PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तेह्रथुम सङ्क्रान्ति बजारका अग्निपीडितलाई १९ लाख राहत सहयोग



रासस

तेह्रथुम : तेह्रथुमको आठराई सङ्क्रान्तिबजारमा भएको आगलागी पीडितलाई अमेरिका र डेनमार्कबाट रु १९ लाख बराबरको राहत सहयोग प्राप्त भएको छ।
 
इवा घर भई हाल वाईट हेड नामक अमेरिकन कम्पनीमा कार्यरत इन्जिनियर मदन इङ्नाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाइमा सङ्कलित १२ लाख ११ हजार नगद र रु पाँच लाख बराबरको जिन्सी सामग्री उपलब्ध भएको हो। यस्तै डेनमार्कबाट समेत तीन लाख बढी नगद सहयोग प्राप्त भएको छ।
 
आफ्नो गाउँमा भएको आगलागीका पीडितलाई इन्जिनियर इङ्नामले सङ्कलन गरेको सो रकम र सामग्री सङ्क्रान्तिबजार पुगेर हस्तान्तरण गरेको समाजसेवी डम्बर इङ्नामले जानकारी दिए। इङ्नामले रु १२ लाख ११ हजार चेक प्रदान गरेको र सो रकम ‘सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’ मा जम्मा गरिने इलाका प्रशासन कार्यालय प्रमुख सफल पोर्तेलले बताए। जिन्सी सामाग्रीतर्फ ६० परिवारलाई प्रेसर कुकर, कराई र थर्मस प्राप्त भएको छ।
 
अग्निपिडित परिवारलाई डेनमार्कबाट पनि सहयोग रकम उपलब्ध भएको छ। सङ्क्रान्तिबजार हाल डेनमार्क निवासी रोशन सिटौला र राजु शिवाकोटीमार्फत  डेनमार्क ग्रुपले सञ्चालन गरेको अभियानबाट सहयोग रकम उपलब्ध भएको हो। इप्रका सङ्क्रान्तिमा भएको कार्यक्रममा समाजसेवी शिवाकोटीको आमा सरला शिवाकोटीले रु तीन लाख २६ हजार २६७ को चेक उद्योग वाणिज्य सङ्घ सङ्क्रान्तिबजारका अध्यक्षलार्ई हस्तान्तरण गरिन्।
 
अग्निपीडितकालागि हालसम्म सांसद सीता गुरुङले रु १५ लाख र प्रधानमन्त्री पुष्पकमल दाहालले रु एक करोड दिने घोषणा गरेका छन्। गत पुस १ गते भएको भीषण आगलागीबाट सङ्क्रान्तिबजारका ३२ घरसहित ७३ परिवार विस्थापित भएका थिए। आगलागीबाट रु १४ करोड आठ लाख बराबरको क्षति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell