PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सात वर्षमा मारिए एमालेका सात नेता, यस्तो छ राजनीतिको अपराध ‘कनेक्सन’



केपी ढुंगाना

सात वर्षमा मारिए एमालेका सात नेता, यस्तो छ राजनीतिको अपराध ‘कनेक्सन’

काठमाडौं : यतिबेला ‘मोस्ट वान्टेड’ भएका छन् मनोज पुन। मनोज नेकपा एमालेको भ्रातृ संगठन युवा संघको रुपन्देही जिल्लाका पूर्व कोषाध्यक्ष हुन्।  

सोमबार दिउँसो गोली हानी युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष रुपन्देहीका दुर्गा तिवारीको हत्या भएपछि त्यसमा संलग्न रहेको आशंकामा प्रहरी उनको खोजीमा छ।

‘पुरानो रिसइवीका कारण’ हत्या भएको हुनसक्ने भन्दै प्रहरीले पुनको नाम र फोटो सार्वजनिक गरेको हो।
सात वर्षमा नेकपा एमालेका जिल्ला तहका ७ जना नेताको हत्याको भइसकेको छ। यो बीचमा ६ जनाको हत्या भयो भने दिनेश अधिकारी ‘चरी’ प्रहरीसितको मुठभेडमा मारिएका थिए।

अधिकांश घटनाको कारण ‘ब्यक्तिगत’

तिवारीको हत्यापछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभिमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको हत्याले उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका पैदा भएको आरोप लगाए।

राजनीतिक दलसँग आवद्धको हत्या हुँदा प्रारम्भमा ‘राजनीतिक प्रतिशोधका कारण हत्या’ भएको दावी हुने गरेको छ। अधिकांशको अनुसन्धानको निचोड भने ‘ब्यक्तिगत कारण’ मा गएर टुंगिने गरेको छ।

दुई महिना अगाडि कात्तिकमा अर्घाखाँचीको धनचौरमा एमाले गाउँ कमिटी सदस्य कल्पना भुषालको हत्या भएको थियो। पसलमा सामान किनेर फर्कँदै गर्दा अपहरण गरी जंगलमा लगेर हत्या गरेपछि शव खोलामा फालिएको थियो।

कल्पनाको हत्याको आरोपमा प्रहरीले गणेश भुषाल र खेमराज भुषाललाई पक्राउ गरी अनुसन्धान गरेपछि हत्याको कारण ब्यक्तिगत सम्बन्ध रहेको खुल्यो। पक्राउ परेका दुबै जना एमालेमै आवद्ध थिए।

२०७२ पुस १४ मा मर्निङ वाक हिँडेका एमाले जिल्ला कमिटी सदस्य रामनरेश रायको हत्या भयो। हेमपुर ७ का रायमाथि बिहान ६ बजे घरदेखि करिब डेढ किलोमिटर टाढा सुनसान बाटोमा आक्रमण भएको थियो। घटनास्थलको प्रकृति र पोष्टमार्टममा उनको टाउको र मुखमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको थियो।
हत्याको कारण ब्यक्तिगत कारण देखियो । हत्या अभियोगमा हेमपुर–६ की ३८ वर्षे मन्जुदेवी राय, उनका छोरा १८ वर्षका रुपेश राय र सोही ठाउँका २२ वर्षका उमेश यादव पक्राउ परे। मन्जुदेवीको घरमा फेला परेको रगत लागेको कपडालाई प्रहरीले प्रमाणको रुपमा प्रस्तुत गर्यो।

त्यस्तै ४ वर्ष अगाडि धादिङमा एमाले जिल्ला कमिटी सदस्य शिव थापा मगरको हत्या भयो। यो घटनाको कारण राजनीतिक देखियो। थापाको हत्या अभियोगमा माओवादीका स्थानीय तहका नेता राजेन्द्र विक, चन्द्रबहादुर तामाङ र विजयबहादुर तामाङ पक्राउ परे। विजयबाहेक अन्य दुई जना कारागार चलान भए।

२०६५ साल चैत २६ मा रुपन्देहीमा युथफोर्सका सदस्य प्रचण्डमान थैवको गोली हानेर हत्या भएको थियो। बेलुका मोटरसाइकलमा घर फर्कनेक्रममा मोटरसाइकलमै आएको अर्को समूहले उनलाई गोली हानेको थियो। उपचारका लागि अस्पताल लैजाने क्रममा थैवले आफुलाई सुजित विकले गोली हानेको खुलाएका थिए।

घटना लगत्तै फरार भएका विक २ वर्षपछि काठमाडौंको सुन्धाराको एक गेष्ट हाउसमा पक्राउ परे। विक माओवादीका नेता थिए भने थैवको हत्याको कारण राजनीतिक देखिएको थियो। उनले थैव हत्यामा सर्वस्व सहित जन्मकैद पाए।

थैव हत्याको एक सातापछि विराटनगरमा युथफोर्सका सदस्य अनुप थापा मगरको हत्या भएको थियो।

दोस्रो संविधान सभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरेको २४ घन्टा कट्न नपाउँदै २०७० असोज १७ मा एमाले नेता महमुद आलम मारिए।

उम्मेदवारी दर्ता गरेर फर्कदै गर्दा गोली हानेर हत्या गरिएको थियो। उनको हत्या अभियोगमा उनकै पार्टीका अर्का नेता पूर्व सांसद रामचन्द्र कुशवाह सहयोगीसहित कात्तिक १० मा पक्राउ परे।

अनुसन्धानमा हत्याको कारण निर्वाचनमा पार्टीले दिने टिकटको लफडा  देखिएको थियो। जाली भारतीय रुपैंयाको कारोवारमा समेत जोडिइरहने कुशवाहले भारतीय सुटर प्रयोग गरेर उनको हत्या गरेको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कुशवाहसहित अतिक खान र राजेश श्रीवास्तवलाई पक्राउ गरेको थियो।

एमाले धादिङका नेता तथा कहलिएका गुन्डा दिनेश अधिकारी ‘चरी’ २०७१ साउन २१ मा काठमाडौंमा मारिए। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीसँगको इन्काउन्टरमा सितापाइलामाथी भिमढुंगामा उनी मारिएका थिए।

राजनीतिको अपराध कनेक्सन

युवा संघमा आवद्ध तिवारी र उनको हत्यामा संलग्न रहेको आशंका गरिएका मनोज केही समयसँगै काम गरेको खुलेको छ। इँटाभट्टा चलाएर बसेका तिवारी केही ठेक्कामा संलग्न रहेको भनिए पनि मंगलबारसम्म उनको आपराधिक कनेक्सन देखिएको छैन। मनोजको पृष्ठभूमि भने आपराधिक देखिन्छ।

माओवादीमा रहेका मनोजलाई तिवारीले नै एमालेमा आवद्ध गराएका थिए। उनले राजनीतिक शक्तिलाई पैसा असुल्ने हतियार बनाएपछि उनी कारवाहीमा परे र पार्टीबाट निकालिए। तिवारी र मनोजको दुश्मनी त्यहीबाट शुरु भएको प्रहरीको विश्लेषण छ।

साढे २ वर्ष अगाडि प्रहरी मुठभेडमा मारिएका चरीको परिचय एमालेको जिल्ला नेता भन्दा गुन्डाको रपमा परिचित थिए। अपराधमा कहलिएपछि राजनीतिमा गएका उनी एमालेको क्षेत्रीय सभापति समेत हुन सफल भए।

विशेष अदालतमा आपराधिक गतिविधीबाट अकुत सम्पत्ति कमाएको मुद्धा खेपिरहेका पर्शुराम बस्नेत युवा संघभित्र प्रभावशाली पदमा छन्।
आपराधिक पृष्ठभूमि भएकालाई स्वागत गर्ने पार्टीमा कांग्रेस पनि पछाडि छैन। डेढ वर्ष अगाडि प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ घैंटे कांग्रेस नेताको छत्रछाँयामा हुर्किएका थिए।

रकम असुलीमा कहलिएका अभिषेक गिरी, सगुन श्रेष्ठ लगायतकाहरुले कांग्रेसको झन्डा ओढेकै छन्। कांग्रेस हुँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य भएका गणेश लामाले आफ्नो आपराधिक विगत दलको झन्डाले छोप्न खोजे पनि सकेका छैनन्।

सर्वाेच्च अदालतका न्यायधिष रणबहादुर बमको हत्यामा स‌ंलग्न बाबु थापा चुरे भावर पार्टीकाे नाममा राजनीतिमै थिए। जनकपुर बम विष्फोटका योजनाकार सञ्जय साह 'टकला' सद्भावना पार्टीका उपाध्यक्ष नै थिए।
 

गुन्डाको संरक्षणमा राजनीतिको छाता

नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल राजनीतिक दलका नेताले जानेर नजानेर अपराधमा संलग्न ब्यक्तिको संरक्षण गर्ने गरेको बताउँछन्।

आपराधिक गतिविधीमा संलग्न ब्यक्ति सुरक्षित छाता खोज्दै राजनीतिक दलमा संलग्न हुने, नेतालाई विभिन्न तरिकाले प्रभावमा पारेर आफ्नो संरक्षणमा उभ्याउने गरेको उनको विश्लेषण छ।

‘नेताहरुनै प्रत्यक्ष अपराधमा संलग्न भएर आपराधिक गतिविधीमा लागेकाको संरक्षण गरेको नदेखिए पनि भोटको लोभमा को ब्यक्ति कस्तो हो भन्ने बुझ्दै नबुझी उसको संरक्षणमा उत्रिने नेताहरुको बानी देखिन्छ’ उनले भने।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी मनी र मसलको प्रयोगबाट राजनीतिमा दवदवा बनाउन अपराधिक व्यक्तिको सहायता लिने गरेको बताउँछन्। ‘नेपालमा झनै अपराधिक व्यक्ति र नेताको गहिरो सम्वन्ध रहेको छ। धेरै राजनिति गर्ने व्यक्तिको उद्गम अपराधिक गतिविधिबाट नै भएकाले यस्ता व्यक्ति संरक्षणमा छन्’, उनी भन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell