PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बोटे र थारु समुदायले चलाएको होमस्टेमा पर्यटक थपिए, सांस्कृतिक झाँकी आकर्षण



रासस

नवलपरासी :  अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन्। बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका ती होमस्टेमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढ्दै गएको छ।
 
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रविन्दु बनाई तीन वर्षअघि होमस्टे सञ्चालनमा आएको हो। यहाँ भारत, अमेरिका, फ्रान्स, स्विडेन, स्विजरल्यान्ड लगायत विदेशबाट तथा काठमाडौँ, पोखरा, चितवन, बुटवल लगायत थुप्रै ठाउँबाट आन्तरिक र बाह्य पर्यटक आउने गरेका होमस्टे सञ्चालक धनमाया महतो बताउँछिन्।
 
यहाँ २० वटा होमस्टे रहेका छन्। एक पटकमा ४० वटा कोठामा ८० जना पाहुनालाई खान बस्न व्यवस्थापन गर्न सकिन्छ। होमस्टेमा खाना बसाइबाहेक नारायणी नदीमा डुङ्गामा यात्रा र हात्ती सफारी समेत गर्न मिल्छ। विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउन तथा स्थानीय रहनसहन र कलासंस्कृति मार्फत तान्नका लागि होमस्टे सञ्चालनमा ल्याइएको हो।
 
थारु र बोटे समुदायको परम्परागत कला र संस्कृति झल्कने घरमा होमस्टे सञ्चालन गरिएको छ। नृत्य तथा गायनले होमस्टे लोकप्रिय बन्दै गएको अध्यक्ष प्रेमशङ्कर मर्दनियाँ थारुले बताए। होमस्टेमा पाहुनाका लागि रोजाइअनुसारको चिचर, माछा, घोँगी, कुखुरा, हाँसको मासु, छोयला लगायत परिकार बनाइन्छ। यहाँ आम्दानी भएको रकम एकमुष्ट समितिमा जम्मा गर्ने र आम्दानीलाई विभाजन गरेर ९० प्रतिशत रकम होमस्टे सञ्चालकलाई दिइने गरिन्छ। '१० प्रतिशत रकम विकास निर्माण र समाजसेवामा खर्च गरिन्छ,' होमस्टे व्यवस्थापक धनीराम चौधरीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell