PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुन तस्करीको हाइप्रोफाइल कनेक्सन



केपी ढुंगाना

सुन तस्करीको हाइप्रोफाइल कनेक्सन

अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको सबै जाँच पार गरेर हवाई मार्गबाट आएको ३३ किलो सुन काठमाडौं भित्रिनुको रहस्य रहस्यमै रहँदा काठमाडौंमा शनिबार १५ किलो सुन र करिब साढे ४ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित ५ जना पक्राउ परे।

शनिबार अमेरिकी, युरोलगायतका विदेशी मुद्रासहित तीन चिनियाँ र एक नेपाली पक्राउ र १५ किलो सुनसहित एक नेपाली पक्राउको घटना छुट्टाछुट्टै हुन्।

पुस २१ गते विमानस्थल सुरक्षा जाँच पार गरेर काठमाडौं भित्रिएको सुनको घटनाको प्रकृति गम्भीर देखिएपछि गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धानमा छ। 

बा१य १२३२ नम्बरको  पर्यटक नम्बर प्लेट राखेर सुटकेसमा फल्स बटम बनाएर बेलुका केरुङ हिँडेका चिनियाँ र नेपालीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर पैसाको स्रोतबारे अनुसन्धान गरिरहेको छ।

केरुङ हुँदै काठमाडौं आइरहेको ना १ ज ४९६४ नम्बरको टाटा सुमोको ब्याट्री राख्ने ठाउँमा सुनको १५ वटा बिस्कुट लुकाएर ल्याउने रविन्द्र भुजेललाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बालाजु अनुसन्धानमा जुटेको छ।

तीन घटनाको अनुसन्धानमा तीन निकाय संलग्न छ। घटनामा पक्राउ परेकाहरु भिन्न छन् तर घटनाको प्रकृति भने एकै।

३३ किलो सुनको हाइप्रोफाइल जालो

ब्युरोले ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा २ सरकारी कर्मचारीसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइरहेको छ। 
प्रारम्भमा बाँकेका गोपालबहादुर शाही, मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको ब्युरोले यो बीचमा  भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ। 

यही बीचमा उसले तस्करीमा जोडिएको भन्दै काभ्रेको पनौतिबाट थप एकजनालाई पक्राउ गरिसकेको छ।

अनुसन्धानमा खुले अनुसार पक्राउ परेका तीन जना सुन ल्याउने र सुरक्षित स्थानमा भण्डारण गर्ने हुन्। पनौतिमा पक्राउ परेका सुन वितरण गर्ने ब्यक्ति हुन्। दुई सरकारी कर्मचारी भन्सारबाट सुन बाहिर ल्याउन सघाउने समूहका तल्ला तहका कारिन्दा हुन्।

ब्युरोले प्रारम्भमै पक्राउ परेकाहरु हाइप्रोफाइलका ब्यक्तिसमेतको संलग्नतामा सुन तस्करीमा सक्रिय संगठित समूहका सदस्य रहेको बताएको थियो। ती हाइप्रोफाइल के हो अझै खुलेको छैन। 

जबसम्म कानुन कार्यान्वयन गर्ने, दण्डित गर्ने निकायका  ब्यक्ति वा समूहको संरक्षण हुन्न, यी निकायलाई निर्देशन दिने वैध हैसियत भएका जबसम्म संरक्षक बन्दैन तबसम्म कुनै पनि प्रकृतिको अपराधले संगठित स्वरुप लिन सक्दैन। 

संगठित स्वरुप लिनुभन्दा अगाडि नै त्यो कुनै न कुनै निकायको प्रयासमा प्रारम्भिक चरणमै भत्किन्छ।

दुबईबाट ल्याएको सुन भन्सार छलेर जुन प्रकृयाबाट विमानस्थलबाट बाहिरियो, यसले सो घटनामा तस्करीको संगठित स्वरुप देखाउँछ। 
अर्थात ३३ किलो सुन तस्करीमा जुन समूह सक्रिय छ, त्यो शक्तिशाली छ, उसलाई राज्यको वैध निकायका वैध अधिकारीको संरक्षण छ।
सरकारी कर्मचारीको पक्राउले एक तहको सरकारी संरक्षण सतहमा आयो। तर अनुसन्धानको प्रकृयामा पक्राउ परेकाहरुबाट जुन तहको जालो खुलेका छन् त्यो जालो अर्थात् केवल भन्सारका सीमित कर्मचारीको इच्छामा मात्र चल्न सम्भव छैन।

राज्यका विभिन्न निकाय नेपाल प्रहरीका विभिन्न युनिट, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, अध्यागमन विभाग अनि कुनै न कुनै भूमिकामा नेपाली सेनासमेत निगरानीमा रहने विमानस्थलमा भन्सारका अधिकारीको सहमतिमा मात्रै सुन तस्करीले संगठित स्वरुप लिन सम्भव हुन्न।

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले ३३ किलो सुनको तस्करीको अनुसन्धानमा संगठित समूहको संलग्नता पुष्टि भइसकेको बताए पनि अनुसन्धान जारी रहेको भन्दै अन्य विषयमा प्रवेश गर्न चाहेनन्।

अनुसन्धानमा संलग्न ब्युरो स्रोतबाट आएको जानकारी अनुसार सुन तस्करीमा संलग्न दोस्रो र पहिलो तहका केही ब्यक्तिबारे महत्वपूर्ण जानकारी हात लागिसकेको छ। सुन तस्करीमा उनीहरुको संलग्नता पुष्टिका लागि पक्राउ परेकाहरुको बयान बाहेक थप बलियो प्रमाण संकलनमा ब्युरोले मिहिनेत गरिरहेको देखियो।

'सुन तस्करीमा जे देखिएको छ यो सामान्य रोग हैन, गम्भीर नै हो,' अनुसन्धानमा संलग्न स्रोतले भन्यो' जुन प्रकृयाबाट अनुसन्धानले गति लिइरहेको छ, एक सातामा नतिजा आउनसक्छ।'

१५ किलो कसको? 

शनिवार बरामद भएको १५ किलो सुन कसको हो खुलिसकेको छैन। सुन केरुङ्नाकाबाट नेपाल भित्रिएको खुलेको छ।

१५ किलो सुन पक्राउबारे प्रहरीले खुलाए अनुसार अवैध सामाग्री तस्करी भएर उपत्यका भित्रिँदैछ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको टोलीले बिहान साढे १ बजे चमतिमा गोसाँइकुन्ड यातायात व्यवसायी समिति लेखिएको रसुवा-काठमाडौं चल्ने टाटासुमो जाँच गर्दा इन्जिनको ब्याट्री राख्ने ठाउँमा सुन फेला पारेको थियो। यदि प्रहरीले चमतिमा सुमो नियन्त्रणमा नलिएको भए सुन पाटन पुग्थ्यो। 

थानकोटतिरै प्रहरीले जाँच गरेको भए चालक रवीन्द्र भुजेलसँगै अर्का एक जना पनि पक्राउ पर्थे।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा केरुङ्मा सुन राख्ने, कलंकीमा उत्रिने र सुन लिने ब्यक्तिबारे केही जानकारी खुलेको छ। अनुसन्धानमा १५ किलो सुन तस्करीमा समेत संगठित समूह नै संलग्न देखिएपछि प्रहरीले चालक र सुन राजस्व अनुसन्धान विभागमा नबुझाई आफैले संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ।

यसको सम्बन्ध ३३ किलो सुन तस्करीमा जोडिनसक्छ? 

एसपी कार्की सुन तस्करीमा विभिन्न समूह सक्रिय देखिएको र तस्करीको रुट फरक भएकाले अर्कै समूह हुनसक्ने बताउँछन्। 'अहिलेसम्म ३३ किलोसँग यसको सम्बन्ध खुलेको छैन,' उनले पहिलोपोस्टसँग भने।

सुन- डलर सम्बन्ध

सुन तस्करी र डलर तस्करी एक अर्काबीच जोडिएका अपराध हुन्। तेस्रो देशबाट नेपाल भित्रिने तस्करीको सुनको भुक्तानी विदेशी मुद्रामा यस्तै अवैध प्रकृयाबाट चल्दै आएको छ।

विमानस्थलको सुन दुबईबाट आएको देखिए पनि नेपाल भित्रिने अधिकांश तस्करीको सुनको स्रोत चीन नै हो। यस अगाडि ठूलो मात्राको डलर तस्करीमा जति पनि पक्राउ परेका छन्, अधिकांश नागरिक चिनियाँ छन् र उनीहरुले शनिवारकै शैलीमा गाडीमा लुकाएर, जाम, फर्सीभित्र लुकाएर लैजाने प्रयास गर्दा समातिएका छन्।

यस अगाडि २०७१ चैतमा विमानस्थलमा चिन हिडेका याङ् लिउ एक लाख अमेरिकी डलरसहित पक्राउ परेका थिए। तीन वर्ष अगाडि १४ चिनिया नागरिक ४ लाख अमेरिकी डलरसहित जगातिमा पक्राउ परेका थिए। 

शनिवार महाशाखाले चिनिया नागरिक चाङ तोङ फाङ,चौ सुलियन र चाउ लियाङ फङलाई २ लाख ७४ हजार अमेरिकी, एक लाख २८ हजार युरो लगायत ४ करोड ७१ लाख नेपाली रुपैंया बराबरको विदेशी मुद्रासहित पक्राउ गर्‍यो।

शनिवार पक्राउ परेका तीन चिनिया नागरिकले सो पैसाको स्रोत ब्यापार दावी गरे पनि त्यो ब्यापार वैध हैन भन्ने उनीहरुले पैसा केरुङ्हुँदै चीन लैजान अपनाएको अवैध प्रकृयाबाटै खुल्छ।

'प्रारम्भिक अनुसन्धानमै बरामद भएको रकमको सम्बन्ध आपराधिक गतिविधीमा जोडिनेमा शंका रहेन,' अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने' अपराधका अन्य स्वरुप पनि भएकाले अहिलेनै सो रकम सुनको हो भन्न सक्दैनौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell