PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टिकटमा कविता : ५ कवि, २५ सिर्जना



पहिलोपोस्ट

टिकटमा कविता : ५ कवि, २५ सिर्जना

पर्वत (कुश्मा) : माघेसंक्रान्तिको सन्दर्भमा पर्वत कुश्माको माहोल कवितामय बन्यो। उमेरले समकालीन झैं देखिने पाँच कविहरु गणेशकुमार जिसी, ओमप्रसाद घायल, संगीतश्रोता, भरत विवश पौडेल र आरके अदीप्त गिरीलाई प्रगतिशील लेखक संघ पर्वतले टिकटमा कविता वाचनका लागि मञ्चमा उभ्याएको थियो।
 
करिब दुई सय दर्शकबीच कविहरुले आ–आफ्ना पाँचपाँच कविता वाचन गरे। एउटै मञ्चबाट फरकफरक विषयका कविताहरु सुन्न पाउँदा दर्शकहरु मक्ख थिए। पाँच सय र दुई सयको टिकट काटेर कविता सुन्न पुगेका दर्शकहरुले भरपूर कविताको रसपान गरे।
 
पहिलो कविका रुपमा मञ्च उक्लिए आरके अदिप्त गिरी। ‘आमाको दुःख’ शीर्षक कविताबाट उनले आफ्नो वाचनलाई अगाडि बढाए। कविताले ‘आमा’ शब्दको महिमा र गरिमालाई बोलेको थियो। त्यसपछि ‘नभेटिने क्षितिज’ कविता पस्के। ‘स्वास्नी मान्छेको उडान’, ‘निरमाया र उसको सहर’ र ‘पराजित यात्रा’ शीर्षकका कविता सुन्दा दर्शकहरु मन्त्रमुग्ध बनेका थिए।

अदीप्तपछिको मञ्च स्रष्टा भरत विवश पौडेलले लिए। उनले ‘जागिरको समीकरण’ शीर्षकको कविताबाट वाचन अगाडि बढाए। यो मेलोमा उनले क्रमशः ‘घण्टाघर र रानीपोखरी’, ‘मेरो देश’, ‘अझै एउटा कविता लेख्छु’ र ‘परिर्वतन’ कविता वाचन गरे। राष्ट्रियता, सामाजिक मूल्य र वर्तमानका विविध तिक्तताहरु उनका कविताले बोलेका थिए। संगीतश्रोताले भने नारीको सामाजिक उपस्थिति र अर्थ बोल्ने ‘महिलाहरु कहाँ छन्?’ शीर्षकको कविताबाट आफ्नो वाचन जोडे।
 
उनको दोस्रो कविता थियो ‘हेडसर र वसन्ती संवाद’। त्यसपछि उनले ‘झोला’, ‘मोदनाथको ठेगना खोज्दै हिँडेका पृथ्वीनारायणका प्रेतहरु’ र ‘सुइ’ कविता वाचे। उनका कवितामा मानवीय मूल्य, दयनीय वर्तमान परिवेश र सामाजिक विभीषिका लगायतका भाव व्यक्त भएका थिए।
 
त्यस लगत्तैको पालोमा थिए, कवि ओमप्रसाद घायल। उनले निम्न वर्गका बोली, सामाजिक अन्याय र असमानता लगायतका भावका ‘आमा’, ‘नयाँ नेपाल’, ‘भगवानको अवतार’, ‘सम्पादकलाई ज्ञापन पत्र’ र ‘यात्रा’ कविता प्रस्तुत गरे।
 
घायलपछि अन्तिममा कवि गणेशकुमार जिसी मञ्चमा झुल्किए। उनले ‘इच्छा पत्र’, ‘शासकको नाममा’, 'अग्नियात्रा' लगायतका कविता सुनाए। उनका कवितामा समाजको उत्थान–पतन, आशा–निराशा, मानवीय आकांक्षा, राजनीतिक आडम्वर र छलले निम्त्याएको समयका भावहरु व्यक्त भएका थिए।
 
पछिल्ला दिनहरुमा साहित्यक कार्यक्रमहरुको खडेरी परिरहेको बेला यस कार्यक्रमले केही मात्रमा भए पनि क्रियाशीलता बढाउनेमा आफू आशावादी भएको कार्यक्रमका आयोजक अर्जुन पौडेल निर्जनले बताए।
 
कार्यक्रममा पाँच कविहरुलाई पोखरा, बाग्लुङ, म्याग्दीबाट आएका स्रष्टाहरुले शुभेच्छाका शब्दहरु कार्यक्रमको बीचबीचमा बोलेका थिए। टिकटमा कविता वाचन गरिएको यस कार्यक्रम पर्वतमा नै पहिलो भएको आयोजकको दाबी छ। कार्यक्रमको अन्तिममा कविहरुलाई आयोजकले टिकटबाट संकलित रकमको खर्च कटाएर पारिश्रमिक समेत उपलब्ध गराइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell