PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कलियुगमा त्रेतायुगको झल्को, ४३ वर्षदेखि खराउकै भरमा हिँड्छन् लीला सर



पहिलोपोस्ट

कलियुगमा त्रेतायुगको झल्को, ४३ वर्षदेखि खराउकै भरमा हिँड्छन् लीला सर

पथरी (मोरङ) : न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति। तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन्।

बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन्।
 
लीला सरको खुट्टामा खराउ परेको ४३ वर्ष भयो। किन खराउ लगाउनुभयो? भन्ने जिज्ञासामा उनी भन्छन्, '२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो। २०३० सालमा नेपालमा उपचार गर्न सम्भव नै थिएन।'
 
भारतसम्म पुग्ने आर्थिक हैसियत भएन। त्यसै बेला एक साधुले उनलाई खराउ लगाउन सुझाव दिए। उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो। गाउँमा इनेगिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे।
 
साधुले भनेअनुसार लीलाले गाउँको सिकर्मीलाई खराउ बनाउन लगाए। सिमलको रुखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ तयार भयो। 'सुरुमा त अप्ठ्यारो भयो। तर, हर्नियाबाट मुक्त हुनु थियो,' उनी भन्छन्, 'त्यसैले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै १९ महिना खराउ लगाएँ। १९ महिनामा त हर्निया आफैँ हरायो।' त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन। उनी भन्छन्, 'मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो।'

युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उनको भनाइ छ। 'अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफै  बनाएर लगाउँछु,' उनले भने।
 
अब त उनको नाम नै खराउ सर भइसकेको छ। सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन्। 'जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु,' उनले हाँस्दै भने, 'मेरो फाइदाका लागि…।'रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell