PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टेलिकमले सुरु गर्दैछ फोरजी सेवा, काठमाडौं र पोखरामा आइतबारदेखि



उमेश पौडेल

टेलिकमले सुरु गर्दैछ फोरजी सेवा, काठमाडौं र पोखरामा आइतबारदेखि

काठमाडौं : नेपाल टेलिकमले मोबाइलमा बहुप्रतीक्षित फोरजी सेवा आइतबारदेखि सञ्चालनमा ल्याउने भएको छ। सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोरजी सेवाको औपचारिक उद्घाटन गर्नेछन्।
 
'टेलिकमले फोरजीको सफ्ट लन्चको अन्तिम तयारी गरिरहेको छ,' टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने, 'यसका लागि चाहिने आवश्यक चिप्स र सफ्टवेयर इन्स्टलको काम अन्तिम फेजमा पुगेको छ।'
 
उपभोक्ताले सुरुवातमा ३२ दशमलब ४ एमबिपिएस गतिमा इन्टरनेट चलाउन पाउनेछन्। व्यावसायिक रुपमा सुरु गरेपछि यो गति ८० एमबिपिएसमा पुग्ने अधिकारीले बताए। अहिले टेलिकमको थ्रिजी १२ एमबिपिएस गतिमा चल्छ।
 
अन्तर्राष्ट्रिय मापदण्डअनुसार थ्रिजी नेटवर्कको इन्टरनेटमा ३ एमबिपिएको स्पिडमा डेटा डाउनलोड गर्न सकिन्छ भने शून्य दशमलव ४ एमबिपिएसको गतिमा अपलोड गर्न सकिन्छ। त्यस्तै थ्रिजी एचएसपिडिए प्लसमा ६ एमबिपिएसको गतिमा डेटा डाउनलोड गर्न र ३ एमबिपिएसको गतिमा अपलोड गर्न सकिन्छ।
 
त्यस्तै फोरजी एलटिईमा ४२ एमबिपिएसको गतिमा डाउनलोड गर्न सकिन्छ भने २५ एमबिपिएसको गतिमा डेटा अपलोड गर्न सकिन्छ। तर टेलिकम अपरेटर अनुसार यो स्पिडमा तलमाथि हुन्छ।
 
यो सेवाका लागि टेलिकमले काठमाडौं र पोखरामा गरी पाँच सय भन्दा धेरै बिटिएस टावरमा फोरजी सपोर्ट गर्ने चिप्स र सफ्टवेयर अपग्रेडको काम गरिरहेको छ। सुरुवातमा काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालनमा आउनेछ। काठमाडौंमा दुई लाख ७५ हजार र पोखरामा तीन लाख २५ हजार जनाले फोरजी सेवा सञ्चालन गर्न पाउनेछन्। टेलिकमका अनुसार यो सफ्ट लन्च मात्रै हो।
 
टेलिकमले फोरजीको शुल्क तय गरेको छैन। १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा टेलिकमसँग रहेको १५ मेगाहर्जमध्ये पाँच मेगाहर्ज फोरजीका लागि छुट्याएको छ। दुरसञ्चार प्राधिकरणले टेक्नोलोजी न्युट्रल गरेर फोरजी चलाउने प्रावधान ल्याएपछि टेलिकमले नेटवर्कको अपग्रेडेसन र फ्रिक्वेन्सी म्यानेजमेन्टको काम सकेको छ।
 
यता नियामक निकायले भने दररसञ्चार प्राधिकरणले भने मूल्य तय नभई सेवा सञ्चालन गर्न नमिल्ने जानकारी दिएको छ। 'फोरजीका लागि ग्राहकलाई पर्ने व्ययभार तय नगरी सेवा सुचारु गर्न मिल्दैन,' प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, 'सफ्ट लन्चमात्र गर्ने सूचना प्राप्त भएको छ, त्यसका लागि रेट फिक्स गर्नु पर्दैन र व्यावसायिक हिसावले जाँदामात्र मूल्य तय हुने हो।'
 

के हो फोर जी सेवा ?

'Four G' अर्थात् फोर्थ जेनेरेसन। फोरजी थ्रिजीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ।
 
यस सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell