PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जयाको आवरणले खोतल्यो अन्तरलिंगीको पीडा



पहिलोपोस्ट

जयाको आवरणले खोतल्यो अन्तरलिंगीको पीडा

काठमाडौं : अन्तरलिंगीको विषयमाथि लेखिएको जया ओझाको उपन्यास 'आवरण' शनिबार सार्वजनिक भएको छ।
 
राजधानीको सर्वनाम थिएटरमा भएको कार्यक्रममा भाषाविद् एवं कोशकार वसन्तकुमार शर्म्मा नेपालले पुस्तकको विमोचन गरे।
 
कार्यक्रममा वक्ता तथा अन्तरलिङ्गी पात्र इशान रेग्मीले अन्तरलिङ्गी समस्यालाई समाज तथा परिवारले बुझ्न नसकिरहेको समयमा लेखक ओझाले पुस्तकमार्फत साहस गरेको भन्दै प्रशंसा गरे।
 
आफू पहिले छोरीको रुपमा जन्मिए पनि १३ वर्षको उमेरपछि छोराको स्वरुपमा बदलिएको बताउँदै रेग्मीले परिवार र समाजबाट  खेपेको मानसिक पीडाको स्मरण पनि गरे। ‘हामी जस्ताले मानव भएर बाँच्न पाउने कि नपाउने? छोराछोरी जस्तै हामीलाई पनि सम्मान दिने कि नदिने?’ उनले भने, ‘लेखकका लागि यो साहित्यिक कृति भए पनि मेरो लागि मुद्दाको डकुमेन्ट हो।‘ महिला र पुरुषबीचको असमानता वा तेस्रोलिङ्गीले भोगेको यथार्थ उपन्यासमा आउनुले निकै अर्थ राखेको पनि उनले बताए।
 
समीक्षक तथा लेखक शेखर खरेलले पुस्तक पढ्दा लेखक आफैं अन्तरलिङ्गी भएजसरी अनुभूतिमा डुबेर लेखेको पाएको भनाइ राखे। ‘ईश्वरीय त्रुटिबाट आत्मसात गर्न नसक्ने कुरालाई पुस्तकमा यथार्थ तरिकाले चित्रण गर्न खोजिएको छ,’ उनले टिप्पणी गरे, ‘अन्तरलिङ्गीलाई समाज र परिवारले नै रुखमा पलाएको ऐँजेरुको रुपमा ठान्छन्। त्यसो हुँदा अस्तित्वका लागि लड्न पनि गाह्रो हुन्छ,’ उनले थपे, ‘किताबमा ती ऐँजेरु मानिएका पात्रचाहिँ सबल रुपमा देखापरेका छन्। यो सकारात्मक पक्ष हो।‘ यथार्थवादी धारमा लेख्न खोज्दा कताकता गैरआख्यान जस्तो लागेको भन्दै खरेलले आगामी कृतिमा यसबारे सचेत हुन पनि लेखलाई आग्रह गरे।
 
अर्की वक्ता आख्यानकार उमा सुवेदीले अन्तरलिङ्गी व्यक्तिलाई सन्तान नमान्ने समाज तथा परिवारलाई साहित्यमार्फत चेतना फैलाउने साहस गरेकोमा उनले लेखकलाई धन्यवाद दिइन्। ‘समाज बदल्न हिँड्ने समाजमा अगुवा भनाउँदाहरु समाज परिवर्तनको भाषण गर्ने तर आफ्नो मानसिकतालाई कहिल्यै परिवर्तन गर्न नसक्नु ठूलो भूल हो,’ उनले भनिन्, ‘अन्तरलिङ्गीहरुका अभिभावकहरु सबैभन्दा पहिले आफू परिवर्तन हुन आवश्यक छ।‘ उपन्यासमा बालमनोविज्ञानलाई सहज ढंगले प्रस्तुत गरिएको उनको भनाइ थियो।

पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell