PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

​‘सान्त्वना त जताबाट पनि जुट्ला, आँसु पो आउन छोड्यो’


स्वेच्छा राउत/पहिलोपोस्ट

​‘सान्त्वना त जताबाट पनि जुट्ला, आँसु पो आउन छोड्यो’
काठमाडौं : भुईंमा प्लास्टिकको कालो म्याट्रेस ओछ्याएको कोठा, एउटा लो बेड, लो बेडसँगै राखिएको अक्सिजन सिलिन्डर, हिटर र लुगाफाटो राखेको केही पोका। कोठामा सामान त्यति मात्रै देखिन्छ। लोबेडमा बसेर नजिकै राखेको हिटर ताप्दै थिइन् ममता बोहोरा। स्वर्गीय पत्रकार कर्ण बोहोराकी श्रीमती।

ममताको दुवै मृगौला काम गर्दैन। अझै उनको किड्नी ट्रान्सप्लान्ट भएको छैन। थाहा थियो तर पनि सोधें, 'तपाईंलाई कस्तो छ भाउजु अहिले?' 
उनले अक्सिजनको सिलिन्डर तिर एकपटक आँखा पुर्‍याइन् र भनिन्,'उस्तै त हो। नत्र किन हस्पिटल छेउ कोठा खोजेर बस्न पर्थ्यो?' 



***
गत साउन महिनाको सुरुवातदेखि ममताको शरीर र अनुहार सुन्निने समस्या देखियो। सुरुमा सबैलाई लागेको थियो प्रेसर हाइ भएकै कारण सुन्नियो। तर दिनदिनै समस्या बढेपछि अञ्चल अस्पतालमा जचाउन पुगिन्। 

'किड्नीको समस्या जस्तो छ काठमाडौँ लानुस्।'

डाक्टरको सल्लाहलाई नकार्न सक्ने स्थिति थिएन। तर किड्नीकै समस्या हो भन्नेमा विश्वास भएन। किनकी त्यसअघि कहिलेकाहीँ देखिने हाई ब्लडप्रेसर बाहेक कुनै किसिमको स्वास्थ्य समस्या थिएन उनमा। 'सुन्निने बाहेक अरु केही अफ्ठ्याराहरु महसुस नै गरिनँ। न कतै दुख्ने न पोल्ने', केही सम्झिए जसरी भन्छिन्,'तर भित्रको कुरा बाहिर कहाँ थाहा हुँदो रैछ र?' 

कर्ण श्रीमतीलाई लिएर कञ्चनपुरबाट काठमाडौँ हान्निए। उपचार गराउन। आउँदै गर्दा ममतालाई लागेको थियो, केही सानोतिनो समस्या होला, उपचार गराएपछि ठीक हुन्छ र चाँडै घर फर्कन्छु। तर मेडिकलको रिपोर्टले त्यसो बोलेन। 

सुमेरु अस्पतालमा उनको परीक्षण गराइएको थियो। दुवै किड्नी काम नगर्ने भएको थाहा पाएपछि बोहोरा दम्पत्ती तनावमा रहे। स्वास्थ्य बिग्रँदो अनि कञ्चनपुरबाट बोकेर आएको खर्च टक्टकिँदो। डायलासिस सुरु हुनुअघि गरेको उपचारका लागि मात्र पाँच लाखभन्दा बढी खर्च भएको बोहोराका भतिज केशब बोहोराको दाबी छ। 

'ट्रान्सप्लान्ट गर्दासम्मको खर्च कसरी जुटाउने होला भन्ने तनावले छोपिसकेको थियो', ममता त्यो अवस्थाको बयान यसरी गर्छिन्,'फिस्टुला फेरेपछि नै खर्चको अभाव र ऋणको भारी बोक्न पर्ने अवस्था सुरु भयो।' 

सायद बोहोरालाई त्यो भारी गह्रौँ पर्‍यो।

सुमेरुबाट डायलासिसको लागि ममतालाई भेनस हस्पिटलमा सारियो। दैनिक गर्न पर्ने औषधी उपचार र नियमित गर्न पर्ने डायलासिसको खर्चबीच कर्ण किड्नी ट्रान्सप्लान्टको लागि पैसा जुटाउन थाले, पैसासँगै किड्नी दिन मिल्ने मान्छेको खोजीमा लागे। ममताको अवस्था निकै कमजोर भइसकेको थियो। आँखा देख्न पनि गाह्रो पर्ने गरी आँखा सुन्निएको। उनले चाहेर पनि पतिलाई सहयोग गर्न सकिनन्। 

ममताको दुखेसो छ- एउटै मान्छेले धेरै कुरा सम्हाल्न परेपछि स्थिति बिग्रँदो रहेछ। कर्ण बोहोरा र श्रीमतीको जीवनमा त्यस्तै भयो। 

कर्णले पत्रकार प्रेम बानियाँको सहयोगमा काठमाडौंको एक व्यापारिक समूहमार्फत् चार लाख नगद रकम सहयोग पाए। ती व्यापारीहरुको टोलीले हरेक वर्ष गर्ने नेपाल भ्रमण रद्द गरेर सो रकम प्रदान गरेका थिए। ममतालाई दिल्ली पठाउन। कर्णलाई  थोरै ऊर्जा मिल्यो र साहस पनि।

ममताको स्याहारका लागि काठमाडौं बसेका भतिज केशव बोहोराका अनुसार कर्णले दिल्लीमा रहेका कोही एक व्यक्तिसँग किड्नी ट्रान्सप्लान्टको लागि सहमति गरिसकेका थिए। एडभान्स स्वरुप केही नगद रुपैयाँ पनि बुझाए। 

केही रकम थप जम्मा गर्न सके चाँडो भन्दा चाँडो श्रीमतीलाई लिएर दिल्ली जाने होडमा थिए कर्ण बोहोरा। केही प्रेसर थियो समयमा ऋण नमिल्नाले। 

ममता भन्छिन्, 'जुटेको रकम पनि हप्तामा ३,४ पटक गर्न पर्ने डायलासिसमा खर्च हुन्थ्यो।' 

उनी सम्झिन्छिन्, मंसिर १० गते उनको भेनस हस्पिटलमा डायलासिस गर्ने दिन थियो। सँधै जस्तै पति कर्णले उनलाई खाना दिए, औषधी खुवाए र डायलासिसका लागि पठाए। आफू भित्र जान नमिल्ने भएकाले कुरुवाको खाटमा पल्टिएका थिए उनी।

दिउँसोको समय श्रीमान गहिरो निद्रामामा देखेर डायलासिस गरेर फर्किएकी ममतालाई निकै माया लाग्यो। 

'मैले एकपटक झक्झकाएँ। तर निदाएको बेला कसैले डिस्टर्ब गरे झर्किने, रिसाउने बानीले गर्दा दोहोराएर बोलाइनँ',उनले अन्तिम पल्ट हेरेको श्रीमानको अनुहार सम्झदै भनिन्,'निकै थाके जस्तो लागेर छोडिदिएँ।'

सोचेकी थिइन्- रातको निद्रा पुराउँदै होलान्।

उनी आफैँ हिँड्न, धेरै समय उभिन सक्ने अवस्थामा थिइनन्। औषधीका डोजका कारण अर्ध होसमा हुन्थिन्। निदाइरहेका श्रीमानलाई हेरेर आफू पनि निदाएकी उनले बिउँझदा पतिलाई खोजिन्। नर्सले सुनाइन्, 'कर्णलाई सुगर लो भएको छ। त्यही समस्याको उपचारका लागि आइसियुमा राखेका छौं।' 

ममताले नर्सको कुरामा विश्वास गरिन्। पति भेट्न मन भएको पनि सुनाइन् तर उनलाई श्रीमान् कहिल्यै नउठ्ने गरी निदाएको एक रत्ति पनि सोचेकी थिइनन्।

कर्ण डायलासिस गर्न गएकी श्रीमती कुर्दाकुर्दै चीर निद्रामा परिसकेका थिए। कहिले नउठ्ने गरी।

'त्यही निदाइरहेको अनुहार अन्तिम पटक देख्न लेखेको रहेछ।'

सामाजिक सञ्जाल र समाचारहरुमा कर्ण बोहोराले श्रद्दाञ्जलि पाइरहँदा उनकी श्रीमति सोही हस्पिटलको वार्डमा बसेर श्रीमानको स्वास्थ्य लाभको कामना गर्दै थिइन्।

मृत्यु भएको भोलिपल्ट बैतडीबाट आमा र कञ्चनपुरबाट केही आफन्त आए।  कर्णको  शरीरको पोस्टमार्टम भयो। रिपोर्टमा मृत्युको कारण देखियो सुगर लो। सुगर लोसँगै एक हप्ता अघिदेखि खाना नखाएको पनि देखियो, उनको प्रेसर पनि लो रहेछ।

ममता भन्छिन्,'सँधै मेरा लागि खाना लिएर आउनु हुन्थ्यो। हजुरलाई खोइ त? भन्दा खाएर नै आएको भन्नु हुन्थ्यो। के थाहा मेरो आँखा छल्नु भएको भन्ने।' 

श्रीमतीको आँखाबाट यसै गरी छलिए उनी सदाको लागि।

तेस्रो दिन कर्णको शरीर दाहसंकारका लागि पशुपती आर्यघाट पुर्‍याउने भएपछि मात्र ममतालाई उनको मृत्युको जानकारी दिइएको थियो।

***

श्रीमानको निधन भएको खबरले उपचाररत ममताको स्वास्थ्यस्थितिलाई झनै गाह्रो बनाइदियो। उनको मुटमा पनि समस्या देखियो जसका लागि तत्काल शिक्षण अपतालमा भर्ना गर्न परेको थियो। 

कर्णको मृत्यु असमायिक, अकल्पनीय मात्र रहेन उपचाररत ममताको आत्मबल, आत्मविश्वास र सञ्चो हुने आशाको केन्द्रनै डगमगायो। उनी रोइन्, कराइन् तर समाधानको बाटो त्यो थिएन। उनको किड्नी ट्रान्सप्लान्टको प्रक्रिया सुरु भएकै थिएन। कर्णले दिल्ली लान गरेको तयारी पनि लथालिङ्ग बन्यो।

'अंकलको डेथपछि किड्नी दिने भनिएको मान्छे सम्पर्कमा नै आएन। एड्भान्स भनेर अंकलले दिनुभएको रकम पनि फिर्ता गरेन। त्यसपछि किड्नी दिन मिल्ने र दिन तयार अरु कोही भेटिएनन्', कर्णका भतिज केशव बोहोरा भन्छन्।

ममता बोहोराको तीन दिदी र एक भाइ इन्डियामै बस्दै आएका छन्। ज्वाईंको निधनपछि दिल्लीमै बस्दै आएकी दिदी, बहिनीको स्थिति बुझ्न नेपाल आइन्। र दिल्ली आउन सके आफूले किड्नी दिने वाचा गरेर गइन्।

समवेदना र सहयोग स्वरुप जम्मा हुन थालेको रकमले औषधी उपचार हुन थाल्यो। पत्रकार महासंघले ममताको उपचारको जिम्मा लिएपछि केही राहत त भएको छ तर ट्रान्सप्लान्टको लागि चाहिने खर्च? किड्नी दिने र लिने दुबैको उपचार खर्च सहित भारतीय रुपैयाँ १२ लाखको हाराहारीको खर्च लाग्ने थाहा भयो। 

सरकारी सेवा र सहयोग, सस्तो भए पनि उपचार राम्रै होला भनेर भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उनको डायलासिस सुरु गरेका थिए आफन्तले। पत्रकार महासंघको सहयोगमा हस्पिटल नजिकै कोठा खोजेर उनलाई राखियो। यसबीचमा उनलाई निमोनिया भयो। स्वास्थ्यको समस्या झन् बढ्यो। पानीको मात्रा अलिकति मात्र बढी हुँदा पनि उनलाई गाह्रो हुन्छ। हप्तामा ३ पटक गर्न पर्ने डायलासिस र स्ट्यान्ड बाइ राख्न पर्ने अक्सिजन सिलिन्डर यतिको भरमा आफू स्वस्थ हुने दिन कुर्दैछिन्। आफ्नी दिदीले नेपालमा किड्नी प्रत्यारोपण गर्न नमान्नाले उनी दिल्ली जाने दिन गन्दैछिन्। 

'मेरो उपचारको नाममा जम्मा भएका पैसा हस्तान्तरण नभए उपचार गराउन सक्ने स्थिति नै छैन', उनी थप्छिन्, 'अन्तिम आशा तिनै समवेदना स्वरुप जम्मा हुने रकम न हुन्।' 

वाचा गरेका सबैले सहयोग गर्लान्? 

एकोहोरिएकी ममता बोल्छिन्,'सान्त्वना स्वरुप सहयोग त जताबाट पनि जुट्ला नि आँसु पो आउन छोड्यो। अब त म बलियो बन्नु पर्छ। मेरो बुढाको काम धन्दा सम्हाल्नु पर्छ।' 

यति भनिसक्दा आँसु आउन छोडेको बताउने ममताको आँखाभरी आँसु देखिए। मुखमा लगाएको अक्सिजन खोलेर आँसु पुछिन्।

'पश्चिम नेपाल'  नामको पत्रिका र रेडियो चलाउथे कर्ण बोहोरा। पत्रिका केही समय अघिमात्र एकवर्षका लागि लिजमा दिएर रेडियोमा फोकस गर्न लागि परेका थिए। उनको रहर थियो सुदुर पश्चिमभरी आफ्नो रेडियो घन्काउने। त्यसैका लागि बैतडीमा टावर राख्ने योजना पनि नबुनेका होइनन्। 

'मलाई ठीक भयो भने म रेडियोकै लागि काम गर्छु। तर के गर्नु दुई महिना यता त ठप्पै भएको छ रे।' 

अक्सिजनको मास्क लगाएर पनि उनलाई श्रीमानको सपनाको चिन्ता छ।


उनलाई एनएमबी बैँकमा ममता कुमारी थापा बोहोराको नाममा रहेको 07520700483133000001 नम्बर खातामा सहयोग गर्न सकिन्छ। 
 


​‘सान्त्वना त जताबाट पनि जुट्ला, आँसु पो आउन छोड्यो’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट