PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कतारमा मृत्यु भएकी दोलखाकी युवतीको शव अलपत्र, परिवारको गुनासो- 'सरकारले पहल गरेन'



पहिलोपोस्ट

दोलखा : कतारमा रहस्यमय रुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परे पनि स्वदेश ल्याउने पहल हुन सकेको छैन।
 
वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दुको गत मङ्सिर २४ गते रहस्यमय मृत्यु भएको थियो।
 
कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो। तर दुई साता बित्न लाग्दा समेत घटनाको छानबिन र शव स्वदेश ल्याउनेबारे सम्बन्धित निकायले कुनै पहल नगरेको मृतकका भाइ गोविन्द थामीले बताए।
 
‘घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभाग लगायतका निकायमा गए पनि कुनै सुनुवाइ भएको छैन,’ उनले भने।
 
कोठामा सँगै बस्ने दोलखा सुष्पाक्षमावती माइती घर भई सिन्धुपाल्चोक विवाह गरेकी सुशीला बुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ।
 
आफन्तजनका अनुसार सुशीलासँग गम्भीर विवाद भएको भोलिपल्ट विन्दुलाई मृत भेटिएको हो। मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घटनाबारे केही छानबिन गरिरहेको बताइएको छ। मृतकका आफन्तजनले भने एकपक्षीय रुपमा घटनाको छानबिन गराएर घटनालाई आत्महत्या बनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपूर्ति नदिलाउने चलखेल भइरहेको बताएका छन्।
 
घटना भएको जानकारी पाएदेखि नै मृतकका आफन्तजन नुन बारेर बसेका छन्। मृतक थामीलाई काठमाडौँ धापासीस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell