PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अब गोल्डकप फुटबलको पनि वर्गिकरण गर्ने की ?



गोविन्दराज नेपाल

अब गोल्डकप फुटबलको पनि वर्गिकरण गर्ने की ?

काठमाडौं : नेपालमा नियमित रुपमा फुटबलको लिग हुँदैन, पछिल्लो दुई वर्ष यसको उदाहरण बनेको छ। तर देशकै सबैभन्दा चर्चित खेल फुटबल कुनै न कुनै रुपमा व्यस्त रहिरहन्छ, साथै चर्चा र विवादमा पनि। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा। लिग नभएपनि खेलाडीहरु व्यस्त छन्। तर कसरी? भाग्यवस खेल्न पाउने अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु आमन्त्रण गोल्डकपका कारण मात्र।

नेपालमा जाडो सुरु भएसँगै गोल्डकप फुटबलको मौसम सुरु हुन्छ। यो वर्षपनि आधा दर्जन गोल्डकप भइसकेको छ। अर्को चर्चित तीन गोल्डकप प्रतियोगिताको मिती तोकिइसकेको छ भने भने सबैभन्दा पुरानोमध्ये एक बुढासुब्बाको मिती तय भएको छैन।

समग्रमा दर्जन भन्दा बढी गोल्डकप टुर्नामेन्ट हुन्छ। यसको फाइदा के त?

फुटबल विश्लेषक सन्जिव मिश्र यसले नेपालमा फुटबल भइरहनको लागि वातावरण सिर्जना गरेको बताउँछन्। '२/३ वर्षयता ए डिभिजन लिग हुन सकेको छैन। राष्ट्रिय लिग पनि भएको छैन। कात्तिकदेखि फागुन/चैतसम्म करिब ६ महिना गोल्डकपको सिजन हुन्छ। जसले गर्दा खेलाडीलाई खेल्ने वातावरणको भएपनि अवसर दिएको छ।'

मिश्र भन्छन्, 'यसले नेपालको फुटबलमा अवश्य नै केही टेवा पुर्‌याउनेछ। फुटबललाई विस्तार गरेको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यसको लोकप्रियता बढेको छ। व्यापकता ल्याएको छ जसले गर्दा सहभागीता पनि बढेको छ। गोल्डकप बढ्नुले स्टेक होल्डरको सहभागीता पनि फुटबलमा बढेको छ।'
 
तर हरेक दिनजसो आयोजना हुने गोल्डकपले खेल्ने वातावरण मात्र सिर्जना गरेको छैन एकैपटक धेरै स्थानमा खेल्नुपर्ने तवान समेत सिर्जना गरेको छ। सबै गोल्डकपमा भाग लिने एउटै खेलाडी हुन्छन्, आज पूर्वमा खेलेको खेलाडी भोली पश्चिममा पर्सी सुदूरपश्चि पुग्छ। महिना दिनमा कुनै दिन पनि खेलाडीले फुर्सद पाउँदैन। यसले गर्दा खेलाडीमा मानसिक थकान बढ्छ भने खेलको नतिजामा पनि असर गर्छ।

अघिल्लो शनिबार एकैपटक दुई गोल्डकपको फाइनल भयो भने भोली पल्ट आइतबार एक गोल्डकप। अघिल्लो दिन काँकरभिट्टा गोल्डकपमा झापा एघार बाट खेलेको खेलाडीले भोलीपल्ट आइतबार फाल्गुनन्द गोल्डकपमा बिर्ता युनाइटेडबाट खेले।

यस्तै ए डिभिजन क्लब संकटाले हेटौंडा र काँकरभिट्टगा गोल्डकपमा खेलाडी बाँडेर खेलायो।

नियमित रुपमा लिग हुन नसक्दा क्लबहरुले पनि खेलाडी दर्ता गरेका छैनन्, त्यसैले गर्दा खेलाडीहरु खेल्नकै लागि भएपनि आज एउटा क्लब भोली अर्को क्लबमा जाने गरेको मिश्र बताउँछन्। 'एन्फामा दर्ता नियमावली छ, तर नियमित लिग छैन। लिग हुने दशरथ रंगशालामा खेल्न लायक नभएका कारण लिग रोकिएको छ। यस्तो अवस्थामा क्लबले पनि खेलाडी दर्ता गर्दैनन्।'

'अब खेलाडीको काम खेल्ने नै हो। नखेली बस्न सक्दैनन्। त्यसैले गर्दा धेरै जुन क्लबमा अवसर पाउँछ उही क्बमा खेल्छन्।'

अनी गोल्डकपमा धेरै क्लबबाट खेल्न खेलाडी कुन क्लब हो भन्ने पहिचान हराउने मिश्रले बताए। 'धेरै क्लबबाट खेल्दा कुन खेलाडी कुन क्लबको हो भन्ने नै थाहा हुँदैन। अनी उसले पहिचान कुन क्लबबाट बनाउने? त्यसले उसको फ्यान फलोइङमा समेत असर गर्छ।'

यसमा खेलाडीहरु आफैँ समेत सजग हुनुपर्ने मिश्रको भनाइ छ। 'एकपछि अर्को गोल्डकप खेल्दा खेलाडीमा इन्जुरीको सम्भावना बढी हुन्छ। उनीहरुले आफ्नो ख्याल गरेर खेल्नुपर्छ। महिनानमा ५/६ वटा खेल खेल्नु सामान्य हो। तर अहिले भएको जस्तो १५/१६ खेल एकै महिनामा खेल्ने निश्चय नै गाह्रो हुन्छ।'
'खेलाडीहरुले आफुलाई फिट राख्न इन्जुरी अवेर हुनैपर्छ, अनी आयोजकहरुले पनि गोल्डकप आयोजना गर्दा इन्जुरी प्रिभेन्ट गर्ने गरी गर्नुपर्ने उनको भनाइ छ।'

लगातार गोल्डकप भइरहे पनि खेलाडी र प्रतियोगितामा भने खासै व्यावसायीकता देखिदैन। कतीपय ठाउँमा खेल्ने मैदान गतिलो छैन। अन त्यसैमा लगातार खेल हुँदा मैदानको स्तर समेत घट्छ जसले गर्दा खेलाडीले आफ्नो स्वभाविक खेल कौशल पनि देखाउन पाउँदैनन्।

प्रायजसो गोल्डकपमा त्रुटी भइरहेको मिश्रले बताए। 'प्राविधिक समस्या धेरै छ। सबै गोल्डकपको लागि खेल्ने मैदान उपयुक्त छैन। मैदान हार्ड छ। पानी राखेको हुँदैन। अनी खेलाडीलाई खेल्न गाह्रो हुन्छ। यसले तत्कालै असर नगरेपनि लामो समयका लागि त्यसले पनि खेलाडीलाई असर गर्छ।'

यस्तै ट्राइबेकर/रेगुलेशन टाइमको निर्धारणमा पनि एकरुपना नभएको उनी बताउँछन्। 'सुरुमै खेल कसरी खेलाउने निर्धारण गर्नुपर्छ, त्यसका लागि प्राविधिक कमिटी पनि बनाउनुपर्छ। उत्कृष्ट खेलाडीहरु छनोट गर्नका लागि अहिले आयाजकहरुले राम्रो प्राविधिक कमिटी बनाउँदैनन्।'
यस्तै रेफ्रिको हकमा पनि फुटबल सञ्चालन गर्न आवश्यक रेफ्रि उपलब्ध हुनुपर्ने मिश्रको धारण छ।

नेपालमा भइरहने गोल्डकपको अहिले वर्गिकरण पनि छैन। जसले जस्तो खालको गोल्डकप गरेपनि हुने अवस्था छ। यस्तोमा क्लब लाइसेनिङ सिस्टम महत्वपुर्ण हुन्छ। अब एएफसीले पनि सन् २०१८ भित्र सबै सदस्य देशका क्लबलाई क्लब उक्त सिस्टम फलो गर्नुपर्ने प्रावधान ल्याएको छ।

त्यसले गर्दा नेपालको क्लबले पनि म्यानडेटरी रुपमा क्लब लाइसेनिङ गराउनुपर्ने मिश्रले बताए। 'यस्तो भयो भने राष्टिय टीमका खेलाडीले २/३ वटा भन्दा बढी नकआउट टुर्नामेन्ट खेल्न पाउँदैन।'

'त्यसपछि एन्फाले पनि नेपालमा हुने सबै खालका गोल्डकपको वर्गिकरण गर्नुपर्छ। अनी कुल खेलाडीले कस्तो गोल्डकप खेल्ने भन्ने तय हुन्छ।' यसले स्थानिय खेलाडीले पनि गोल्डकप खेल्ने मौका प्राप्त गर्छ।

राष्ट्रिय टीम मजवुत पार्न, नयाँ खेलाडी उत्पादन गर्न र नयाँ खेलाडीको पहिचान गर्ने एक मात्र माध्यम भनेकै लिग हो। तर यहाँ लिग हुँदैन। गोल्डकप भने दर्शनौ हुन्छ। लिग बिनाको गोल्डकपले देशको फुटबल धान्ला? प्रश्न उठ्न सक्छ।

खेलाडीमा पनि दैनिक जसो खेल खेलिरहनुपर्दा दबाब बढ्छ र आफ्नो स्वभाविक प्रदर्शन देखाउन सक्दैन।

लिगमा खेल जित्न नसकेपनि बराबरी वा हारलेपनि खासै असर पार्दैन। तर नकआउट प्रतियोगिताहरुमा अगाडी बढ्न वा टुर्नामेन्ट जित्न हरेक खेलमा जित हात पार्नैपर्ने हुन्छ।

विदेशमा वर्षभरी लिग हुन्छ ३ महिना मात्र छुट्टी हुन्छ। नेपालमा भने बढीमा ३ महिना मात्र लिग हुन्छ। विदेशमा लिग बाहेक हरेक देशमा एउटा डोमेस्टिक नकआउट टुर्नामेन्ट हुन्ट। जसमा उच्च श्रेणी देखी तल्लो श्रेणीसम्मको क्लबले भाग लिनछन्।

यहाँ भने लिग पनि हुँदैन। एन्फाले पनि नकआउट टुर्नामेन्ट खासै गरेको पाइँदैन। अनी निजी क्षेत्रले गोल्डकप मात्र गरेर कती धान्ने?
 
 
 
 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell