PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कविता : अनि बोल्छन् पुतलीहरू



कविता : अनि बोल्छन् पुतलीहरू

  • भावना शर्मा
बज्यै
भो सक्तिन अब!
आजैका मितिदेखि
अस्वीकार छ
भनभन झिँगा भन्किरहेको
उनले गिजोलेको कचरक्क पुरो
मलाई माफ गर
 
…अचानक मनले भन्यो
नर्कमै परूँ बरु!
मैले निल्ने गाँस 
मेरै नामको हुनुपर्छ।
 
वर्षौं भो
भान्छा यही हो/भान्छे उही
म यसरी नै हुर्केछु
उनले छाडेको पुरोमा
सधैं भन्किरहेकैथ्यो झिँगा 
मानिरहेँ आदेश बज्यै 
'खा खा स्वर्ग जान्छेस्'
कहिल्यै जवाफ लाइन
चुपचाप निलिरहेँ
किन बज्यै
किन...?
 
पुतली खेल्दै थिएँ रे
डोलीमा हाल्दिँदा
झुम्राको पुतली जस्तै
तिम्रो घरभित्र पसेँ
'खेलौना' म
इसारामा नाचिरहेँ
कसरी इन्कार गरूँ!
जसरी खेलायौ
म खेलिएँ
 
झुलुक्क घाम छिर्‍यो
आज यो जस्केलाबाट
बाँचुन्जेल नदेखेको स्वर्ग
मरेपछि खै कल्ले देख्ला र!
बज्यै!
भो नदेखाऊ स्वर्गको लालसा
घिन मान्दै निलेका यी गाँसैपिच्छे
म नरक भोगिरहेछु
 
मलाइ स्वर्गकी दासी होइन
धर्तीकी रानी हुन मन छ
मान्छेकै चोलामा
- मलाई मान्छे झैं बाँच्न मन छ
- मान्छेले झैं सास फेर्न मन छ...

(कवितामा प्रयुक्त कला स्पेनिस कलाकार साल्भाडोर डलीको पेन्टिङ हो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell