PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

​एकता दिवसको काउन्टर : कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई सम्झँदै थुकियो



पहिलोपोस्ट

​एकता दिवसको काउन्टर : कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई सम्झँदै थुकियो

काठमाडौँ : पृथ्वीनारायण शाहको सम्झनामा काठमाडौँ महानरपालिकामा 'राष्ट्रिय एकता दिवस' मनाई रहँदा नजिकैको कीर्तिपुर नगरपालिकाको डाँडामा भेला भएका केही स्थानीय यो दिनलाई अर्कै किसिमले सम्झँदै थिए। उनीहरुले पृथ्वीनारायण शाहलाई सम्झँदै त्यहाँको छ्याकेढुङ्गामा सामूहिक रुपमा थुके।

सिंहदरबारको गेट अगाडि पृथ्वीनारायणलाई सम्झँदै उनको सालिकमा माल्यार्पण भइरहँदा कीर्तिपुरमा भने युद्धका क्रममा उनी लडेको स्थानमा पूजा भयो। 

हेर्नुस् भिडियो-



कीर्तिपुरको ओरालोमा एउटा ढुङ्गा संरक्षित छ। त्यो छ्याकेढुङ्गामा बुधबार केही स्थानीयले जम्मा भएर थुके। नेपाल एकीकरणमा काठमाडौँ विजय गरेपछि पृथ्वीनारायण शाह बसन्तपुरस्थित दरबारमा बसे। यो ठाउँबाट दरबार देखिने भएकोले त्यतिबेलादेखि नै त्यहाँ थुक्ने चलन छ। 

स्थानीय श्रीकृष्ण महर्जनले पहिलोपोस्टसित भने - 'युद्धका बेला नाक, कान काट्ने जस्तो अमर्यादित काम भयो, महिला र बालबालिकामाथि आक्रमण भयो। यस्तो मान्छे राजगद्दीमा बसेको छ। त्यो छ्याके ढुङ्गा जस्तै पृथ्वीनारायण शाह नालायक भनेर देखाउन उनी बस्ने बसन्तपुर दरबारतिर हेर्दै थुक्ने काम त्यतिबेलादेखि चलनमा आएको हो।' 

उनका अनुसार पञ्चायत कालमा यो ठाउँमा थुक्दा प्रहरीले पक्रने गरेको थियो। गणतन्त्र आइसकेपछि पुनः थुक्ने क्रम सुरु भएको हो। 

कीर्तिपुरबासीले आजै अर्को एक स्थानमा भने पूजा गरे। देवढोका अगाडि रहेको ढुङ्गामा कीर्तिपुरका सेनाले पृथ्वीनारायणलाई लखेट्दा उनी चिप्लिएका थिए। शाहलाइ मार्न एक सैनिकले हतियार उठाएका थिए। तर अर्का सैनिकले भने 'राजालाई राजाले मात्र मार्नुपर्ने' भन्दै छाड्न भने। उनीहरुले अहिले पनि त्यो ढुङ्गामा पुजा गर्ने गरेका छन्। 

स्थानीय महर्जन भन्छन्, 'हाम्रो लागि यो ढुङ्गा देउता सरह हो'  भनेर पूजा गर्ने गरेका छौँ। 

अर्का स्थानीय नजरराम महर्जन अहिले पनि पृथ्वीनारायण शाहलाई सराप्नुको कारण खुलाउँदै भन्छन् – 'उनले एकीकरण गरेका थिएनन्। राज्य विस्तार गरेका थिए। नत्र हाम्रो भाषा र संस्कृति एकीकरणपछि पनि कायम रहन्थ्यो होला। एक भेष र एक भाषाको नीति लागू हुन्नथ्यो होला।' 
महर्जन नेपालको संविधानले स्वायत्त र विशेष क्षेत्रको व्यवस्था गरेको भए पनि स्थानीय तह पुन: संरचना आयोगले त्यसलाई अस्वीकार गरेको भन्दै विरोध जनाए। 

कीर्तिपुरवासीको थुक्ने कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महासंघले समेत समर्थन गरेको छ। बुधबार महासंघको प्रतिनिधि बनेर कीर्तिपुर पुगेका सुरविर थामीले पृथ्वीनारायण शाह युद्ध अपराधी भएको तर्क गरे। उनले युद्धको नियम पृथ्वीनारायण शाहले नमानेको र धेरै ठाउँमा राष्ट्रिय एकता दिवसको विरोधमा कालो दिवस मनाउने गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell