PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आत्महत्या गर्ने टप टेन देशमा नेपाल पनि, पाँच वर्षमा २१ हजार ५ सयले गरे आत्महत्या



सविन ढकाल

आत्महत्या गर्ने टप टेन देशमा नेपाल पनि, पाँच वर्षमा २१ हजार ५ सयले गरे आत्महत्या

काठमाडौँ : नेपाल फिल्म ‘छक्कापन्जा’ को पाइरेसी गरेको आरोप लागेका २३ वर्षीय युवक कृष्ण सुवेदी बिहीबार झुन्डिएको अवस्थामा फेला परे। यो घटनाले नेपाली सञ्चार माध्यममा महत्वका साथ स्थान पायो। 

सुवेदीको घटना सेलाउन नपाउँदै शनिवार र्‍यापर यम बुद्ध लन्डनस्थित आफू बस्दै आएको घरमा झुन्डिएको अवस्थामा फेला परेको समाचार आयो। 

लगातार केही दिनदेखि बढिरहेको आत्महत्याको समाचारले पनि पछिल्ला केही वर्षमा नेपालमा आत्महत्या विकराल समस्या बन्दै गएको देखाउँछ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले पनि नेपाललाई आत्महत्या गर्नेको देशको १० औ स्थानमा राखेको छ। 

त्रिचन्द्र कलेज मनोविज्ञान विभागका उपप्राध्यापक डा नरेन्द्रसिह ठगुन्नाका अनुसार सबैभन्दा बढी आत्महत्या हुने विश्वका १० देशमध्ये नेपाल सातौँमा छ। दक्षिण एसीयाली सहयोग सङ्गठन (सार्क) राष्ट्रमा श्रीलङ्कापछि बढी आत्महत्या हुने देशमा नेपाल रहेको ठगुन्नाले जानकारी दिए।

नेपाल प्रहरीको तथ्याङक हेर्न हो भने ५ वर्षको अवधिमा २१ हजार ५ सयले आत्महत्या गरेको देखिन्छ। २०६८ सालमा ३ हजार ९ सय ७७ जनाले आत्महत्या गरेका थिए। प्रत्येक वर्ष आत्महत्या गर्नेको सङख्या थपिँदै गएको छ। आर्थिक वर्ष २०७०/७१  ४ हजार ५ सय ४ जनाले आत्महत्या गरेका थिए। 

चालु आर्थिक वर्षको ४ महिनामा मात्र  १६ सय ३० जनाले आत्महत्या गरिसकेका छन्।  

विष सेवन गर्ने, झुन्डिएर, आगो लगाएर, हाम फालेर बढी आत्महत्या गर्ने गरेको देखिन्छ। सबैभन्दा धेरै मानिसले भने झुन्डिएर नै आत्महत्या गर्ने गरेका छन्। 

आत्महत्या गर्नेको संख्या पूर्वाञ्चलमा सबैभन्दा बढी छ।  

वरिष्ठ मनोचिकित्सक डाक्टर कपिलदेव उपाध्याय डिप्रेसनकै कारण मानिसले आत्महत्या गर्ने गरेको बताउँछन्। मानसिक रोगी, मद्यपान र धूमपानमा लत लागेका, आवेश, रिस, झगडा, प्रियजनको निधनको कारणले नै नेपालमा आत्महत्या गर्ने गरेको उनी बताउँछन्  उनका अनुसार धेरै मानिस रोगबाट पीडित भएर पनि आत्महत्या गर्ने गरेको देखिएको छ। 

आत्महत्या गर्ने मनस्थितिमा पुगेकाको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा केही चिकित्सकले अहिले सुसाइड प्रिभेन्सन हेल्पलाइनमार्फत् निःशुल्क परामर्श सेवा दिइरहेको छ। ९८४००२१६०० नम्बरमा कुनै दिन त दैनिक ५ देखि १० जनाले आफू डिप्रेसनमा पुगेको भन्दै काउन्सेलिङ लिने गर्छन्। 

गएको ८ महिनामा मात्र २० जनालाई अस्पतालमा नै बोलाएर परामर्श दिएको मनोचिकित्सक डाक्टर सगुनबल्लभ पन्तले जानकारी दिए। पन्तका अनुसार सबैभन्दा बढी व्यापारमा असफल भएर डिप्रेसनमा पुगेकाको कल आउने गरेको छ। प्रेममा असफल भएर आत्महत्या गर्ने मनस्थितमा पुगेकाको पनि धेरै कल आउँछ, उनले भने। २० देखि ३० वर्ष उमेर समूहका मानिसले बढी परामर्श लिने गरेका छन्।

सम्बन्धित समाचार


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell