PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सदन खुलाउने वातावरण मिलाउन सभामुखको आग्रह, प्रधानमन्त्रीले भने- ‘चाँडै मसिनो सहमति हुनेछ'



रासस

सदन खुलाउने वातावरण मिलाउन सभामुखको आग्रह, प्रधानमन्त्रीले भने- ‘चाँडै मसिनो सहमति हुनेछ'

काठमाडौँ : सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा जारी गतिरोरोध तत्काल अन्त्य र त्यसका लागि सकारात्मक पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेकी छिन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सभामुख घर्तीले लामो समयसम्म संसद्मा अवरोध हुनु जायज नभएको भन्दै अवरोध खुलाउनका लागि वार्ता र संवादलाई जोड दिन आग्रह गरिन्। सभामुखले प्रधानमन्त्रीलाई राजनीतिक संवादमार्फत सदन पुनःसञ्चालन गराउन ध्यानाकर्षण गराउँदै पछिल्लो दिनमा कांग्रेससभापति र नेकपा एमालेका अध्यक्षसँग भएको छलफलका बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइन्।
 
उनले आफू नेपालबाहिर हुने समयलाई सहमतिका लागि उपयोग गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।
 
सभामुख घर्ती संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने विश्वका महिला सभामुखको सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै आज त्यसतर्फ जाँदैछिन्। ‘आफू मुलुकबाहिर रहने र सहमतिका लागि पाँच दिन पुग्दो समय भएकाले सहमतिको पहल गर्न र सदनको अवरोध हटाउन नै सभामुखले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। प्रधानमन्त्रीले पनि त्यसका लागि सकारात्मक पहल भइरहेको र केही दिनभित्रै समाधान निस्कने विश्वास व्यक्त गर्नुभएको छ,’ सल्लाहकार शर्माले भने।
 
सभामुखले संसद्मा अवरोध जारी रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाअभियोग प्रस्ताव तथा निर्वाचनसम्बन्धी र संविधान संशोधन विधेयकको प्रक्रिया अघि बढ्न नसकेको जनाउँदै अवरोध हटाउन सरकार प्रमुखका रुपमा प्रधानमन्त्रीको निर्णायक भूमिका हुनेमा जोड दिएकी थिइन्।
 
जवाफमा प्रधानमन्त्रीले संसद्को अवरोध अन्त्यको प्रयासमा दलबीच औपचारिक र अनौपचारिक कुराकानी भइरहेको जनाउँदै केही दिनमै सहमति हुने विश्वास व्यक्त गरे। सभामुख घर्तीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने, ‘मलाई आशा छ, एकाध दिनभित्रै एउटा मसिनो सहमति हुन सक्छ। त्यसका लागि सरकार प्रयासरत छ।‘
 
सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भन्दै एमालेलगायत दलले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन्। संसदको अर्को बैठक मङ्सिर ३० गतेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell