PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​डोटी बाढीपीडितको गुनासो : प्रधानमन्त्रीले खप्तड देखे पीडितको बस्ती देखेनन्



पहिलोपोस्ट

​डोटी बाढीपीडितको गुनासो : प्रधानमन्त्रीले खप्तड देखे पीडितको बस्ती देखेनन्

  • खेम बम 

डोटी : गत वर्ष आएको बाढीका कारण ठूलो क्षति बेहोरेको दौड तोलेनीले अझै राहत पाउन सकेको छैन । २०७२ साल साउन २५ गते आएको बाढीका कारण क्षतविक्षत भएका दौड र तोलेनी गाविसका जनता अझै राहत पाउने आशामा दिनरात कुरिरहेका छन्। 

एक्कासि आएको अविरल बाढीले एकै घरका पाँच जनाको ज्यान लियो । गरिखाने जमिन जग्गा बगाएर लग्यो, आफ्नै परिवारका पाँचजना सदस्य गुमाएँ, त्यो पीडाले अझै मन झस्काउँछ सोच्नसमेत सकिँदैन, दौडका बाढीपीडित डम्बर बिष्टले भने । ती दिनहरु कहिल्यै र कसैलाई नआओस् उनी सम्झन्छन्। जीवन निर्वाह गर्न समेत गाह्रो बनायो । सामान्य क्रियाकाज खर्च पाएको थिएँ, त्यसपछि कोही फर्केर आएनन, बिष्टले राससलाई बताए। 
राति गोठमा सुतेको अवस्थामा एक्कासि आकाश मडारिएर आयो, झसङ्ग ब्यँुझँे माथिबाट ढुङ्गामुढा बगेर आए कसैलाई ब्युँझाउन नपाई आफू भागेर बाँच्न सफल भएँ, उनले भने ‘एकै रातमा पाँचजनाको एकै चिहान भयो । आफ्नो पूरै खेत बगायो, सुकुम्वासी बनाया’  उनले भने ।
 
बिष्टको मात्रै होइन, बाढीकै कारण एकजना अर्का स्थानीयवासीको मृत्यु भयो भने १५ जना घाइते भएका थिए। त्यँहाका बासिन्दाका ६५ घर भत्किएका थिए भने अझै चारसय आठवटा घर जोखिममा रहेका छन्। 

गाउँलेका ७१ गोठ भत्किए भने एकसय ७६ गोठ अझै जोखिममा रहेका छन्। उक्त बाढीले ५४ वटा पानी घट्ट, एकसय तीन गाईभैँसी, ६ वटा झोलुङ्गे पुल, आठवटा विद्यालय भवन र ५३ हजार रोपनी खेत सहितको जमिन बगाएको दौड तोलेनी गाविसमा बाढी र पहिरोले पारेको प्रभाव तथा आवश्यकता पहिचान प्रतिवेदनमा उल्लेख गरिएको छ। 

डोटी जिल्लास्थित जिल्ला दैवी प्रकोप उद्धार समितिमा पेस गरिएको प्रतिवेदन २०७२ साल मंसिर ९ गते प्रधानमन्त्री कार्यालयमा बुझाउँदासमेत स्थानीयवासीले कुनै राहत नपाएको दौड तोलेनी बाढीपीडित संघर्ष समिति संयोजक टेकबहादुर सिंहले बताए। 

हामीले बारम्बार अनुरोध गर्दासमेत सरकारले कुनै पहल गरेन, सिंहको भनाइ छ । 

दौडकै स्थानीय एवम् बुद्धिजीवी तेजबहादुर डुम्रेलले हालका प्रधानमन्त्रीले दौड तोलेनी नजिकै रहेको खप्तड देख्नुभयो तर बाढीग्रस्त दौड तोलेनी नदेखेकोमा गुनासो गरे । 

साथै, उनले हालसम्म बस्ती नसारिएको र पुनर्वासको व्यवस्था नभएको प्रति दुःख व्यक्त गरे । बाढीले बगाएका संरचनासमेत नबन्दा स्थानीयवासी झन् समस्यामा परेका छन् भने ६ वटा बगाएका लघुजलविद्युत् आयोजना नबन्दा अन्धकारमा बस्नु परेको दौड तोलेनीका स्थानीयवासीको भनाइ छ। 

एक वर्ष बितिसक्दासमेत सरकारले आफ्ना समस्यालाई सम्बोधन नगरेकोमा समेत त्यहाँका स्थानीयवासी आक्रोशित बनेका छन्। भर्खरै भएको हिमपातले समेत त्यहाँका जनता त्रसित भएको स्थानीयवासी एवम् बाढीपीडित जयबहादुर बिष्टले बताए। एकपटक चिराचिरा भएको जमिन माथि हिमपात हुँदा दबिएर भासिने डरले त्यँहाका जनता आक्रान्त बनेका छन्। 

डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माका अनुसार बाढीपीडितलाई जिल्लाबाट उपलब्ध गराउने राहत प्रदान गरिएको छ। त्यतिले मात्रै त्यहाँका जनतालाई राहत नहुने समेत प्रजिअ शर्माले बताए। 

हालै मात्र पुनः जिविस डोटीले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री कार्यालयलाई सिफारिससहित अनुरोध गरेको निमित्त स्थानीय विकास अधिकारी टेकबहादुर खड्काले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell