PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ढोरपाटन महिला भलिबल : एपीएफ शीर्ष स्थानमा, रिड मोडल कलेजको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

ढोरपाटन महिला भलिबल : एपीएफ शीर्ष स्थानमा, रिड मोडल कलेजको अपराजित यात्रा कायमै

काठमाडौं : १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस र रिड मोडल कलेजले सफलता हासिल गरेका छन्।

शनिबार भएको खेलमा एपीएफ रामेछापको चन्डेश्वरी युवा क्लब र नेपाल आर्मीलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको हो। 

प्रतियोगितामा अहिलेसम्म ८ खेल खेलेको एपीएफ ७ खेलमा जित र एकमा हारसँगै २१ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो। एपीएफले पहिलो खेलमा चन्डेश्वरीलाई २५–७, २५–२ र २५–२ को सेटमा हरायो भने आर्मीलाई २५–११, २५–१५ र २५–८ को सोझो सेटमा पराजित गरेको हो।

यता ६ खेलमा जित र एक हारको नतिजासहित १८ अंक जोडेको न्यु डायमन्ड एकेडेमी दोस्रो स्थानमा झरेको छ।

यस्तै भारतीय राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको रिड मोडल कलेजले आफ्नो अपराजित यात्रा कायम राख्दै पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्‌यो। पश्चिमाञ्चलविरुद्ध रिड मोडल कलेज २५–२०, २५–११ र २५–१९ को सेटमा विजयी भयो। 

लगातार पाँचौं खेल जितेको रिड मोडल कलेज १५ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। पश्चिमाञ्चलको यो चौथो हार हो। ७ खेलमध्ये ३ मा मात्र जित हात पारेको पश्चिमाञ्चल १२ अंकसहित पाँचौं स्थानमा झरेको छ।

शनिबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई २५–१०, २५–२ र २५–२० को सेटमा पराजित गर्‌यो। यससँगै ८ खेलबाट ६ खेलमा जित हात पारेको नेपाल पुलिस १८ अंक जोड्दै लिगको तेस्रो स्थानमा यथावत रहेको छ।

त्यसैगरी ७ खेल खेलेको नेपाल आर्मीले ३ जितसँगै ९ अंक जोडेको छ भने आयोजक ढोरपाटन स्पोर्टस् क्लबको ६ खेलबाट ८ अंक छ। रामेछापको चन्डेश्वरी युवा क्लबले ९ खेलबाट ७ अंक जोडेको छ। न्यु डायमन्ड स्पोर्टस् क्लबको ८ खेलबाट २ अंक छ भने लिगको पुछारमा रहेको बिजेश्वरी ज्ञान मन्दिरले ८ खेलबाट एक अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell