PahiloPost

Mar 24, 2017 | ११ चैत्र २०७३


तिहार लगत्तै बेपत्ता भएका मनोज गजुरेलको 'जेल अनुभव'


उमेश श्रेष्ठ/पहिलोपोस्ट

तिहार लगत्तै बेपत्ता भएका मनोज गजुरेलको 'जेल अनुभव'
तिहार लगत्तै मनोज गजुरेल बेपत्ता भए। ‘तपाईँको कल डाइभर्ट गरिएको छ,’  उनको नम्बरमा डायल गर्ने धेरैले यस्तो सन्देश मात्र सुन्न पाए। डाइभर्टेड कल उनका दाजु केशव गजुरेलले उठाउँथे – ‘१०/१५ दिनमा आउँछु भनेर गएको हो, खै कहाँ गएको हो, थाहा भएन,’  दाइको जवाफ हुन्थ्यो । 

हरेक दिन जसो अपडेट हुने उनको फेसबुक र रियल कुराको गजुरियल विश्लेषण हुने उनको ब्लग पनि खाली थियो। धुर्मुसले केपी ओली र उनले प्रचण्ड भएर दुवै नेताको अगाडि दुवैलाई बेपत्ता उडाउँदै सिस्नुपानी देउसी भैलो खेलेको चौथो दिनमा उनी यसरी अचानक गायब भएका थिए । 
यो साता उनले आफ्नो दुई साता लामो भूमिगत बसाइबारे पहिलो पटक मिडियालाई खुलाउँदै स्वीकारे, ‘म जेल गएको थिएँ।‘ 

जेलमा ?

कसरी ?

किन ?

‘जुन ठाउँमा म थिएँ, त्यहाँका नियमहरु कुनै जेलभन्दा कम थिएनन्,‘ उनी खुल्दै गए।   

उनलाई निश्चित परिधिभन्दा बाहिर जान दिइँदैन थियो । न उनले बाहिर कसैलाई सम्पर्क गर्न पाउँथे, न बाहिरबाट कसैले उनलाई। मोबाइल फोन पहिले नै कब्जामा लिइसकिएको थियो। न पत्रपत्रिका, न टिभी रेडियो। सञ्चारका यी आधुनिक वस्तुमात्रै मात्रै हैन, मुखले बोल्न र शरीरको हाउभाउले इशारा गरेर पनि ‘सञ्चार’ गर्न पाइँदैन थियो। 

बरु जेलमा यस्तो बन्देज हुँदैन थियो। त्यहाँ बोल्न पाइन्थ्यो, बाहिरबाट आएकाले भेट्न पनि पाइन्थ्यो।

तर त्यहाँ उनी बिहान ४ बजे उठ्थे, चुपचाप दिइएको निर्देशन अनुसार काम गर्थे,  थालमा अरुले जे राखिदियो खान्थे, आफ्नो थाल आफै माझ्थे, फेरि काम गर्थे र सुत्थे। कसैको करबल र दबाबले हैन आफैले आत्मसमर्पण गरेका कारण यो जरुरी थियो। 

****


‘धर्म कारावास’को ‘बन्दी’

लुम्बिनीका युवराज सिद्धार्थ गौतम राजपाट त्यागेर हिँडे। अनेक विधि अपनाए तर ज्ञान पाएनन्। एउटा विधिले भने उनको ज्ञानको आँखा खोलिदियो। उनी सिद्धार्थ गौतमबाट ‘बुद्ध’ बने। 

मभन्दा अगाडि कयौँ बुद्ध बने, म पछि पनि कयौँ बुद्ध बन्नेछन् भन्दै त्यसपछि उनले जीवनभर त्यही विद्या अरुलाई सिकाउँदै हिँडे। मृत्यु मुखमै आइसक्दासम्म पनि उनले त्यही विद्या अरुलाई सिकाउँदै गरे। 

विपश्यना त्यही विद्या हो जसले सिद्धार्थ गौतमलाई बुद्ध बनायो। समयक्रममा यो विद्या लोप भयो तर वर्मामा भने यसको मौलिक स्वरुप कायम रहेछ। त्यही मौलिक स्वरुपलाई वर्माका व्यापारी परिवारमा जन्मिएका सत्यनारायण गोयन्काले व्यापक बनाए र अहिले पनि विश्वका विभिन्न भागमा निःशुल्क सिकाइन्छ। १० दिन पाँच वटा विभिन्न शील ‘नियम’  पालन गरी सिक्नुपर्ने यही विद्याका अगाडि मनोज गजुरेलले आत्मसमर्पण गरेका थिए र स्वेच्छाले ‘धर्म कारावास’को बन्दी भएर शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको मुहानपोखरीमा १२ दिन बिताएका थिए जसमा १० दिन विद्या सिक्नका लागि थियो। 

****

मंगल ग्रह जान लागेको त हैन नि !

‘धेरै गाह्रो छ, एकदम गाह्रो छ’ - ध्यान केन्द्र जानुअघि पूर्वसचिव तेजरत्न शाक्यले पर्सनल काउन्सेलिङमा सचेत गराएपछि उनले झल्याँस्स मंगल ग्रहमा बस्ती बसाउन मान्छे लान लागेको प्रसंग सम्झिए- ‘वन वे टिकट। जान पाउने, फर्कन नपाइने।‘ 

त्यसो त फाराम भर्नुअघिदेखि नै सबैलाई ‘नियम राम्रोसँग पढ्नुस् है। बस्न सक्ने भए मात्र जानुस्’ भनेर सचेत गराइन्छ। यो क्रम ध्यान केन्द्र पुगिसकेपछि कोर्स सुरु हुनु केही घण्टाअघिसम्म जारी रहन्छ । ‘अझै बेला छ। सुरु भएपछि छाड्न पाइन्न। अहिले पनि मौका छ फर्कने भए फर्किहाल्नुस्।‘ 

मनोजलाई अरु चेतावनीले त त्यति छोएन। तर शाक्यको पर्सनल काउन्सेलिङका बेला भने केही सोच्न बाध्य बनायो। तर विपश्यना केन्द्रको गेटबाट भित्र पस्ने बित्तिकै भने त्यहाँको प्रकृति, त्यहाँ देखिएकाहरुको रुपरङ,  हाउभाउ देखेपछि यसस्थानमा आफु कुनैबेला पहिले नै आइ सकेझैं लाग्यो । तर उनि शारिरिक रुपमा यस अघि कहिल्यै आएका थिएनन् । त्यो स्थानले उनलाई पहिलो पाईलामै अपनत्व अनुभुती गरायो । आफू राम्रै ठाउँमा आएको विश्वास लाग्यो।  त्यसैले उनले जे त होस् भनी आत्मसमर्पण गरे। 

****

बलियो आत्मविश्वास

विपश्यना पाली भाषाको शब्द हो। बुद्धकालमा पाली भाषा धेरै चलेको थियो। यसको अर्थ कुनै वस्तु वास्तवमा जुन रुपमा हुन्छ त्यही रुपमा हेर्नु वा बुझ्नु हो। भन्न सजिलो हुन्छ तर गर्न गाह्रो हुन्छ। बुद्धिको स्तरबाट जानेर होइन कि अनुभूतिको स्तरबाट जान्न यसमा जोड दिइन्छ। कसैको मलामी जाँदा अहो शरीर त नश्वर रहेछ। एक दिन खरानी हुनैपर्ने हो, यस्तो क्षणभरको जीवनमा के राग, के मोह गर्नु भनेर सबैको मनमा उठ्छ। तर आर्यघाटबाट बाहिरिएलगत्तै त्यो कुरा बिर्सिइन्छ। अब यही सत्यलाई मानिसले अनुभूतिको स्तरबाट बुझ्यो भने के फरक हुन्छ, त्यही सिकाउँछ विपश्यनाले।

मनलाई सूक्ष्म नबनाएसम्म यो सम्भव नहुने भएकोले सुरुमा मनलाई सूक्ष्म बनाउने ‘आनापाना विधि’ सिकाइन्छ। त्यसपछि बल्ल विपश्यना सिकाइन्छ। वास्तवमा यो सरल हुन्छ। तर जटिल कार्यमा अभ्यस्त भएको दिमाग सरल कार्य गर्नुपर्दा कति हिच्किचाउँछ, यही विद्याको अभ्यासमा देखिन्छ। स्वर्गीय गुरु सत्यनारायण गोयन्का यसलाई ‘मनको अपरेसन’ भन्छन्। मनको अपरेसन बीचैमा कसैले नछोडून् भनेर विपश्यना सिक्न शिविरमा बस्नुअगाडि नै पटक पटक सचेत गराइन्छ। 

‘के के गर्न पाइँदैन भनेर पहिले नै जानकारी दिइएको थियो। त्यसैले डर, कौतुहलता र अलिकति अन्यौलता थियो मलाई’- रियल कुराको गजुरियल विश्लेषण गर्न खप्पिस मनोजले सुनाए। ‘वा भागि पो हाल्छु कि वा सक्दिनँ कि भन्ने पनि थियो मेरो मनमा।‘ 

तर त्योभन्दा बलियो आत्मविश्वास थियो। भने, ‘म आफैले आत्मसमर्पण गरेको थिएँ। मलाई विपश्यनाले पक्राउ गरेको थिएन, वारेन्ट काटेको थिएन। म आफै मारे पाप पाले पुण्य, जे होस् भनेर गएको थिएँ।‘ ठूला ठूला प्रशासक,  सेना र प्रहरीका उच्च पदाधिकारी, पत्रकारदेखि चिनिएका मान्छेहरु विपश्यना बसेर आएको र कसैलाई नराम्रो नभएको थाहा पाइसकेको भएर पनि उनमा आत्मविश्वास बलियो थियो। 

****

‘सि ८’

विद्या सिक्ने मुख्य कक्ष धम्महलको विशाल कोठामा उनको आसन थियो ‘सी’ लहर अन्तर्गत आठौँ नम्बरको चकटी। १० दिन यही चकटीमा बसेर उनले यो विद्याको अभ्यास गरे। बिहान चार बजेदेखि राति नौ बजेसम्मको अधिकांश अवधि यहीँ आँखा चिम्लेर दिइएको निर्देशन पालना गर्नमा सीमित हुन्थ्यो। 

हरेक एक घण्टा वा दुई घण्टाको अवधिपछि पाँच मिनेटका लागि ‘ब्रेक’ पनि दिइन्छ जसको सूचना घण्टीले दिन्छ। त्यतिबेला हलबाहिर गई पानी पिउने, ट्वाइलेट जाने, आराम गर्ने गर्न सकिन्छ। 

तर बाहिर हिँड्दा पनि उनले शीर निहुर्‍याएरै हिँडे। किनभने उनलाई काउन्सेलिङमा शाक्यले भनेका थिए, ‘तपाईँ चिनिएको मान्छे, १० दिन समय छुट्याएर जाँदै हुनुहुन्छ। यो अद्भूकत ध्यान विधि हो। त्यसैले यसको अत्याधिक लाभ तपाईँ पनि लिनुस्, अरुलाई पनि लिन दिनुस्। तपाईँ टाउको उठाएर हिँड्नुभयो भने अरुले देखेर चिन्लान् र मुसुक्क हाँस्लान्, तपाईँले पनि हाँसेर जवाफ फर्काउन परिहाल्यो। अनि तपाईँको पनि ध्यान भङ्ग, उसको पनि ध्यान भङ्ग।‘

त्यसैले त्यहाँ बसुन्जेल उनको शीर कहिले ठाडो भएन। 

अरुसँग बोल्न नपाए पनि ध्यान विधि सिक्न भने निश्चित समयमा गुरुसँग बोल्न पाइन्छ। उनलाई यो विद्या सिकाउनका लागि गुरुको आसनमा बसेका थिए, भीमवरसिंह थापा। अर्का कलाकार। दुई कलाकारको यो मिलन अनौठो परिस्थितिमा थियो। दुवै नियममा बाँधिएका थिए। दुवै श्वास र सेन्सेसनका कुरा सिक्न र सिकाउनमा मात्र सीमित थिए।   

कलाकारितामा नाम कमाएकाहरुलाई धम्महलले स्वागत गरेको यो पहिलो अवसर थिएन। मनीषा कोइराला, सञ्चिता लुइँटेल, झरना बज्राचार्यहरु विपश्यना शिविरमा बसिसकेका छन्। तर जो आए पनि यहाँको नियम उस्तै हुन्छ। कसैलाई कुनै छुट दिइँदैन। मनोजलाई पनि कसैले चिने जस्तोसमेत गरेनन्। 

शिविर सकिसक्दा बल्ल स्वयंसेवक जसलाई त्यहाँ ‘धर्मसेवक’ भनिन्छ, हरु आएर तपाईँलाई त हामीले पहिले नै चिनेको तर तपाईँको साधनामा असर पार्ला भनेर नचिनेको जस्तो गरेको भनेर भने। 

****

मनको घण्टी बज्यो

बिहान ४ बजेको घण्टीले शिविरमा बस्नेहरुलाई ब्युँझाउँछ। साढे ४ बजेसम्म धम्महलभित्र प्रवेश गरिसक्नुपर्छ र दिनको पहिलो ध्यान साढे ६ बजेसम्म दुई घण्टा हुन्छ। 

उनलाई सबैभन्दा राम्रो ब्रह्ममुहूर्तमा गरिने यही ध्यान लाग्यो। ‘बिहान ४ बजे नै उठ्न केही गाह्रो भएन त ?’  अहँ,  बरु उनको शरीर अभ्यस्त भयो। अब घण्टी बज्ने बेला भयो भन्ने जब उनलाई लाग्थ्यो, ठीक त्यही बेला घण्टी बजिहाल्थ्यो। अर्थात् साँच्चै घण्टी बज्नुअघि मनको घण्टी बजिसक्थ्यो।

साढे तीन दिन यो विद्या सिक्न ‘वार्मअप’का रुपमा आनापाना अर्थात् श्वासलाई हेरेर मनलाई सूक्ष्म बनाउन सिकाइन्छ। उनलाई विपश्यना जान प्रेरित गर्ने मध्येका एक वाम विश्लेषक श्याम श्रेष्ठले मूल्याङ्कन मासिकमा रहँदै भनेका थिए, ‘भ्रम निकै आउँछ।‘ उनी जस्ता मार्क्सवादका धुरन्धर विज्ञलाई समेत बाघ आउँछ, भालु आउँछ भन्ने भ्रम भएको थियो यो क्रममा। 

अनुभूतिको स्तर सबैको एउटै हुँदैन। र त्यो तुलना पनि हुँदैन। उनलाई भने त्यस्तो भएन। मन भाग्यो भने दमित भाव आउँछन् भनेर सचेत भएकोले उनले श्वासभन्दा बाहिर मनलाई नलगाउन भरमग्दुर प्रयास गरे। 

एक घण्टाको बसाइमा १० पटक खुट्टा चलाउनु पर्ने स्थितिबाट बिस्तारै साधनाले गति लिन थालेपछि ‘अधिष्ठान’ अर्थात् एक घण्टा हातखुट्टा नचलाई, जिउ नचलाई, आँखा नखोली स्थिर बस्दा समेत गाह्रो नभई आनन्द हुने अवस्था आयो। 
यो विधिको अर्को कुरा उनलाई हरेक साँझको प्रवचन लाग्यो। अरु जस्तै बुद्धि विलासको प्रवचन नभएर यसमा यो विधिलाई बुझाउने व्याख्या हुन्छ। 

‘भोलिपल्ट गर्नुपर्ने कामको बारेमा राति निर्देशन दिइन्छ। यस्तो पनि हुनसक्छ, त्यस्तो पनि हुनसक्छ भनेको भए दिमागमा एउटा धारणा सेट हुनसक्थ्यो। तर दिनभर गरिसकेपछि त्यसबारे रातिको प्रवचनमा भनेपछि सोध्नै नपर्ने जवाफहरु आउँछन्’, उनले भने। 
त्यहाँ बस्दा २४ घण्टामा उनी १६ घण्टा आँखा चिम्लेरै बसे। जीवनमा पहिलो पटक उनी यति धेरै समय आँखा चिम्लेर बसे। कस्तो अनुभव भयो त ?

भन्छन्, ‘आँखा चिम्लिँदाको आनन्द बाहिरको आनन्दसँग तुलना गर्नै मिल्दैन।‘

यो एउटा यस्तो ध्यान विधि हो, जसलाई आफैले गरेर नहेरेसम्म कस्तो हो थाहा पाउन सकिन्न। एक जनाले गरेको अनुभव अर्कोसँग मिल्ने र तुलना गर्न सकिने पनि हैन। यो कसैले यस्तो हो है भनेर सिकाउन सकिने पनि हैन। यसका लागि नियममा बसेर कम्तिमा १० दिन शिविरमा बस्नु अनिवार्य हुन्छ। यो अर्थमा यो चुनौतिपूर्ण पनि छ। जानेहरुले यसको लाभ उठाउँछन्। 

तर पनि जानुअघि किन बारम्बार यो विधि गाह्रो छ, नसक्ने भए फर्किनुस् भनेर तर्साइन्छ त ?

कोर्स सकिएपछि उनले त्यो पनि थाहा पाए। भन्छन्। ‘यो विधि वैज्ञानिक रहेछ। सत्य तथ्य निर्दयी हुन्छन्। तत्व बुझेपछि आनन्द प्राप्ति हुन्छ। आधिकारिकता र वैज्ञानिकता बुझाउन त्यस्तो काउन्सेलिङ राखिएको हो भन्ने बुझेँ मैले।‘

***

विश्वासै गरेनन्

४ नोभेम्बरपछि उनले एकै पटक १५ नोभेम्बरमा फेसबुक अपडेट गर्दै लेखे- ‘१० दिने विपस्यना साधना को अद्भुत अनुभूति- वैज्ञानिक, व्यवहारिक र विशेष।‘

‘विपश्यनाबारे सुन्ने बित्तिकै मैले आफ्नो जीवनमा गर्नुपर्ने ‘थिङ्ग्स टु डु’ लिस्टमा यसलाई पनि राखेको थिएँ। त्यो इच्छा यस पटक पूरा भयो,’ उनले भने र छोटो शब्दमा आफ्नो अनुभव पनि निस्केकै दिन पोखे। 

‘सर, १० जना मान्छे बसेका छौँ यहाँ, मनोज गजुरेलले विपश्यना गर्‍यो’ भन्दा कसैले पत्याउनु भएन। एकचोटी कुरा गरिदिनुस् त।‘ अस्ति भर्खरै एक जना शुभचिन्तकले मोबाइलमा यस्तो आग्रह गरे। ‘म विपश्यना गएर फर्किएँ भन्दा कति जनाले विश्वासै गर्न सकेनन्’ , उनले भने। 

स्टेजमा उत्रने बित्तिकै दर्शकलाई हँसाइ हाल्न खप्पिस त उनी छन् नै । ठट्यौलो स्वभावका कारण स्टेज तल सामान्य कुराकानीमा पनि कुत्कुत्याउन सफल हुन्छन्। ‘यस्तो चन्चल मान्छे १० दिन नबोली, नचली स्थिर कसरी बस्न सक्छ ?’ धेरैले यस्तै सोच्छन् होला। मेरो पेशा पो हँसाउने त। मलाई पनि चित्त दुख्छ, मलाई पनि पीडा होला, घृणा होला, रिस होला, आगो होला, राग होला। म पनि अरु मान्छे जस्तै हुँ तर मेरो चाहिँ संसारै हँसाउने होला भन्ने भ्रम हुँदो रहेछ’, उनले सुनाए। 

१० दिन लामो लागेन त ?

'छोटो पो लाग्यो', नवौँ दिनको दिन अहो भोलि त १० औँ दिन। बल्ल त गहिराइमा पुगेको, अझै केही दिन बस्न पाए हुन्थ्यो भन्ने पो लाग्यो मलाई त।'
 
विपश्यनाले जोगी बन्न हैन, जीवन हाँसीखुशी बाँच्न अर्थात् जीवन जिउने र आनन्दले मर्ने कला सिकाउँछ। राग र द्वेष बिना आफ्नो काम गर्न सिकाउँछ। ओशोले एउटा प्रवचनमा भनेका छन्- मान्छेको दिमाग जटिल काम गर्न अभ्यस्त हुन्छ, त्यसैले साधारण काम गर्न गाह्रो महसूस हुन्छ। विपश्यना त्यस्तै साधारण किसिमको ध्यान हो, श्वासलाई महसूस गरेर अन्तरमनको गहिराइमा पुग्ने। काम सजिलो तर गर्न गाह्रो। तर जो १० दिने ध्यान शिविरमा बस्छन्, उसले एउटा फरक किसिमको अनुभव पक्कै गरेर फर्कन्छ। यथाभूत ज्ञान दर्शन अर्थात् जे हो, त्यसको ज्ञान पाएर फर्कन्छन्। अत्ता हि अत्तनोनाथो अर्थात् ‘आफ्नो मालिक आफै’ ज्ञान पाउँछन्। 

विपश्यना गएपछि मनोज गजुरेलबाट हाँसो नआउने होला भन्नेहरु पनि छन् नि? जवाफमा मनोज भन्छन्, ‘अब झन् प्रभावकारी हास्यव्यङ्ग्य आउँछ, ढुक्क हुनोस्। फरक यति हो , पहिले बुद्धिको सतहबाट सिर्जना आउँथ्यो भने अब अनुभूतिको तहबाट आउँछ।‘ 

तपाईँलाई पनि विपश्यना बारे थप जान्न इच्छा भए नेपाल विपश्यना केन्द्रको वेबसाइटमा थप जानकारी र सम्पर्क ठेगाना छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal