस्तो अवस्था छ। यो अवस्थामा विषयहरु सेटल हुनै सकेका छैनन्। यस्तो अवस्थामा स्थानीय निकायको चुनाव हुन्छ भने हाम्रो अवरोध हुन्छ।

किशोर नेपाल : मधेसको आधिकारिक नेता मानेर सरकारले तपाईसँग संवाद जारी राखेको हामीलाई विश्वास छ। अहिले त्यो सम्बन्ध टुट्यो ?
सम्बन्ध त ‍ओलीजीसँग पनि थियो। सुशीलजी (कोइराला) सँग पनि थियो । सुशीलजी त यही कार्यालयमै आउनुभएको थियो। नेताहरुसँग अहिले पनि सम्पर्क छ।

किशोर नेपाल : केपी ‌ओलीसँग पनि छ ?
महन्थ ठाकुर : ओलीसँग अहिले छैन। जबसम्म उहाँ प्रधानमन्त्रीमा हुनुहुन्थ्यो, त्यो बेला थियो।

किशोर नेपाल : प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्ध कस्तो छ त ?
महन्थ ठाकुर : प्रचण्डसँग कहिलेकाहीँ कुरा हुन्छ फोनमा।

किशोर नेपाल : प्रधानमन्त्री कत्तिको डिसेसिभ लाग्छ तपाईँलाई ?
महन्थ ठाकुर : कुराले त धेरै ,कामले हैन (हाँसो)

किशोर नेपाल : कांग्रेस, एमाले, माओवादी मिलेर मधेस समस्यालाई यत्तिकै गिजोलेर लैजाने सोचिरहेछन् कि साँच्चिकै समस्या समाधान गर्न चाहन्छन् । तपाईँलाई के लाग्छ ?
महन्थ ठाकुर : के सोचिराखेका छन् त्यो ब्यक्तिको कुरा भयो।

किशोर नेपाल : तपाईँको विष्लेषण के छ ?
महन्थ ठाकुर : काम हेर्दा पन्छाउँदै लैजाने देखिन्छ।

किशोर नेपाल : संघीयता पनि पन्छाउने  ?
महन्थ ठाकुर : ओलीजीको मुखबाट एकैचोटी केन्द्रीय संसदको चुनाव गरौ भन्ने सुन्छु।  स्थानीय निकायको चुनाव हुन सकेको छैन। प्रदेशसम्बन्धी जुन समस्या र कचिङ्गल छ त्यो पनि समाधान र सम्बोधन हुन सकेको छैन। संविधानको एउटा धारालाई टेक्दै २०७४ मा यदि सोझै  केन्द्रीय संसदको निर्वाचन भयो भने सबै खतम भइहाल्यो नि। 

किशोर नेपाल : स्थानीय निकाय त प्रादेशिक सरकारले नै नियन्त्रण गर्ने हो नि।
महन्थ ठाकुर : हो। तर अहिले त सबै केन्द्रले नै गरिरहेको छ नि। अहिले संशोधन त भएको छैन। उहाँहरुले स्थानीय तहलाई प्रान्तीय अधिकारमा राख्छु, संशोधन हुन्छ भन्ने आश्वासन मात्रै दिनुभएको न हो हामीलाई। तर त्यो भएको छैन। सबै अधिकार केन्द्रकै छ। त्यसकारण यदि स्थानीय र प्रान्तीय छाडेर सिधै संसदको चुनाव भयो भने सबै गयो। संघीयता खत्तम भयो।

किशोर नेपाल : संघीयता खत्तम हुन्छ र ?
महन्थ ठाकुर : खत्तम हुन्छ। सरकार बनिहाल्छ । अहिले पनि सरकारमा जाने न झगडा छ । अरु के नै झगडा देख्नुहुन्छ र! ६ महिनासम्म सरकारमा त उहाँ (केपी ओली) हुनुहुन्थ्यो। देशमा खतरा थिएन। सार्वभौमसत्तामा खतरा थिएन। अहिले त राष्ट्रवादीहरुको र्या लीहरु निस्कियो। उहाँ मात्र राष्ट्रवादी हुने। पञ्चायतकालमै झै पार्टीको कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्ने। 

किशोर नेपाल : तपाईहरु भारतीय दूतावासमा ब्रेकफाष्ट गर्न गएर राजनीतिक मन्त्रणा गरेर आउनुभयो भन्ने उनीहरुको आरोप छ नि त।
महन्थ ठाकुर : त्यो त आज पनि डिनर छ। निमन्त्रणा कार्ड देखाउँ ? 

किशोर नेपाल : त्यो ब्रेकफाष्ट पोलिटिकल थियो कि ब्यक्तिगत ? 
महन्थ ठाकुर : त्यहाँ विकासका कामबारे छलफल शुरु भएको थियो। हामीले पहिलेदेखि हुलाकी सडक भनिरहेका छौँ। सबैभन्दा पुरानो सडक। एउटा मिडहाइवेमा थियो। अर्को पूर्वदेखि पश्चिमसम्म मधेसमा थियो। त्यो जहिले चर्चामा आउने तर काम अगाडि नबढ्ने। त्यस्तै अहिलेको भारतीय प्रोजेक्टहरु छन् त्यो विषयमा हाम्रो कुराकानी भयो। त्यो विषयमा उहाँहरुले ब्रिफ गर्नुभयो। त्यसपछि अहिले नेपालको जुन राजनीतिक परिस्थिति छ त्यस विषयमा पनि कुराकानी भयो। यति हुनु कुन ठुलो कुरा भयो र ।

किशोर नेपाल : अपोजिसनले तपाईहरुमाथि औला ठड्याउने मौका त पायो। 
महन्थ ठाकुर : (हाँसो) दिल्ली होस् या पटना होस् जहाँ पनि डिनर र लञ्च गर्न उनीहरु जान्छन् । तर बदनामी चै हाम्रो। किन....... ?

किशोर नेपाल : मधेसी मोर्चामा पनि विभाजन छ भन्छन्। यहाँभित्रका धेरै विषयमा तपाई पनि असहमत हुनुहुन्छ भन्ने सुनिन्छ । वास्तविकता के हो ?
महन्थ ठाकुर : मोर्चा भनेको कुनै एउटा पार्टी हैन। कम्प्याक्ट फ्रन्ट पनि हैन । सात दल सहभागी लुज नेटवर्क हो। सबै पार्टीको आफ्नो आफ्नो नीति र कार्यक्रम छ। हाम्रो धारणा अलग पनि हुन्छ। तर केही विषयमा हामी एकमत छौ । जस्तै संघ सम्बन्धी धारणामा हामीबीच कुनै मतभेद छैन। तर हामी जहिले पनि मोर्चाले यो मान्दैन, यो गर्दैन भन्छौ। पार्टीगत रुपमा अगाडि छौ, पछाडि छौ भन्ने भावना त हुन्छ नि।

किशोर नेपाल : तपाईहरु भित्र पनि प्रतिष्पर्धा छ?
महन्थ ठाकुर : भइहाल्छ नि । सबैजना जनतामा आफ्नो प्वाइन्ट स्कोर गर्न चाहिहाल्छन् नि। मधेसको कुरा म मात्र गर्न सक्छु भन्ने त हरेक मधेसी पार्टीलाई लाग्छ । एजेन्डा एकै भए नत्र किन अलग-अलग दल खुल्थे र ! हामीभित्र प्रोजेक्सन छ। तर विवाद छैन।

किशोर नेपाल : हाइरार्कीमा पनि कुनै विवाद छैन ?
महन्थ ठाकुर : छैन। जुन दलको कार्यालयमा बैठक हुन्छ उसैले अध्यक्षता गर्छ।

किशोर नेपाल : संविधान संशोधन भएको छैन। तपाईँहरुका अरु माग सम्बोधन हुन बाँकी नै छ। अब कहिलेसम्म कुर्नुहुन्छ त यो सरकारलाई ?
महन्थ ठाकुर : हामी संसदीय व्यवस्थामा छौँ। यसलाई पनि संघर्ष गरेरै ल्याएका हौ। संसदीय व्यवस्था स्लो मोसन सिष्टम हो। बाहिर निर्णय भए पनि अन्तमा पुग्ने ठाउँ त्यही हो । जबसम्म संसदको अस्तित्व रहन्छ तबसम्म त्यहीँबाट पास नभई केही हुन्न। पहिला संविधान सभाबाट बनाइएको राज्य पुनर्संरचना समिति र राज्यशक्तिको बाँडफाँडमा त्यसको प्रतिवेदन अनुसार न केही गर्यो न सरकारले आफैले बनाएको आयोगबाट केही भयो। चार-पाँच जना बसेर संविधान बनाइदिए। आजको समस्या त्यही हो। एकपक्षीय धारणाका आधारमा बनाएर लागू गरे। लागू भएपछि त्यसमा अनेक त्रुटिहरु देखिए। 

किशोर नेपाल : हाम्रो संसदीय प्रणाली किन कार्यमुखी हुन सकेको छैन । यो डोमिनेटेड वाई फ्यु लिडर्स किन छ?
महन्थ ठाकुर : यसलाई अनेक दृष्टिकोणले हेर्न सकिन्छ। हाम्रो लोकतन्त्रनै प्रारम्भिक अवस्थामा छ । पटक-पटक ल्याउनुपर्यो । फेरि पछाडि फर्कनुपर्यो । फेरि संघर्ष गर्नुपर्यो। अहिले पनि पद्दति बस्न सकेको छैन। माओवादीको आन्दोलन पनि पद्धति, शासनप्रणाली विरुद्ध थियो नि। पछि उहाँहरु कम्प्रोमाइज गरेर आए। समाजवादसम्म पुग्नका लागि स्वीकार गरेको भन्छन्। माओवादीभित्र पनि यसलाई नमान्ने समूह छ नै।

किशोर नेपाल : नौ वर्षमा के देखियो भने सांसद रबरस्ट्याम्प बने। उनीहरुको मुख पार्टीको ह्वीपले टाल्यो। पार्टीले ह्वीप लगाएपछि कुनै दलका कुनै सांसद बोल्दैनन्। कोही बोल्दै बोल्दैनन् भने त्यस्तो डम्प संसदको काम के हुन्छ ?
महन्थ ठाकुर : अब ह्वीप संसदीय व्यवस्थाको कार्यविधिभित्रको कुरा हो। सधै ह्विप त हुन्न। तर कुनै महत्वपूर्ण प्रस्ताव रहेछ भने हुन्छ।
पर्याप्त छलफल गरेर निचोडमा पुगेपछि ह्वीप लगाउने एउटा कुरा भयो । छलफलमै नआई पहिल्यै ह्वीप लगाउने प्रावधान छ नि त!
त्यो त गलत भयो। 

किशोर नेपाल : तपाईँहरु र सरकारबीचको सम्झौताको विन्दु के त ?
महन्थ ठाकुर : हामीले त प्रष्ट भनिसकेका छौँ। 

किशोर नेपाल : तपाईँहरुले टाइमलाइन पनि तोक्नु भएको छ ?
महन्थ ठाकुर : त्यो हामीले पटक-पटक भन्दै आएका नै छौँ। जस्तो अहिलेको अवस्थामा स्थानीय तहको पुनर्संरचनाबारेको रिपोर्ट हामीलाई स्वीकार्य छैन। त्यही संरचनाको आधारमा चुनाव हुन्छ भने हाम्रो अवरोध हुन्छ।

संविधान संशोधनको प्रस्ताव पारित नगरी खाली औपचारिकता निभाएर राख्ने काम भयो र परिमार्जनसहित पारित भएन भने त्यो हामीले स्वीकार गर्ने विषय हुन्न। 

किशोर नेपाल : यो भएन भने पुनः संघर्षमै जाने निर्णय गरिसक्नु भयो तपाइँहरुले ?
महन्थ ठाकुर : हामीले त्यस्तो निर्णय गरेका छैनौ। तर हामीलाई त्यतैतिर धकेलिइरहेका छन् । हामी त सम्झौताको मुडमा छौँ। 

किशोर नेपाल : त्यसो भए सम्झौताप्रति त्यत्ति आशावादी किन देखिनुहुन्न त।
महन्थ ठाकुर : कामबाट देखिइरहेको छैन। केही भइरहेको छैन। 

किशोर नेपाल : डेडलक भएन त अब?
महन्थ ठाकुर : डेडलकको नाम के लिनु। अब सबै प्रकृयामा छ। अहिले समाप्त त भएको छैन। 

किशोर नेपाल : एक जना सांसद भएको  दलकालाई मन्त्री बनाइयो। गच्छदार (विजयकुमार) लाई मन्त्री बन्न बोलाइयो। यस्तो तालले संविधान संशोधनमा बहुमत पुग्छ र?
महन्थ ठाकुर : सरकारमा कसलाई ल्याउने, कसलाई नल्याउने त्यो उहाँहरुको कुरा भयो। त्यसमा हाम्रो रुचि छैन। 

किशोर नेपाल : उनीहरुलाई नल्याए पनि बहुमत पुग्छ ?
महन्थ ठाकुर : संसदको संरचना हेर्दा उनीहरु बिना पनि पुग्नसक्छ तर क्लोज हुन्छ। संसदमा प्रकृया शुरु भएको अवस्थामा कोही विदेशमा होलान् , कोही बिरामी पर्लान्, कोही गयल हुनसक्छन्। यसले एक-दुई मत बढी हुन पनि सक्छ, घट्न पनि सक्छ।

किशोर नेपाल : विपक्षमा रहेका पार्टीभित्र विद्रोहको सम्भावना कत्तिको देख्नुहुन्छ ?
महन्थ ठाकुर : संसदमा रिबेलियन ?

किशोर नेपाल : हो,जस्तो एमालेभित्र, कांग्रेसभित्र, माओवादीभित्र मधेसको समस्या समाधान गर्नुपर्छ भन्नेहरु छन् नि । उनीहरुले भोलि तपाईँहरुको आवाजसँग आवाज मिलाउन सक्छन् जस्तो लाग्छ?
महन्थ ठाकुर : (केही बेर सोच्दै) गर्न सक्छ ।

किशोर नेपाल : त्यो मोरल भ्यालु छ भन्ने लाग्छ तपाइलाई ?
महन्थ ठाकुर : मोरलभ्यालु त ब्यक्तिमा भरपर्छ। पार्टीको हकमा पनि त्यही कुरा जान्छ। रिवेल गर्दा पनि त्यो जान्छ। कतातिर जान्छ त्यो? मधेसका सांसद जो छन् मधेसको माग सोच्ने र आफ्नो समेत सोच्ने भए मोरालिटि त्यतातिर गयो। पार्टीको कार्यकर्ता,पार्टीको टिकटमा जितेर आएको भन्ने सोच्ने हो भने मोरल भ्यालु पार्टीतिर जानसक्छ। अब त्यो बेला कुन मोरलको प्रयोग हुने हो!

किशोर नेपाल : अवस्था विद्रोहतिरकै देखिन्छ त्यसो भए?
महन्थ ठाकुर : बोली र ब्यबहार हेर्ने हो भने हामीलाई जवर्जस्ती त्यतैतिर धकेलिरहेको देखिन्छ। एक बैठकमा मैले भनेको थिएँ। मधेसीज् आर ब्याडब्वाइज अफ नेपाल भनेर। कसले राम्रो भन्छन् र हामीलाई! कसैले भन्दैन। 

किशोर नेपाल : मिडियाले त भनिरहेको छ नि
महन्थ ठाकुर : कहाँ भन्नु मिडियाले ।

किशोर नेपाल : सबै मिडिया तपाइँहरुको विरोधी छन् त?  
महन्थ ठाकुर : सबै भनेको हैन। तर मिडियाले मधेसको समस्या देख्न सकेको छैन। 

किशोर नेपाल : उनीहरु(सरकार-प्रतिपक्ष) पनि केही छोड्न नचाहने, तपाईँहरु पनि केही छोड्न नचाहने। भनेपछि दुबैतिर कडा-कडा परे । समस्याको समाधान कसरी निस्कन्छ त?
महन्थ ठाकुर : नेपालको समाजमा सोसल डेमोक्रेसी छैन। अहिले पनि समाजमा हाइर्यातर्की चल्छ। जुन वातावरणबाट आएको हो अनि त्यसैबाट प्रभावित भएर निर्णय हुन्छ ।
हामी नाराको रुपमा विविधता हाम्रो कमजोरी हैन बल हो भन्छौ नि तर काम गर्दा  जो जस्तो वातावरणबाट आएको छ त्यही अनुसार मात्रै काम हुन्छ।  सोसल डेमोक्रेसी देखिएन।

किशोर नेपाल : मधेसमा पहाड मिसाउँदा या पहाडमा मधेस मिसाउँदा के हुन्छ त ? परिचयको त समस्या हैन। 
महन्थ ठाकुर : आइडेन्टिटीको समस्या छैन। राज्यले हामीलाई आइडेन्टिटी देओस् या नदेओस् इतिहासले त हामीलाई आइडेन्टिटी दिइसकेको छ। 

किशोर नेपाल : मधेसलाई पहाड चाहिन्छ, पहाडलाई मधेस चाहिन्छ भनेर भनिन्छ नि। यी दुबैलाई मिसाउँदा हुन्छ के त ?
महन्थ ठाकुर : त्यो भन्ने कुरा मात्रै भयो। राज्य चलाउनेहरुले व्यहारमा उतारेनन्। राज्यले एक वर्ग क्षेत्रलाई एक्ल्याएर राख्यो। बेलाबेलामा विविधता झल्काउने साँस्कृतिक झाँकी देखाइदियो। धोती लगाईदियो। कहिले अरु लगाई दियो र भन्यो यही हो हाम्रो विविधता। तर व्यबहारमा धेरै क्षेत्रमा त्यो विविधतालाई स्वीकार गरिएको छैन। चाहे त्यो सरकारी नियुक्ति होस् चाहे सत्ताको विषय होस्। 

अहिलेको न्यायपरिषद्को नियुक्ति हेर्नुस् न। अहिलेको संविधालेनै समावेशी खोज्छ। तर त्यो त देखिएन । कि भन्नुपर्‍यो राज्यको त्यो नीति छैन भनेर । संविधानमा  लेखिएको छ तर ब्यवहारमा  देखिदैन अझै।

किशोर नेपाल : तपाईँ मोर्चाको निर्णायक नेता हो । सम्झौतामा आउनसक्ने या संघर्षमा जान सक्ने के छ सम्भावना  ? 
महन्थ ठाकुर : हेर्नुस म सकारात्मक सोच भएको ब्यक्ति हुँ। सबैले समस्यालाई समस्या छ है भनेर स्वीकार गरिसकेको अवस्था हो। विभेद ऐतिहासिक रुपमै भएको छ। त्यो पहाडमा पनि भएको छ, मधेसमा पनि भएको छ। जातिको नाममा विभेद भएको छ, क्षेत्रको आधारमा भएको छ। लोकतन्त्र आइसकेपछि विभेदलाई जुन रुपमा हटाउनुपर्ने हो त्यो हुन सकेन। सामाजिक रुपमा हामी साथसाथै बसिरहेका छौ। त्यही कुरा राज्यको विषयमा हेर्यो भने देखिन्न। राजनीतिक रुपमा हेर्यो भने हुन सकेन। सामान्य ब्यक्तिले खोज्ने आत्मसम्मान हो। समानता खोज्ने हो । तर यो हुन सकिरहेको छैन।

किशोर नेपाल : मधेसको राजनीतिलाई सेन्टरमा स्थापित गर्ने प्रोसेस हैन त अहिले ?
महन्थ ठाकुर : हो। सेन्टरमा शेयरको रुपमा। राज्यमा सबैको शेयर हुन्छ नि। राज्य सबैको शेयर हो नी। जमिनमा राष्ट्रियता हेर्ने त्यहाँको मान्छेमा नहेर्ने ? बुझ्नुपर्ने के हो भने हाम्रो सत्तासँग झगडा छैन। संरचनासँग मात्रै हो । सत्ता त के छ र बदलिइरहन्छ।

किशोर नेपाल : भनेपछि संघर्षमा जाने कि वार्तामै बसिरहने भन्ने निर्णय गरिसक्नु भएको रहेनछ । पर्ख र हेर को नीतिमा हुनुहुँदो रैछ। हैन ?
महन्थ ठाकुर : हामीले हाम्रो अडान प्रष्ट राखिसकेका छौ। के गर्ने त्यो जिम्मेवारी लिएकाहरुले जान्ने विषय भयो। हामी अब कुनै पनि किसिमको डोमिनेसन सहन तयार छैनौ। 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell