PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गोली हानेर ​गाडी चालक मारेको आरोपमा पूर्व माओवादी लडाकु प्रेमिका सहित पक्राउ



पहिलोपोस्ट

काठमाडौ‌ं : मंसिर ९ गते विहान ६ वजे रामेछाप मझुवा गाविसको निगालपानीमा जलेको अवस्थामा टाटा सुमो फेला पर्‍यो । त्यहाँ गाडिमात्र थिएन। गाडिभित्र एक युवकको शब समेत थियो। गाडिको पछिल्लो सिटमा रहेको शब चिन्नसक्ने अवस्थामा थिएन। शवसँगै रहेको सिक्री र हातमा रहेको पाथीभरा मन्दिरको चुरा थियो।

गाडिको नम्बर भने चिन्नसक्ने अवस्थाको थियो- मे. १ ज.२१८७ ।

रामेछाप प्रहरीले गाडि नम्बरको आधारमा अनुसन्धान अगाडी बढायो । गाडि धनी खुले झापाका विशाल खड्का। नाम खुले पनि शब उनकै हो भन्ने आधार थिएन। परिवारलाई सम्पर्क गर्दा उनी काठमाडौंबाट गाडि लिएर हिडेको तर कहाँ छन्‍ जानकारी नभएको खुल्यो।

'गाडि पुरै जलेको अवस्थामा थियो। शब चिन्नै नसक्ने अवस्थाको थियो,' अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी कुमोद ढुंगेलले भने' पहिलो चुनौती त शब पहिचान गर्नुनै थियो।'

प्रहरीले परिवारसँग उनको मोवाइल नम्बर माग्यो र त्यसको अन्तिम लोकेशन हेर्यो। काठमाडौं-रसुवा अनी रामेछाप । प्रहरीले तत्काल खड्काको परिवारलाई रामेछाप बोलायो। सिक्री, उनको शारिरिक बनावटको आधारमा परिवारका सदस्यले शव पहिचान गरे। त्यो खड्काकै थियो।

कसैसँग कुनै दुश्मनी ?
थाहा छैन।
कसैले धम्क्याएका थिए?
केही भन्नु भएको छैन।
तनावमा थिए ?
अंह हुनुहुन्थ्यो।

परिवारका सदस्यबाट आएको जानकारीले उनको मृत्युको कारणबारे केही संकेत पाएन प्रहरीले । थाकेर गाडिभित्र सुत्दा दुर्घटना भएर गाडीमा आगो सल्कदा मृत्यु भएको त हैन ?

प्रारम्भमा प्रहरीलाई शंका नलागेको हैन । घटनास्थलमा फेला परेको जनमुक्त्ति सेना नेपालको नामको पर्चा अनी घटनास्थलको प्रकृतीले दुर्घटना मात्रै हो भन्नेमा शंका उब्जाएको थियो। जव पोष्टमार्टममा मृत्युको कारण गोली लागेको खुल्यो घटनाको अनुसन्धानले गम्भिर रुप लियो।
 
अनुसन्धानमा उनी काठमाडौंबाट रसुवाका लागि हिडेको र उनीसँगै अन्य २ युवा रहेको खुले पनि ती युवा को थिए र रसुवा हिडेका उनीहरु कसरी रामेछाप आइपुगे ?

प्रश्नको उत्तर खुल्ने अवस्था नदेखेपछि प्रहरीले अनुसन्धानमा प्रविधिको सहयोग लियो। खड्का रसुवामा पुग्दा उनको लेकेशनसँगै देखिएको अन्य फोन नम्बर संकलन गरी ती नम्बरमध्ये रामेछापमा समेत सक्रिय देखिएको मोवाइल नम्बरको सूची बनाउनेक्रममा ३ वटा मोवाइल नम्बर शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानलाई त्यही तीन वटा नम्बरमा केन्द्रित गरेर अनुसन्धान अगाडि बढायो।

करिव २ महिना लाग्यो अनुसन्धानमा । अन्तत रामेछाप प्रहरीले मंगलबार खड्का हत्याको अभियोगमा पक्राउ परेका २ जनालाई सार्वजनिक गर्यो ।

ती थिए तेह्रथुम पौठाक गाविस डाडाँगाउँका २६ को मन कुमार लिम्बु र उनकी प्रेमिका रसुवा सरनथली गाविसकी १८  वर्षिया विन्दु तामाङ्ग। तेस्रो ब्यक्ती समेत खुले पनि उनी पक्राउ नपरेकाले प्रहरीले उनको विवरण गोप्य राखेको छ। पक्राउ परेका लिम्बु सशस्त्र द्धन्द्धताका माओवादीको लडाकु रहेको शान्ती प्रकृयापछि अयोग्य सूचीमा परेको खुलेको छ। फरार रहेका रामेछापमकै अर्का युवा पनि पूर्व लडाकु हुन्।

डिएसपी ढुंगेलका अनुसार अनुसन्धानमा लिम्बु हत्यामा आफै संलग्न रहेको खुलेको छ। तामाङ्ग घटनाबारे जानकार ।

'अनुसन्धानमा लिम्बु र अर्का एक युवा मिलेर खड्काको हत्या गरेको खुलेको छ,' उनले पहिलोपोस्टसँग भने' विन्दु समेत घटनामा संलग्न देखिएकाले अनुसन्धानका लागी पक्राउ गरेका हौ।'
 

एसएमएसले पूर्‍यायो अभियुक्तसम्म

 

पहिलो सन्देश : 'आफ्नो घर जा आफ्नो बाटो गर ।'
दोस्रो सन्देश : म दशाले घेरिए।

यी सन्देश प्रहरीले सर्ट लिष्ट गरेको २ वटा मोवाइलबाट सम्प्रेषण भएका थिए। पहिलो सन्देश थियो तामाङ्को । अनी दोस्रो सन्देश लिम्बुको। खड्का हत्याका अभियुक्तसम्म पुग्न यी दुई सन्देशले प्रहरीलाई खुब सघायो।

यही सन्देशलाई पच्छ्याउँदै प्रहरी चुलाचुली नजिकै डेरामा बस्दै गरेका लिम्बु र तामाङ्सम्म पुग्न सफल भएको थियो। यी दुबैको पक्राउपछि प्रहरी खड्का हत्याको प्रारम्भिक अनुसन्धान पुरा गर्न सफल भयो।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार लिम्बु र तामाङ्विच फेसबुकमा चिनजान भए पनि भेट भएको थिएन। घटनाको एक दिन अगाडि लिम्बु अर्का एक साथीसँग रसुवामा रहेकी तामाङ् भेट्न खड्काको गाडि भाडामा लिएर काठमाडौंबाट रसुवा हिडेका थिए।

उनीहरु रसुवा पुगेर विध्यालय पढ्दै गरेकी तामाङ्लाई भेटे । एक रात उतै रसुवामा विताएर अर्की एक युवतीसहित उनीहरु हेटौंडा आए। दोस्री युवती हेटौडामा उत्रिइन्,तीन जना भने त्यताबाट सिन्धुली हिँडे। प्रहरीका अनुसार उनीहरु विहान ४ वजे खाल्डेमा पुगेर चिया खाए र सिक्टाको पुलहुँदै निगालपानीमा पुगेर गाडि रोके।

लिम्बु र अर्का युवाविच केही कुराकानी भयो। लिम्बुले युवतीलाई थकाई लाग्यो होला गाडिको पछाडिको सिटमा गएर सुत भने। तर उनले मानिनन्। युवतीले प्रहरीमा दिएको बयान अनुसार उनले सुत्न नमानेपछि लिम्बुले उनलाई केही माथी जाउँ न त भन्दै निगालपानीबाट ५ मिनेट जति हिडाएर केही माथी पुर्‍याएर त्यही बस भन्दै आफु फर्किए।

लिम्बु फर्किएको केही समयमा उनले तीन पटक केही पड्किएको आवाज सुनिन्। तर आवाज के को ठम्याउन सकिनन्। करिव ४५ मिनेट पछि लिम्बु र अर्का युवा फर्किए। उनीहरु फरार रहेका युवाको घरमा गएर सुते। भोलिपल्ट सिन्धुली-काठमाडौं चल्ने बसमा चढेर काठमाडौं आए । लिम्बु र युवती जडिबुटीमा झरे । फरार रहेका युवाले २ हजार ४ सय खर्च दिएपछि उनीहरु झापा फर्किएर चुलाचुलीमा डेरा सारेका थिए।

लिम्बुको बयानअनुसार उनी फर्किएपछि फरार रहेका युवाले चालक खड्कालाई गोली हानेर हत्या गरेका थिए। हत्यालाई दुर्घटना बनाउन उनीहरुले खड्काको शबलाई गाडिको पछाडिको सिटमा लगेर राखी तन्नाले बेरेर आगो लगाई दिएका थिए।

आखिर किन मारिए खड्का !

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अहिलेसम्मको अनुसन्धानमा घटनामा संलग्न देखिएका ३ जनाको मृतक खड्कासँग कुनै रिसइवी देखिएको छैन। उनीहरु पूर्व परिचित समेत हैनन्।

पक्राउ परेकी युवती र अर्का युवाबाट हत्याको कारण समेत खुल्न सकेको छैन। किन मारिए त खड्का ?

डिएसपी ढुंगेल भन्निछन् ' फरार रहेका व्यक्त्तीको पक्राउपछि थप केही खुल्न सक्छ अहिलेसम्म प्रशासनलाई दुख दिने लहड मात्रै देखिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell