PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एमाले अध्यक्ष केपी ओली - किशोर नेपाल वार्ता : त्यस्ता स्याल कराउने, फ्याउरा कराउनेमा के टिप्पणी गर्नु



पहिलोपोस्ट

एमाले अध्यक्ष केपी ओली - किशोर नेपाल वार्ता : त्यस्ता स्याल कराउने, फ्याउरा कराउनेमा के टिप्पणी गर्नु

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली औपचारिक अन्तर्वार्ताका लागि होइन, अनौपचारिक वार्ताका लागि तयार थिए। उनीसँग वार्ताको यो संयोग मिलेको थियो सोमबार साँझ। म आफ्ना सहयोगी ऋषिकेश दाहाल, मनोज सत्याल र छायाँकार इलिट जोशीलाई लिएर ओली निवास बालकोट पुगेको थिएँ। हामी त्यहाँ पुगेर केही बेरको प्रतीक्षापछि केपीसँग भेट भयो। केपी र म आमने–सामने थियौं। वार्ता अनौपचारिक हिसाबले शुरु भयो। सहयोगीहरुले रेकर्डर निकाले,  इलिट फोटो खिच्न तयार भए। क्यामरा उठेपछि केपीले एक्कासी भने, मैले यो टोपीमा तस्वीर खिच्ने गरेको छैन। रेकर्डर राखेकोमा उनको आपत्ति थिएन। यतिमात्र कि यो अन्तर्वार्ता नभएर वार्ता थियो।

मंगलबार बिहान एमालेका सचिव प्रदीप ज्ञवालीको फोन आयो। उनले भने, हिजोको वार्तालाई अन्तर्वार्ताका रुपमा प्रस्तुत नगरिदिनु होला। सन्दर्भमा लिएर वार्ताका रुपमा प्रयोग गर्दा हुन्छ। ओलीसँग अन्तर्वार्ता लिएपछिका तनावहरु धेरै थिए। ती तनावहरु म पाठकहरुसँग कुनै अर्को समयमा शेयर गर्न सक्छु। अहिलेका लागि तनावका बीचमा प्रस्तुत छ ओलीसँग सोमबार साँझ भएको मेरो वार्ता 
 
 
किशोर नेपाल : तपाईंले हाल लिनुभएको रणनीति निकै अप्ठेरो छ। होइन र?

केपी ओली : हो। अलिकति अप्ठेरो छ। यस अप्ठेरोको पछाडि इतिहासका पाठहरुले हामीलाई केही केही सिकाएका छन्। यस मामिलामा म अलिकति सजग रहनुपर्छ भन्ने ठान्छु। राष्ट्रहरुको उदय र विलय हुने सिलसिला अहिले पनि जारी छ। १९४७ मा भारतको उदय भएपछि ‘५३ मा राजतन्त्र सहितको काश्मिरको विलय भयो। ‘७१ मा बंगलादेश नयाँ राष्ट्रको उदय भयो। ‘७४ मा सिक्किम नामको एउटा अर्को राष्ट्रको विलय भयो। यस्ता कतिपय ठाउँमा भैराखेका छन्।

किशोर नेपाल : भुटानलाई यसमा जोडनुहुन्न?

केपी ओली : भुटान अहिले पनि छुट्टै राष्ट्र छँदैछ। युएनको सदस्य राष्ट्र हुँदै हो। जुन मौका कश्मिरले पाएको थिएन। कश्मिर इण्डियामा मिलाइँदा (यो युएनको सदस्य थिएन।)

किशोर नेपाल : नेपाल युएनको सदस्य छ नि?

केपी ओली : त्यतिखेर युएनमा नेपाल थिएन। भुटान पनि थिएन। युएनको सदस्य हुनु एउटा कुरा हो। युएनको सदस्य हुनुले एउटा लिगल स्ट्याटस दिन्छ। तर फेरि पनि देशको अस्तित्व चाँही लोप हुने वा पैदा हुने भैराखेको छ। टिमोर पछिल्लो समयमा आएर विलय भयो। झण्डै झण्डै सिक्किमको जस्तो... ..यो अन्तर्वार्ता होइन। तपाईँहरुले परिप्रेक्ष्य बुझ्नुस् भनेर गरेको कुराकानी मात्रै हो। तपाइँहरुको दिमागमा केही पसेछ भने ठीकै छ। पसेनछ भने छाड्दिनुहोस्... ..उस्तै उस्तै सिलसिला। सिक्किम गाभिएपछि सिक्किम कांग्रेसले अलि अलि आन्दोलन ग¥यो। ‘७३ को निर्वाचनमा लेण्डुप दोर्जेले २ सिट ल्याए। त्यस निर्वाचनलाई छिमेकी भारतले नोटिसमा लियो। सबैलाई मिलाएर पो लैजानुपर्छ त भन्यो। चुनाव बदर भयो। फेरि चुनाव भयो। ३२ मध्ये ३१ सिट लेण्डुप दोर्जेको पार्टीले जित्यो। एउटा सिट कसरी विपक्षमा आयो? कब्जा नै भएको नभनुन् भन्नका लागि एक सिट विपक्षीको पनि आयो।

संविधानसभाको निर्वाचन। राजतन्त्र विरोधी आन्दोलन भयो। राजाको बडीगार्ड हो क्यारे कर्नेल नामङ्ग्याल। उसले चिनेका सिक्किमेहरु त जुलुसमा छैनन्। दुई लाख भएको ठाउँमा सिभिल ड्रेसमा एक लाख आएर जुलुस गरेपछि जे बाटो समाउन खोजिएको थियो, त्यो बाटो समातियो। जुलुस भयो। सिभिल ड्रेसका मान्छेहरुबाट। अलि अलि गाउँले टाइपका मान्छेहरु दार्जिलिङबाट ल्याइयो। सिक्किमकाहरु खासै सहभागी भएनन्। किनभने उनीहरुले निर्वाचन–सिर्वाचन हेरेपछि यो त तमासै भएको देखे। एउटा देशको हैसियतको धज्जी नै उड्यो भनेपछि जुलुसमा सहभागी भएनन्। दार्जि्लिङबाट अलि अलि मान्छे ल्याइए। बाँकी सिभिल ड्रेसकै मान्छे भए। त्यो त्यत्रो गाह्रो कुरा थिएन। कसैलाई काजमा सिभिलमा खटाइदिन सकिन्थ्यो। संवैधानिक निर्णय भयो।


किशोर नेपाल : अहिले त्यही थियो त? तपाईँ प्राइम–मिनिस्टर हुनुहुन्थ्यो अस्तिसम्म। तपाईँले त्यस्तै अब्जर्भ गरिराख्नुभएको थियो अस्तिसम्म? होइन?

केपी ओली : त्यसैगरी त नभनौँ। तर म बुझ्दछु।

किशोर नेपाल : तपाईँ त प्रधानमन्त्रीको हैसियतले इण्डिया पनि जानु भयो। सम्झौता पनि गर्नुभयो त्यहाँको सरकारसँग। त्यतिबेला के थियो तपाईँको मनमा ?

केपी ओली : मैले सम्बन्ध सुधार्न खोजेँ।

किशोर नेपाल : हैन, तपाईँको भनाइले विलयको तस्वीर त आँखामा रहेछ नि, प्रष्टै। त्यस्तोमा सम्बन्ध कसरी सुध्रन्छ?

केपी ओली : हैन-हैन। यस्तो छ, इच्छा हुनु बेग्लै हो। तर त्यो इच्छा पूरा हुने कि नहुने अर्को कुरा हो। अहिले यो विलयको कुरा अलि पछाडि जाला। यहाँ तराईलाई एकप्रकारको बफर जोन जस्तो बनाइन्छ।


​अहिले पाँच नम्बर (प्रदेश) को कुरा आएको छ। दुई नम्बर त हामीले दिइसक्यौँ। गल्ती गरिसक्यौँ। त्यो गल्ती भैसक्यो। पाँच नम्बरमा गल्ती सच्यायौँ। दुई नम्बरमा पनि सच्याउनु पर्थ्यो। पाँच नम्बर सच्याउने कुरामा मैले कांग्रेसलाई मनाउन सकेँ। दुई नम्बर सच्याउने कुरामा मनाउन सकिनँ जसले गर्दा त्रुटिपूर्ण विभाजन भयो दुई नम्बर प्रदेशको।
 

किशोर नेपाल : तपाईँहरुले रातारात बनाउनु भएको हो नि त संविधान?

केपी ओली : सात वर्ष, आठ वर्ष लगाउँदा पनि रातारात ? कहाँ हुनुहुन्थ्यो तपाइँ। रातारात। यत्रो आठ वर्ष लगाउँदा।

किशोर नेपाल : पछिल्लो पटक त तपाइँले आठै घण्टामा सक्नुभयो नि?

केपी ओली : के भनेको तपाईँले? भोटिङ भयो। एकछिन पख्नुस्, तपाईँ जस्तो एउटा इन्टलेक्चुअल... 

किशोर नेपाल : तपाइँ र सुशील कोइरालाजी र देउवाजी। अनि प्रचण्ड जी र बाबुरामजी तपाईँहरु एकै ठाउँमा हुनुहुन्थ्यो संविधान बनाउँदासम्म त। कहीँ जानु भएको थिएन। एकै ठाउँमा हुनुहुन्थ्यो।

केपी ओली : भनेको के?

किशोर नेपाल :  तपाईँहरु एकै ठाउँमा हुनुहुन्थ्यो!

केपी ओली : दुई वटा संविधानसभा। पहिलोले चार वर्ष काम गर्‍यो। त्यसलाई असफल बनाइयो। असफल किन भयो ? कसरी भयो ? तपाईँहरु जस्तो इन्टलेक्चुअलले कुन फ्याक्टरले काम गर्‍यो भन्ने थाहा पाउनुपर्छ। मेरो आग्रह के छ भने तपाईँहरुले यथार्थमा अवस्था कस्तो छ भित्र भैराखेको के हो बुझ्नु पर्छ। बहकिनु हुँदैन। यो प्रश्न कसले जित्छ कि हार्छ जस्तो होइन।

राष्ट्रियताको सवाल हो। हामीले भारतसँग कुनै चिज मागेको छ? यो गर्देउ त्यो गर्देउ भनेर भनेको छ ? हामीले उनीहरुका विरुद्ध कुनै थिचोमिचो, अन्याय गरेका छौँ केही ? हामीले भनेका छौँ – उनीहरुका सम्पूर्ण जायज चासोलाई हामी सम्बोधन गर्छौँ भनेर। अनि उनीहरुले हामीले संविधान जारी हुँदा नोटिसमा लिने किन? दुनियाँले संविधान जारी गर्दा त्यसलाई राम्रो कदम भन्छ। अलिक अगाडिसम्म मोदी आउँदा राम्रो कदम भनेको हो। संविधानसभाको आवश्यकता र औचित्यमा। अनि अलिपछि संविधान जब जारी भयो तपाईँले बहकावको कुरा गर्नुभयो एउटा।
संविधानसभाको गठन र पहिलो बैठक २०६५ साल जेठ १५ गते बस्यो। २०७२ साल असोज ३ गते संविधान जारी भयो।

यसबीचमा त्यो संविधानसभा र त्यसले संसदको समेत काम गर्ने प्रसङ्गमा थुप्रै काम अगाडि बढायो। तर त्यसलाई असफल बनाइयो।
पहिलो असफल बनाउने, फेरि दोश्रो निर्वाचन गर्ने, फेरि संविधान अस्वीकार गर्ने जस्ता कुराहरु भए। मैले अघि नै तपाईँलाई हिस्ट्री पनि भनेँ। यस्तो भएको छ। यसप्रति हामी अलिकति सजग भएनौँ।
 
किशोर नेपाल : तपाईँ चार दलका नेताहरु एकै ठाउँमा हुनुहुन्थ्यो। 

केपी ओली : भनेको के?

किशोर नेपाल : संविधान जारी गर्दासम्म एक ठाउँमा हुनुहुन्थ्यो। तपाईँहरुले संयुक्त रुपमा भारतीय सचिव (विदेश सचिव एस जयशंकर) को  दबाब मान्नुभएन। यो कुरा प्रेसमा आइसेको छ। त्यसपछि तपाईँहरु ..

केपी ओली : त्यो विशेष दूत पठाउने कदम पनि गलत थियो। समय पनि गलत थियो। त्यो विशेष दूतका जुन कुराहरु थिए त्यो पनि गलत थियो।

नेपालको संविधानसभाले अत्यधिक संख्याबाट संविधान बनाउने भो भन्नेभएपछि विशेष प्रभाव पार्न दूत पठाइयो। त्यो टाइमिङ पनि थिएन। सबैभन्दा पहिला उनले म सँग भेटेका थिए। मैले उनीसँग भेटेँ। मैले मसिनो गरी सबैकुरा बताएँ। र हाम्रा सम्बन्धहरु वास्तविक सम्बन्धहरु हुनुपर्छ र हामीले थिचिएको मिचिएको हेपिएको पेलिएको महसुस गर्ने यस्तो स्थिति हुनुहुँदैन। हामी बोल्न नसक्ने खालको स्थिति हुनु हुँदैन भनेँ। अलिकति केही देशको हितमा बोल्यो भने – तपाईँहरुले पनि भन्नुहुन्छ नि कहिलेकाँही खोक्रो राष्ट्रवाद- के जाति के जाति भन्नुहुन्छ नि। अलिकति देशको हितमा बोल्यो भने खोक्रो राष्ट्रवाद हुने? अलिकति देशको हितमा बोल्यो भने महेन्द्रीय राष्ट्रवाद हुने? अनि यस्ता कुरा प्रायोजित खालका हुन्। राष्ट्रवाद भनेको आइडोलोजी भन्दा फरक कुरा हो।

राष्ट्रवाद भनेको कांग्रेस होस् कि कम्युनिष्ट होस् कि अर्को होस् कि हिजोको राजसंस्था होस् कि गणतन्त्रवादी नेता हुन् कि वीपी कोइराला हुन् कि पुष्पलाल हुन् कि गणेशमान हुन् कि महेन्द्र हुन् कि जो हुन् उनीहरुको राष्ट्रियताको सवालमा के छ दृष्टिकोण? भन्ने मुख्य हो।
हामी शासन प्रणालीको कुरा कुरा गरिराखेको छैनौँ। शासन प्रणालीको कुरा गरेको भए एउटा कुरा हुन्थ्यो।


किशोर नेपाल : त्यसो भए, अहिले नेपालको राष्ट्रियता माथि सबैभन्दा ठूलो खतरा छ। तपाईँको कन्क्लुजन यही हो नि?

केपी ओली : सबैभन्दा ठूलो भन्नुहुन्छ कि भन्नु हुन्न। तपाईँलाई कस्तो लाग्छ?

किशोर नेपाल : मलाई त केही पनि लाग्दैन।

केपी ओली : केही पनि लाग्दैन?

किशोर नेपाल : तपाईँहरु सँगै बस्नुहुन्छ। झगडा गर्नुहुन्छ। छुट्टिनुहुन्छ। २० औँ वर्षदेखि हामीले देखिराखेका छौँ। कहिले तपाईँको र सुशील कोइरालाको बीचमा भद्र सहमति उल्लंघन हुन्छ। कहिले तपाईँको र प्रचण्डजीको बीचमा त्यस्तै हुन्छ। भोलि तपाईँको र शेरबहादुरजीको बीचमा यस्तै होला। तपाईँहरु यसरी झगडा गरिराख्नुभएको छ। तपाईँहरु हाम्रा नेताबाट सकारात्मक राजनीतिक कुरो आएको छैन भन्ने त स्थापित भैसकेको छ।

केपी ओली : १९५० को सन्धि ठिकै मान्नुहुन्छ?

किशोर नेपाल : १९५० को सन्धि के थियो? तर तपाईँहरुले ठीक मानिराख्नु भएको छ अहिले। किनभने तपाईँहरु सत्तामा जानुभएको छ पटक-पटक।

केपी ओली : त्यो तर्क भएन।
 
किशोर नेपाल : हामीले मान्ने कुरा आउँदैन।

केपी ओली : मैले त्यो सन्धि ठीक छैन भनेर त्यस सम्बन्धमा पुनर्विचार गर्न इपिजी (इमिनेन्ट पर्सन्स ग्रुप – प्रबुद्ध समूह) पनि बनाएको छु। पुनर्विचार गर्नुपर्छ त्यो ठीक छैन भनेर। विगतका सन्धि ठीक छैन मैले भनेँ।

किशोर नेपाल : त्यो त मनमोहनजीको पालामा उहाँले पनि भन्नुभएको थियो।

केपी ओली : तपाईँ के भन्नुहुन्छ?

किशोर नेपाल : मनमोहनजीको यात्रामा म सँगसँगै गएको थिएँ। मनमोहनजीले एम्बेसडर मोटरको डिक्कीमा ज्वाइन्ट स्टेटमेन्टमा सही गरेर मन खुम्च्याएर आउनुभएको हो।

केपी ओली : के मा?

किशोर नेपाल : दिल्लीमा। संयुक्त विज्ञप्तिमा।

केपी ओली : अब धेरै कुरा नगरौँ। तपाईँ एउटा आग्रहमा हुनुहुन्छ।

किशोर नेपाल : छैन मलाई केही छैन। मेरो केही पनि आग्रह छैन।

केपी ओली : आग्रहमा हुनुहुन्छ। आग्रहमा भएपछि मान्छेले ठीक र बेठीक देख्दैन।

किशोर नेपाल : यो त तपाईँमा लागू हुन्छ। तपाईँ एउटा आग्रहमा हुनुहुन्छ नि।

केपी ओली : होइन। मलाई किन आग्रह राख्नु छ र। म त स्पष्ट ढंगले लडेको छु। बोलेको छु। गरेको छु।

किशोर नेपाल : मलाई झन् छैन। तपाईँसँग त एउटा राजनीतिक आग्रह छ।

केपी ओली : भारतले नाकाबन्दी लगाउँदा के त्वम् शरणम् गर्नुपर्थ्यो कि रेसिस्ट गर्नुपर्थ्यो?

किशोर नेपाल : रेसिस्ट गर्नुपर्थ्यो। गरियो त, गर्नुभएन तपाईँले?

केपी ओली : अनि झगडा मात्रै भयो? अनि त्यसपछि हामीले के भारतको मुठीमै बस्नुपर्छ?

किशोर नेपाल : किन बस्ने?

केपी ओली : के हाम्रा दुई छिमेकी छैनन्। हामीले दुई तिरबाट बाटो लिन सक्दैनौँ? चीनको बन्दरगाह लिनु पर्दैन?

किशोर नेपाल :  तपाईँले लिनुभयो। तपाईँको कामलाई सबैले स्वागत गरे।

केपी ओली : चीनसँगको सम्बन्ध...।
 
किशोर नेपाल : तपाईँले चीनसँग गरेको कामलाई कसैले गलत हो भनेको छ? छैन नि!

केपी ओली : अब त्यसो भएपछि त्यो फरक कसरी भएन? झगडा मात्रै भन्ने तपाईँको कुरा मिलेन। संविधान बनाउनका लागि हो। मैले आफै प्रधानमन्त्री हुन खोजेको भए सायद हुन्थें होला।

त्यहाँ नेर तपाईँले झगडा भन्न सक्नुहुन्थ्यो। संविधान बनाउन कांग्रेसको नेतृत्व चाहिन्छ भनेर मैले नै भनेँ। उसको केही सिट बढी छ र अन्तबाट तानेर बहुमत पुग्छ भने सरकार त जसले पनि बनाउन सक्ने कुरा भयो। तर मैले त्यतापट्टी नगएर कांग्रेसले नेतृत्व गरोस् भनेँ। कांग्रेसकै नेतृत्वमा बनाउँ भनेँ। त्यतिखेर कांग्रेसको तर्फबाट एउटा प्रस्ताव आयो। हामीले त्यसलाई ‘जेन्टलमेन अग्रिमेन्ट’ भन्यौँ। सबैलाई थाहा छ। लेखेनौँ। त्यो पछि गएर विजय गच्छदार, सुशील कोइराला, पुष्पकमल दाहाल र म अथवा चार पार्टीको एग्रिमेन्टको रुपमा गयो। त्यति नलेखौँ है भन्ने कुरा हाम्रो रह्यो।

कांग्रेसले त्यसलाइ उल्लघंन ग¥यो। त्यो एउटा पार्टीले उल्लघंन गर्दा झगडाको विषय कसरी भयो? उल्लंघनको विषय के थियो? तपाईँहरुलाई थाहा होला, इन्टेलेक्चुअललाई - मलाई प्रधानमन्त्री बन्न नदिने। केबी माथुर, राजदूत लगायतका मान्छे रातारात लागेर। २०७२ असोज २२ गते दलका नेताहरु उम्मेद्वारी नदिने भनेर हिँडेका थिए। तर त्यसपछिको सक्रियताले उम्मेद्वारी दिनेमा पुगे। इमान कहाँनेर कसले के कारणले छाड्या?
 

किशोर नेपाल : हामीले नबुझेको कुरा। तपाईँको र सुशील कोइराला बीच के कारणले असहमति भयो?

केपी ओली : किन भयो तपाईँलाई थाहै छ नि – मलाई प्रधानमन्त्री बन्न नदिन। अहिले नेपाली कांग्रेसले पुष्पकमल दाहाललाई किन मान्यो? ह्याण्डसम भएर? के भएर मान्यो? त्यति त तपाईँलाई थाहा छ नि। मान्यो किन? सिम्पल के सरल रेखामा मात्र गएको छ?
 
किशोर नेपाल : कांग्रेसलाई पनि सत्तामा जानुपरेको थियो, मान्यो। खेल त त्यही हो नि।

केपी ओली : मेरो प्रश्न यहाँनेर। खेल त्यो मात्रै होइन। मैले सदैव भन्दै आएँ। राष्ट्रियताको कुरा अगाडि सत्ताको मात्र कुरा हुँदैन। प्रणालीको मात्र कुरा हुँदैन। जस्तो राष्ट्र निर्माणको सम्बन्धमा कसैले मन पराओस् नपराओस्- म त्यसको प्रशंसा नै गर्छु। राष्ट्रवादी अडान राखेको हकमा महेन्द्रीय राष्ट्रवाद जसले भने पनि महेन्द्रले राष्ट्रको पक्षमा अडान लिएको छ भने त्यो हदसम्म ठीक छ। उनको तानाशाहीविरुद्ध त मैले संघर्ष गरेको छु। जेल म गएको छु। भूमिगत म भएको छु।

तपाईँहरुलाइ बताउँ - तीस सालको यो  सिजनमा म खाली खुट्टा, पातलो सर्ट र पाइन्ट लगाएर सेन्ट्रल जेलको गोलघरभित्र हतकडी लगाएर राखिएको थिएँ। भुईमा सिमेन्ट लगाएको छ। तर पानी गजगज आउँछ। त्यस्तोमा म बसेको छु। यो पुसको सिजनमा। म जाडोले थरथर काम्ने मान्छे। अत्ति जाडो हुन्छ मलाइ फेरि। त्यस्तो अवस्थामा खाली खुट्टा। कपडा समेत एकसरो। मलाई मंसिर ८ काठमाडौँ ल्याइयो। ११ गतेबाट गोलघर हालिए। त्यसबेलाको काठमाडौँ योभन्दा बढी जाडो थियो।

किशोर नेपाल : त्यसमा कसैले आपत्ति नै गरेको छैन नि?

केपी ओली : अब के भने राष्ट्रिय हितको प्रश्न सेन्टिमेन्टको कुरा होइन। यथार्थ हो। तपाईँ राष्ट्रियतालाई मजाकको विषय ठान्नुहुन्छ। ए राष्ट्रियता खतरामा छ.भनेर मजाक गर्नुहुन्छ।

किशोर नेपाल : तपाईँ मलाई इम्पोज गर्दै हुनुहुन्छ।

केपी ओली : हँ..

किशोर नेपाल : ठान्दछस् भनेर इम्पोज गर्दै हुनहुन्छ।

केपी ओली : तपाईँको प्रश्नले के देखाउँछ भने। ए राष्ट्रियता खतरामा छ भन्ने लाग्छ तपाईँहरुलाई?

किशोर नेपाल : हैन मैले त पहिला नै स्पष्ट पारिसकेँ। राष्ट्रियताको खतरा मजाक नै भएको छ। वीपी कोइराला फर्केर आउनुभयो। त्यतिबेला फरक थियो तपाईँहरुले सोचेको कुरा र उहाँहरुले सोचेको कुरा। तपाईँका जाति बिरादरीका प्रचण्ड लगायतले सुरुङ खनेकै हुन्।

केपी ओली : हो, हतियार उताबाट ल्याए सुरुङ यता खने। देखाउन खोजेको सुरुङ र ल्याएको हतियार। त्यो बेग्लै कुरा थियो।

किशोर नेपाल : तपाईँ नेताहरुको सबै कुराहरु हेर्दा कतै ताल मिल्दैन। सत्य कुरा यो हो। नेपालका राजनीतिक इलिमेन्टसहरु जो सँधै बलिया हुनुहुन्छ। तपाइँहरु जनतालाई सँधै मजाक नै सम्झिने। तपाईँहरुले तर्कसंगत हिसाबले मान्छेलाई कन्भिन्स गर्न खोज्नु भएन। पचास साठी हजार पढे लेखेका मान्छे होलान्, बाँकी यस्तै हुन् पेल्न सकिन्छ भन्ने मानसिकता नेपाली पोलिटिसियनहरुको रह्यो। मैले केपी ओलीलाई मात्र भनेको होइन। सबैलाई भनेको हो।

केपी ओली : म अरुको कुरा गर्दिन। आफ्नो कुरा गर्छु।

किशोर नेपाल : पटक पटक पोलिटिकल पार्टी र नेतामाथि संशय उठाउनुपर्ने भएको छ। त्यो पर्छ कि पर्दैन होला? अर्लटनेस।

केपी ओली : बुद्धिजीवी यस्तो चिज हो जसले सपार्न पनि सक्छ बिगार्न पनि सक्छ। बुद्धिजीवी यस्तो चिज हो जसले राजाको स्वस्ति श्री चुडामणि पनि लेख्छ। त्यो पढेलेखेकै विद्वान हुन्। बुद्धिजीवी हुन्। जसको अर्थ लगाउन तपाईँ हामीलाई अहिले गाह्रो पर्छ। कति विद्वानले लेखेको होला। बुद्धिजीवीहरुले राम्रो भूमिका खेलेनन् भने देश सिक्किमीकरणको बाटोमा जान्छ।
 
किशोर नेपाल : तपाईँ विश्वस्त हुनुहुन्छ?
केपी ओली : (लामो समय सोच्दै) म के विश्वस्त छु भने नेपाल देशभक्त नेपालीहरुले सिर्जना गरेको देशभक्त नेपालीहरु भएका देश हो। एकाध मानिस यता उता बहकिए पनि यस देशको राष्ट्रियता तल माथि पर्न सक्दैन।

किशोर नेपाल : त्यसो भए किन त्यति विधि (हाँस्दै) चिन्तित हुनुहुन्छ त?

केपी ओली : त्यही चिन्ताले त।

किशोर नेपाल : कन्क्लुजन नै निकालिसक्नु भएको रहेछ किन?

केपी ओली : त्यो  के छ भने यहि चिन्ताले जागरण ल्याउँछ।

किशोर नेपाल : एउटा कुरा समसामयिक विषयमा मान्छेले जान्न खोजेको छ। संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतले तपाईँको नेतृत्वले एक किसिमको रौनक ल्याइराखेको छ। तपाईँ निर्वाचन गरौँ भन्नुहुन्छ। संसद अवरुद्ध छ। निर्वाचन सम्वन्धी विधेयक अगाडि बढेको छैन। तपाईँहरुको माग यस्तो छ : सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म यो संसद खुल्दैन भन्नुहुन्छ। त्यो भनेको मतलब तिम्रो निर्वाचन विधेयक हामी मान्दैनौँ भनेको हो नि। यो त तेरो टाउको ले अनि निर्वाचन विधेयक पास हुन्छ भनेको न हो। तपाईँ नै प्रधानमन्त्री भएपनि त्यस्तो किसिमको शर्त त मान्नु हुन्थेन होला। त्यसमाथि सरकारमा कांग्रेस पनि जोडिएको छ। के हो त यो ? किन यस्तो भैराखेको छ?

केपी ओली : दुई वटा कुरा। नबिउँझिएकोलाइ बिउँझाउन सकिन्छ। बिउँझिएकोलाइ के बिउँझाउनु? नबिउँझिएको बहाना गर्छ। पोहोर त तपाईँ यी कुरा गर्नु हुन्नथियो। भूकम्प सम्बन्धि ऐन बन्न सकेको थिएन। संसदमा इस्यु थियो तर संसद अनावश्यक ढंगले बन्द गरेको थियो कांग्रेसले। अहिले हामीले राष्ट्रिय हितसँग सम्बन्धित प्रश्न संविधानले नै निषेध गरेको प्रश्न उठाएका छौं।  हाम्रो तर्क हो। फेरि तपाईँहरु भन्नुहोला अर्को मुद्दा छ। हामी मुद्दामा गएका छैनौँ। पूर्व सांसद क्लब गएको हो। हामीले एउटा राष्ट्रियतासँग सम्बन्धित विषय संविधानले निषेध गरेको विषयसँग सम्बन्धित हुन जान्छ भनेका छौँ। अर्को प्रस्ताव असंवैधानिक भएको हुनाले भनेका छौँ। यो दुई गम्भीर प्रश्न हो।

यो प्रश्न केमा जोडिएको छ भने .. तपाईँले बुझ्ने कुरामा म समस्या देख्छु। तर यो के छ भने यसमा अहिले पाँच नम्बर प्रदेश छुट्याउने। पछि अर्को अर्को छुट्याउने।  छुट्याएर के फरक पर्छ भन्ने होला।
 
किशोर नेपाल : हैन त्यसो भए संघीयता नै नल्याए भैहाल्यो नि त। किन संघीयता मानेर संविधान लेख्नुभएको हो? संघीयतामा जान यति झन्झट हुन्छ भने संघीयतालाई किन एस्सेप्ट गर्नुभयो? भन्नुस् त। संघीयता कसैलाई चाहिएको छैन। धर्म निरपेक्षता कसैलाई चाहिएको छैन।
 
केपी ओली : एसेप्ट गरेपछि जसो पनि हुन दिने?

किशोर नेपाल : किन एसेप्ट गर्नु भएको ? किन संविधानमा लेख्नु भएको?

केपी ओली : एसेप्ट गरेपछि जसो पनि हुन दिने?

किशोर नेपाल : हैन तपाईँ अग्री गर्नुस् न। तपाईँहरुले बनाउनु भएको, दलहरुले मिलेर लेखेको होइन?

केपी ओली : राम्रो बनाउन एसेप्ट गर्ने कि जसो पायो त्यसो गर्न एसेप्ट गर्ने?

किशोर नेपाल : बनाउनु भयो संविधान। दिनुभयो होइन?

केपी ओली : हो, रोक्न खोज्दा खोज्दै संविधान जारी गरियो। रातारात होइन कि धेरै समय लगाएर भयो।

किशोर नेपाल : तपाईँ प्रधानमन्त्री पनि हुनुभयो।

केपी ओली : अहिले हामी टुङ्ग्याँउ यसलाई। हाम्रो अर्को काम छ।

किशोर नेपाल : अब अवरोध कहिले हट्छ। कहिले सरकार र तपाईँहरुबीच सम्झौता हुन्छ ?

केपी ओली : फिर्ता लिइदियो भने हट्छ। अब हेरौँ। सम्झौताको पोइन्ट निस्कियो भने हुन्छ।

किशोर नेपाल : तपाईँले सम्झौता गर्न चाहानु भएको छैन भन्छन् नि।

केपी ओली : कुनै त्यस्तो बनिबनाउन रेडिमेड थ्योरी हुदैँन। के मा कसरी भन्ने हुन्छ। तपाईँलाइ थाहा छ।

किशोर नेपाल : अनि अर्को एउटा मान्छेमा परेको। तपाईँलाइ थाहा छ कि छैन। केपीमा प्रधानमन्त्री पदबाट हटाइएको ह्याङओभर अझै छ। के टिप्पणी गर्नुहुन्छ?

केपी ओली : केही टिप्पणी नै गर्दिन। त्यस्ता स्याल कराउने, फ्याउरा कराउनेमा के टिप्पणी गर्नु। किन गर्नु मैले।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell