PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म्याग्दीमा खुल्यो 'धौलागिरि सेन्चुरी ट्रेक', एक सातामा चार हजार मिटर उचाइको पदयात्रा



पहिलोपोस्ट

म्याग्दीमा खुल्यो 'धौलागिरि सेन्चुरी ट्रेक', एक सातामा चार हजार मिटर उचाइको पदयात्रा

काठमाडौं : म्याग्दीमा 'धौलागिरि सेन्चुरी ट्रेक' नयाँ पदमार्ग खुलेको छ। धौलागिरि हिमाल प्रथमको दक्षिणी आधार शिविरसम्म पुग्ने यो नयाँ पदमार्ग पहिचान गरिएको हो।
 
म्याग्दी उद्योग वाणिज्य संघको पहलमा सात दिन लामो नयाँ पदमार्ग खुलाएको संघका अध्यक्ष जीवनवहादुर विश्वकर्माले बताए।
 
म्याग्दी सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ।
 
काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ। घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनुपर्छ।
 
उक्त पदमार्गको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बिहीबार एक कार्यक्रमका बीच सुरुवात गरे।
 
उद्घाटन कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा संघले धौलागिरि पदमार्गमा खिचिएका तस्बिर तथा भिडियोको समेत प्रदर्शनी गरेको थियो।
 
धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अबस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले बताए। काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न सात दिन लाग्ने जनाइएको छ।
 
नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेनन्सिज एसोसियशन अफ नेपाल (टान), गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल, गैरआवासीय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएको संघका अध्यक्ष विश्वकर्माले बताए।
 
यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ। सिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पछ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको अध्येता सुरेन्द्र रानाले बताए। यो पदमार्ग चार हजार मिटर उचाइमा छ।
 
संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी ट्रेकको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell