PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

३३ किलो सुनकाण्ड : अध्यागमन विभागका महानिर्देशक गृह मन्त्रालय तानिए



सविन ढकाल

३३ किलो सुनकाण्ड : अध्यागमन विभागका महानिर्देशक गृह मन्त्रालय तानिए

काठमाडौँ : अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने गृह मन्त्रालयमा तानिएका छन्। 

त्रिभुवन विमानस्थलबाट गत पुस २१ गते ३३ केजी सुन बाहिरिएपछि उनलाई अनुसन्धानको लागि गृहले आजदेखि मन्त्रालयमा नै हाजिर हुने गरी बोलाएको हो। 

उनको ठाउँमा गृह मन्त्रालयले गंगाराम गेलाललाई महानिर्देशक बनाएर विभाग पठाएको छ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने आफू केही दिनदेखि विदामा बसेकाले यस बारे आफूलाई जानकारी नभएको बताए। 

गृह मन्त्रालयका सहसचिव राजकुमार श्रेष्ठले भने नियमित प्रक्रिया अन्तर्गत सरुवा भएको दावी गरे। स्रोतका अनुसार सुन काण्डमा अनुसन्धानको सिलसिलामा उनलाई गृह तानिएको हो। उनी एक वर्षभन्दा बढी समयदेखि अध्यागमन विभागमा महानिर्देशक थिए। 

यसअघि अनुसन्धानका लागि सोमबार प्रहरी प्रधान कार्यालयले अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीललाई हेडक्वार्टर तानेको थियो।

खत्री एक वर्षदेखि विमानस्थलमा कार्यरत थिए। विमानस्थलमा ठूलो मात्रामा अवैध सुन बाहिरिएपछि अनुसन्धानको लागि विमानस्थल भन्सार कार्यालयका २९ जना कर्मचारीलाई यसअघि नै जिम्मेवारीमुक्त गरेर अनुसन्धान गरिरहेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ किलो सुन तस्करीमा अनुसन्धान गरिरहेको छ। ब्युरोले तस्करीमा स‌लग्न रहेको अभियोगमा दुई जना सरकारी कर्मचारीसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell