PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

​नारायणहिटीबाट बाहिरिनुको कारण खुलाउँदै पूर्वराजा ज्ञानेन्द्रले नयाँ विज्ञप्तिमा लगाए सात गम्भीर आरोप



​नारायणहिटीबाट बाहिरिनुको कारण खुलाउँदै पूर्वराजा ज्ञानेन्द्रले नयाँ विज्ञप्तिमा लगाए सात गम्भीर आरोप

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ को पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै आफू नारायणहिटी राजदरबारबाट बाहिरिनु पर्ने कारणसहित गम्भीर आरोपहरु लगाएका छन्। 

‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालीक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं’, विज्ञप्तिमा ज्ञानेन्द्रले भनेका छन्,  ‘तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं।‘

उनको विज्ञप्तिका सात प्रमुख बुँदा

  • यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नू हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको छ। 
  • चार वर्ण छत्तीस जातको साझा फूलबारीको रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन्। 
  • यसैगरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ।
  • स्मरणीय छ, नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यस मुलुकमा तत्कालीक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं। दशक नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं। 
  • देश कसैको क्रिडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीहरूले एकतावद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ भन्ने हाम्रो धारणा रही आएको छ। 
  • नेपाली भनेका जो जहाँ रहे बसे पनि नेपाली नै हुन्। देशमाथि संकट आइपर्दा कसरी एकतावद्ध हुन्छन् भन्ने हामीले उदाहरण बन्नु परेको छ। विश्व समूदाय, समृद्धि प्राप्तिको निमित्त प्रतिस्पर्धा गरिरहंदा हामी भने थप विपन्नतातर्फ अग्रसर हुँदैछौँ। विश्वमा राष्ट्रवादी भावनाको जागरण आउंदै गरेको वर्तमान सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथि नै आंच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं। यस्तो दुःखद र विडम्वनापूर्ण अवस्थाको अन्त्य हूनै पर्दछ।
  • राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजका एक नेपाली हुनुका नाताले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डामुनि गोलवद्ध हुन आह्वान गर्दछु। 
यसअघि गएको पुस ६ गते बिना कुनै अवसर विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमश धुमिल पारिएको भन्दै क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी आदी शब्दको भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असैह्य बनिरहेको बताएका थिए। 

उनको यो विज्ञप्तिपछि मन्त्रिपरिषद्को बैठकमा दरबार हत्याकान्डको पुनः छानबिन गर्नेबारे समेत छलफल भएको थियो। 

त्यसअघि विजयादशमीको अवसरमा निकालिएको विज्ञप्तिमा भने उनले केही प्रश्न सोधेका थिए। उनले राखेका प्रश्नहरु यस्ता थिए-
  • राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त?
  • भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहिनताको अन्त्य गरी जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त?
  • विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने बतातावरण बनाइयो त? परिपक्क परराष्ट्र नीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त?
  • घरपरिवार छाडेर पराया भूमिमा पसिना बगाउनपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त?
  • अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो या जनताका निम्ति केके गरिए?
विक्रम संवतको नयाँ वर्षको अवसरमा जारी गरिएको कडा भाषाको विज्ञप्तिमा भने उनले पाँच आरोप र चार सुझाव दिएका थिए। 
  • सम्बन्धित समाचार

ज्ञानेन्द्र र कृष्ण सिटौलाको त्यो ५५ मिनेटको भेट, जसले राजा नारायणहिटी छाड्न राजी भए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell