PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

५० लाख बजेट थपिएपछि थारूहट रङ्गशालालाई अझै व्यवस्थित गरिने



रासस

गाईघाट (उदयपुर) : उदयपुरको गाईघाटस्थित पुरानो हवाई मैदानमा निर्माण गरिएको पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशालाको खेल मैदानलाई त्रियुगा नगरपालिका गाईघाटले पुनः रङ्गशाला व्यवस्थापनका लागि रु ५० लाखको बजेट विनियोजन गरेपछि अब थारूहट रङ्गशाला अझै व्यवस्थित बन्ने भएको छ।
 
यसअघि नै राष्ट्रिय खेलकुद परिषद्सहित त्रियुगा नगरपालिका र जिविससहितले झन्डै रु ७० लाखभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशालालाई अझ व्यवस्थित गर्न यस पटकको बजेटमा त्रियुगा नगरपालिकाले रु ५० लाख विनियोजन गरेपछि रङ्गशाला अझ व्यवस्थित गरिन लागेको रङ्गशाला निर्माण समितिका संयोजक किरण राईले बताए।
 
तीन बिघा १५ कट्ठा जग्गाको क्षेत्रफलमा रहेको उदयपुर गाईघाटको थारूहट रङ्गशालामा अहिले रङ्गशालाको घेराबेरा तथा तारजाली लगाउने कार्य सम्पन्न भइसकेको छ।
 
यस्तै रङ्गशालाको पूर्व र पश्चिमपट्टि दुई–दुई प्याराफिटको समेत निर्माण भइसकेको छ। यसअघि नै रङ्गशालाको ग्राउन्डमा माटो फिलिङ गर्ने कार्यसमेत सम्पन्न गरेर रङ्गशाला अहिले प्रयोगमा आइसकेको अवस्था रहेको छ।
 
नगरपालिकाको बजेट र अन्य जिविस लगायतका निकायबाट समेत बजेटको व्यवस्थापन गरेर झन्डै करोडौँको बजेटमा रङ्गशालालाई अझ व्यवस्थित गर्ने लक्ष्यका साथ काम भइरहेको रङ्गशाला निर्माण समितिका पदाधिकारी तथा जिल्ला खेलकुद विकास समितिका उदयपुरका अध्यक्ष पुष्प विकले बताए। अबको बजेटले रङ्गशालामा दुबो रोप्ने र रङ्गशालाबाहिर सवारी पार्किङस्थल र केही प्याराफिटसमेत निर्माण गरिने यसका पदाधिकारीले बताएका छन्।
 
थारूहट रङ्गशाला निर्माणसँगै अब उदयपुरमा जुनसुकै राष्ट्रियस्तरका खेलको आयोजना गरिन सकिने भएको कुरा रङ्गशाला निर्माण समितिका संयोजक राईले बताए। रङ्गशाला निर्माण भएपछि पहिलोपटक यसपटक उदयपुरमा राष्ट्रिय आर्चरी खेल सम्पन्न भएको थियो भने उक्त रङ्गशालामा आगामी माघ २७ गतेदेखि चौथो उदयपुर गोल्डकपसमेत आयोजना हुने भएको छ। रङ्गशाला निर्माण भएपछि यो रङ्गशालामा एकैपटक ५० हजारसम्म दर्शक बसेर खेलकुद हेर्न सकिने क्षमता रहेको रङ्गशाला निर्माणका पदाधिकारी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell