PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

यी हुन् सस्तैमा जग्गा पाइने उपत्यकाका १० स्थान



यी हुन् सस्तैमा जग्गा पाइने उपत्यकाका १० स्थान

काठमाडौं : राजधानी भन्नेबित्तिकै अग्ला र बाक्ला घर भएको महँगो ठाउँ बुझिन्छ। तर, उपत्यकामा महँगो मात्र होइन बाहिरका धेरै जिल्ला सदरमुकाम भन्दा सस्तो जग्गा पनि छन्।
 
तराईका मुख्य राजमार्ग चितवनमा प्रति कठ्ठा एक करोड ३० लाख, कैलालीमा ७१ लाख, दाङमा ७८ लाख र विराटनगरमा ८० लाख रुपैयाँसम्म सरकारी मूल्याङ्कन छ भने काठमाडौँमा आनाको १० हजारसम्म मूल्याङ्कन भएका जग्गा पनि छन्।
 
उपत्यकाका मालपोत कार्यालयहरुको तथ्यांकअनुसार सर्वाधिक कारोबार हुने १० ठाउँ निम्न छन्।
 

थानकोट

थानकोट काठमाडौंको प्रवेशद्वार हो। गत आर्थिक वर्षको तथ्याङ्कमा कलंकी मालपोत कार्यालयले १८ हजार घरजग्गाको कारोबार गर्दा सर्वाधिक किनबेच हुने ठाउँ थानकोट थियो। थानकोटका पनि त्रिभुवन पार्क, चुनीखेल, खरिबोट, इमाखेल, गुर्जुधारा, मातातीर्थ, चेकपोस्ट लगायतका ठाउँ जहाँ सरकारी मुल्याङ्कन प्रतिआना गोरेटो बाटोमा एक लाखदेखि पक्कीबाटोमा ३ लाख २५ हजार रुपैयाँसम्म छ। यिनै ठाउँमा धेरै घरजग्गा किनबेच भएका छन्।
 
चल्तीको कारोबार भने आनाको ५ लाख रुपैयाँदेखि माथि छ। थानकोट, रत्नपार्क देखि १४ किलोमिटरको दुरीमा पर्छ। थानकोट क्षेत्रको न्युनतम मूल्याङ्कन भने प्रतिआना ५० हजार देखि ८ लाख ५० हजार रुपैयाँसम्म छ।
 

कीर्तिपुर

कलंकी मालपोतबाटै कारोबार हुने कीर्तिपुरमा पनि घरजग्गाको कारोबार तीव्र रुपमा बढेको छ। बाहिरी चक्रपथले छुने भएपछि मच्छेगाउँ, भत्केपाटी र चोभारमा जग्गा किनबेच वृद्धि भएको हो। सरकारी मूल्याङ्कन प्रतिआना गोरेटो बाटोमा एक लाख ५० हजारदेखि पक्की बाटोमा ३ लाख २५ हजार रुपैयाँसम्म कायम गरिएको छ। कीर्तिपुर रत्नपार्कदेखि १० किलोमिटरको दुरीमा पर्छ। कीर्तिपुर क्षेत्रको न्युनतम मूल्याङ्कन भने प्रतिआना ५० हजार देखि १२ लाख रुपैयाँसम्म छ।
 

बुढानीलकण्ठ

गत वर्ष चाबहिल मालपोत कार्यलयले १४ हजार घरजग्गा कारोबार गर्दा धेरै किनबेच हुने ठाउँ थियो बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाभित्र कपन, चुनिखेल, विष्णु, लगायतका ठाउँमा धेरै जग्गा किनबेच भएका थिए। सरकारी मुल्याङ्कनमा प्रतिआना गोरेटो बाटोमा एक लाख ५० हजारदेखि पिच सडकमा ५ लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएका जग्गा बढी किनबेच भएका थिए।
 
उक्त ठाउँमा चल्तीको कारोबार भने प्रतिआना ५ लाखदेखि माथि छ। बुढानीलकण्ठ, रत्नपार्कदेखि १० किलोमिटरको दुरिमा पर्छ। बुढानीलकण्ठमा न्यूनतम मूल्याङ्कन भने प्रतिआना एक लाख देखि ९ लाख रुपैयाँसम्म छ।
 

गोदावरी, ललितपुर

ललितपुरमा गत वर्ष २२ हजार घरजग्गा किनबेच हुँदा सबैभन्दा बढी कारोबार भएको ठाउँ हो गोदावरी नगरपालिका।
 
गोदावरी नगरपालिकाभित्र परेका गोदावरी, ठैव र बडिखेलमा प्रतिआना गोरेटो बाटोमा ५० हजारदेखि  पिच सडकमा ४ लाख रुपैयाँसम्म सरकारी मूल्याङ्कन भएका जग्गा धेरै किनबेच भएका थिए। गोदावरी रत्नपार्कदेखि १४ किलोमिटरको दुरीमा पर्छ। गोदावरी क्षेत्रको न्युनतम मूल्याङ्कन भने प्रतिआना १० हजारदेखि ५ लाख रुपैयाँसम्म छ।
 

सूर्यविनायक, भक्तपुर

भक्तपुर मालपोतले गत वर्ष २७ हजार घरजग्गा कारोबार गर्दा धेरै कारोबार हुने ठाउँ सिपाडोल थियो। सिपाडोल अहिले सूर्यविनायक नगरपालिकामा पर्छ। सूर्यविनायक नगरपालिकाभित्र पर्ने कटुन्जे, सिपाडोल लगायतका ठाउँमा प्रतिआना गोरेटो बाटोमा ५० हजारदेखि पिच सडकमा ४ लाख रुपैयाँसम्म सरकारी मूल्याङ्कन रहेका जग्गाको कारोबार धेरै भएको थियो। सूर्यविनायक रत्नपार्कबाट १७ किलोमिटर टाढा पर्छ। सूर्यविनायक क्षेत्रमा न्युनतम मूल्याङ्कन भने प्रतिआना १० हजारदेखि १३ लाख २० हजार रुपैयाँसम्म छ।
 

मनमैजु

मनमैजु क्षेत्रमा साँग्ला र काभ्रेस्थलीमा सबैभन्दा बढी जग्गाको कारोबार भएको छ। गत वर्ष मनमैजु मालपोतमार्फत ८ हजार जग्गा किनबेच हुँदा साँग्ला, मनमैजु र काभ्रेस्थलीमा प्रतिआना गोरेटो बाटोमा ३५ हजारदेखि पिच सडकमा ५ लाख रुपैयाँसम्म मूल्याङ्कन भएका जग्गा नै बढी कारोबार भएका थिए। मनमैजुमा धेरै कारोबार हुने यी क्षेत्र, रत्नपार्कदेखि १२ किलोमिटरसम्मको दुरीमा पर्छन्।
 
मनमैजुमा गत वर्षको कारोबार धेरै भएका ठाउँमा यो वर्ष सरकारी मूल्याङ्कन वृद्धि गरी १० हजार देखि १३ लाख रुपैयाँ प्रतिआनासम्म कायम गरिएको छ।
 

साँखु

साँखु मालपोत कार्यलयमा गत वर्ष ८ हजार जग्गा किनबेच भए। गत वर्ष ती ठाउँको सरकारी मूल्याङ्कन गोरेटो बाटोमा ३० हजारदेखि पिच बाटोमा ४ लाख रुपैयाँसम्म थियो। सबैभन्दा बढी किनबेच भएका ठाउँ सुनटोल, नयाँपाटी, साँखु लगायतमा यो वर्ष मूल्याङ्कन बढाई प्रतिआना ५० हजार देखि ५ लाख रुपैयाँसम्म पुर्‍याइएको छ।
 
साँखु रत्नपार्कदेखि २१ किलोमिटरको दुरीमा पर्छ। साँखु क्षेत्रको न्युनतम मूल्याङ्कन भने १० हजारदेखि ९ लाख रुपैयाँ प्रतिआनासम्म कायम गरिएको छ।
 

लामाटार, ललितपुर

महालक्ष्मी नगरपालिकाभित्र पर्ने लामाटार, टीकाथली र इमाडोलमा पनि घरजग्गाको कारोबार धेरै भएको थियो। लगनखेल मालपोतबाट कारोबार हुने लामाटार क्षेत्र रत्नपार्कदेखि १४ किलोमिटर दुरीमा पर्छ। यो ठाउँमा प्रतिआना गोरेटो बाटोमा ५० हजारदेखि पिच सडकमा ४ लाख रुपैयाँसम्म मूल्याङ्कन गरिएका जग्गा धेरै किनबेच भएका थिए। महालक्ष्मी नगरपालिकामा न्युनतम मूल्याङ्कन भने प्रतिआना १० हजार देखि ९ लाख ५० हजारसम्म कायम गरिएको छ।
 

गोठाटार

गोठाटारमा गोरेटो बाटो मात्र पुगेको ठाउँमा प्रतिआना २ लाखदेखि पिच सडकमा ७ लाख रुपैयाँसम्म सरकारी मूल्याङ्कन भएका जग्गाको कारोबार धेरै भएको थियो। चाबहिल मालपोत कार्यलयले कारोबार गर्दै आएको गोठाटार क्षेत्रमा यो वर्ष मूल्याङ्कन भने बढाइएको छैन। त्रिभुवन विमानस्थलको पछाडि रहेको गोठाटार रत्नपार्कदेखि १० किलोमिटरको दुरीमा पर्छ। गोठाटारमा न्युनतम मूल्याङ्कन प्रतिआना २ लाखदेखि ११ लाख रुपैयाँसम्म छ।
 

सीतापाइला

सीतापाइला क्षेत्रमा गत वर्ष गोरेटो बाटोमा प्रतिआना १ लाख ५० हजारदेखि पिच सडकमा ५ लाख ५० हजार रुपैयाँसम्म सरकारी मूल्याङ्कन भएका जग्गा धेरै किनबेच भए। नागार्जुन नगरपालिकाभित्र पर्ने स्युचाटार र सीतापाइला क्षेत्रमा जग्गा खरिदकर्ताको आकर्षण बढेको देखिन्छ।
 
स्युचाटार रत्नपार्कबाट ७ किलोमिटर दुरीमा पर्छ। यो क्षेत्रको न्युनतम मूल्याङ्कन भने प्रतिआना ७० हजारदेखि आठ ८ लाख रुपैयाँसम्म छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell