PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तिवारी हत्याकाण्ड : छानबिन गर्न १५ दिन तोकियो, एक महिना पुगे पनि हत्यारा भेटिएनन्



सविन ढकाल

तिवारी हत्याकाण्ड : छानबिन गर्न १५ दिन तोकियो, एक महिना पुगे पनि हत्यारा भेटिएनन्

काठमाडौं : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या छानबिनका लागि दिइएको १५ दिन गुज्रेर अर्को १५ दिन थप गर्दा पनि हत्याराको पहिचान हुन सकेको छैन।
 
तिवारीको हत्या घटनाबारे गृह मन्त्रालयले गत पुस ५ गते छानबिन समिति बनाएको थियो। नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित छानबिन समितिले १५ दिनमा अनुसन्धान पूरा नगरेपछि १५ दिन थप गरिएको छ। घटनाको छानबिन गर्दै जाँदा थप १५ दिन आवश्यक परेकाले समय थपिएको छानबिन समितका सदस्य एसएसपी मनोज न्यौपानेले बताए। उनी भन्छन्, 'हामी हत्याराको नजिक पुग्ने गरी अनुसन्धान गरिरहेका छौं। केही समयमै सत्यतथ्य बाहिर आउँछ।' अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै न्यौपानेले थप कुरा बताउन चाहेनन्।
 
तिवारी हत्यामा रुपन्देहीकै मनोज पुन संलग्न भएको भन्दै प्रहरी उनकै खोजीमा जुटिरहेको छ। गत फागुनमा तिवारीमाथि भएको गोली प्रहारको घटनामा पुन समूह संलग्न रहेको, पुनले नै तिवारीलाई मार्ने धम्की दिँदै आएको र फोन गरेर आफूले हत्या गरेको जिम्मेवारी लिएकाले अनुसन्धान त्यही कोणबाट अगाडि बढाएको रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए। प्रहरीले पुनसँग आवद्ध केहीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
 
प्रहरीले अनुसन्धान गरिरहे पनि पुनको फोन कलबाहेक अन्य सबुत हात लाग्न सकेको छैन। हत्या भएको दिन नै तिवारीलाई गोली हान्न आएका दुई जनाले रातो पल्सर मोटरसाइकल प्रयोग गरेको सूचनाको आधारमा प्रहरीले बा ५१ प ८०७३ नम्बरको १५० सिसीको पल्सर फेला पारेको थियो। घटनास्थलभन्दा दक्षिणतर्फ करिब तीन किलोमिटरको दुरीमा पर्ने मणिग्राम कान्छी बजारबाट नम्बरको आधारमा मोटरसाइकल धनीको खोजी गर्दा बाइक चोरीको भएको र नम्बरप्लेट नक्कली राखेको खुलेको थियो। त्यसका धनी ओखलढुंगाका भए पनि उनले लिएको नम्बर निलो रङको छ।
 
डिएसपी पाण्ड भने घटना भारतीय सीमा क्षेत्र नजिकै भएकाले अपराधीलाई उम्कन सजिलो भएकाले छानबिनका लागि केही समय लाग्ने बताउँछन्। 'घटना हाई प्रोफाइलको भएकाले समय लागेको हो,' उनले भने, 'केही महिनाअघि तिवारीको ७ लाख लुट्ने समूहको पनि पहिचान गरी हामी अनुसन्धान गरिरहेका छौं।'
 
तिवारी हत्या अनुसन्धानका लागि नेपाल प्रहरीले भारतीय प्रहरीको समेत सहायता लिइरहेको स्रोतले बतायो।
 
गत पुस ४ गते रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा तिवारीमाथि गोली हानी हानिएको थियो। घाइते भएका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell