PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जब 'यम' सँग 'बुद्ध' हारे



स्वेच्छा राउत

जब 'यम' सँग 'बुद्ध' हारे


काठमाडौं: हिंसाको प्रतिक 'यम' र अहिंसाको प्रतिक 'बुद्ध'।

र्‍याप संसारमा प्रवेश गरे पनि उनलाई स्टेजमा अनिल अधिकारीलाई लैजान मूड चलेन। उनी अलग पहिचानको खोजीमा थिए।गौतम बुद्धप्रति विदेशी साथीहरुको सम्मान र चासो देखेर उनमा मोह बढ्दो थियो। बुद्ध शब्द आफैमा बलियो हुने नै भयो तर उनको हकमा अपुरो। अहिंसाको प्रतिक बुद्धसँगै हिंसात्मक पक्ष जोड्ने रहर जाग्यो। हिंसाको प्रतिक 'यम' र अहिंसाको प्रतिक 'बुद्ध'लाई मिलाएर आफ्नो नामको आफै न्वारन गरे यमबुद्ध।

शनिवार। धार्मिक मान्यता अनुसार पिरिरहने ग्रह शनि बलियो हुने दिन। त्यही दिन अनिलभित्रको यमले जित्यो, बुद्ध निरिह रह्यो। यमले उनलाई परिवार, हजारौं शुभचिन्तक र फ्यानबाट पर लग्यो।

सीमित तर जब्बर फ्यान भए पनि नेपाली संगीत बजारमा र्‍यापको पहिचान हुल्याहाहरुको गीतका रुपमै थियो। अन्य गायकले यसलाई मूलधारको संगीतका रुपमा स्थापित गर्ने प्रयास नगरेका हैनन्। तर सोचेजत्ति प्रभावकारी हुन सकेन। यही बीच उदाएका थिए यमबुद्ध शक्तिशाली शब्दसहितको र्‍याप बोकेर।
 
****

१७ वर्ष अघिबाट कविता लेख्दै आएका उनको रचनामा महिला बेचबिखन, लागूऔषधको प्रयोग, गरिबी जस्ता समस्याको विपक्षका संदेश छन्। उनको शब्दको शक्ति आमा, साथी बोलको र्‍यापमा देखिएकै हो। उनको यही शब्दशक्तिका कारण उनको शब्दलाई स्रोताहरुले सहजै स्वीकार गरे।

लागूऔषध प्रयोगबारे उनको 'साथी' बोलको गीतले उनलाई धेरैमाझ परिचित गरायो। ड्रग्स प्रयोग गर्ने दुई साथीको कथा बताएका छन्, जसमा एक साथीको ड्रग्स ‌ओभरडोजकै कारण मृत्यु हुन्छ।

यमबुद्ध नचिने पनि धेरैले साथी गीत सुने, गुनगुनाए :

उ मेरो बाल्यकाल देखिको मिल्ने साथी
हाम्रो मित्रता अरु सम्बन्धभन्दा माथि
हामी शहर घुम्न जान्थ्यौ राती-राती भागीभागी
घरमा आमा बुबालाई ढाँटी
मर्न र मार्न तयार एक अर्काको लागी

उनले यो गीत बारे भनेका थिए  'मैले ड्रग्स बारे आफ्नो अनुभव व्यक्त गरेका हुँ। भोगेको, देखेको, बुझेको।'

उनले चेतना फैलाउने काम गीत संगीतमा मात्र सीमित राखेनन्। परिवर्तनका लागि बालबालिकाको हितमा काम समेत गरे। मार्केटिङ्, स्टेज कार्यक्रमबाट कमाएको पैसा र संस्थाको नाममा आउने रकम असहाय बालबालिकाका लागि खर्च गरे।

यमबुद्धले नेपाली र्‍यापको क्षेत्रमा नयाँ आयाम ल्याए। उनले र्‍यापले पनि अन्य भाकाका गीतजस्तै भावना बोक्छन्, यो गीत पनि बुझ्न र गाउन सहज हुन्छ भन्ने तथ्य स्थापित गराए।

आफै लेख्ने र आफै गाउने कलाले उनको प्रस्तुति अब्बल र आम स्रोताका लागि बुझ्न सहज भयो। नेपहपले गीतको नाममा अनावश्यक र छाडा शब्द प्रयोग गरेको आरोप लाग्दा अनिलले आफ्नो गीतलाई त्यस्ता आरोपबाट मुक्त बनाए। सरल, सहज अनि यथार्थपरक शब्दचयनका कारण पनि उनको गीतहरुले थोरै समयमा धेरै हिट्स बटुलिरह्यो।

उनी र्‍यापको यात्रामा एक्लै दगुरेनन्। र्‍याप ब्याटलमार्फत् आफूजस्ता धेरै र्‍याप प्रेमीलाई प्रस्तुतिको प्ल्याटफर्म पनि बनाए। र्‍याप सुन्ने नसुन्ने धेरैको मनमा ठाउँ बनाए।
 
****

'दाइ, म मेरो जिन्दगीको कथा लेखेर तपाईलाई दिन्छु, मिलेर फिल्म बनाउनु पर्छ ल! सायद मेरो कथाले धेरैलाई प्रेरणा मिल्न सक्छ कि। गाउँदेखि र्‍याप वर्ल्डसम्मको मेरो यात्रा कुनै फिल्म भन्दा कम छैन दाइ।' फिल्म निर्देशक निश्चल बस्नेतका अनुसार यमबुद्धले राखेको प्रस्ताव हो यो।
यमबुद्धलाई लाग्थ्यो उनको जीवनकथा अरु कसैको लागि प्रेरणा बन्न सक्छ ।

सन् २०१०मा 'र बार्ज'मा प्रस्तुति दिँदै सुरु गरेको उनको र्‍याप यात्रा २०१७ मा आएर दुखद रुपमा टुङ्गियो।

शान्त शुन्दर संसारमा त्यो बादलपारिको
जित्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो
त्यसैले लड्दै छु संघर्ष गर्दैछु।
तँ कस्तो छस् साथी म सञ्चै छु ।
तेरो याद आयो अनि सम्झेर बस्दैछु
हामी फेरि भेट्छौ भनी दिन गन्दैछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell