PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​संशोधन प्रस्ताव फिर्ता हुँदैन : नेता सापकोटा



पहिलोपोस्ट

चितवन : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने बताएका छन्।
 
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मधेसी, आदिवासी, थारुलगायतका मागलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको हुँदा फिर्ता नहुने बताए।
 
नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको सहमतिमा ती समुदायको माग अनुसार संविधान संशोधन गर्न दिएको प्रतिबद्धता अनुसार नै संशोधन प्रस्ताव पेस भएको उनले स्पष्ट पारे। संविधान संशोधन हुन नसकेमा पनि सरकारबाट पार्टी नबाहिरिने बताउँदै उनले अहिले सरकारले निर्वाचन गराउने कुरामा केन्द्रित भएको बताए।
 
उनले भने 'अब निर्वाचनतर्फ जानुपर्छ, जसले गर्दा संविधान कार्यान्वयन हुन्छ।' ५ नं प्रदेशमा भइरहेको आन्दोलनप्रति इङ्गित गर्दै उनले सो आन्दोलनमा बाह्य चलखेल र घुसपैठ भएको हुँदा राष्ट्रवादी नेपाली सचेत हुनुपर्ने बताए।
 
कसैको इसारामा संविधान संशोधन प्रस्ताव पेस नभएको भन्दै उनले भारतीय दूतावासले हत्तपत्त प्रतिक्रिया दिएर पार्टीलाई भारतप्रस्त जस्तो देखाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे।
एक प्रश्नमा उनले कसैको इसारामा यो काम नभएकाले जिम्मेवार पत्रकारले प्रष्ट हुन आवश्यक रहेको बताए।
 
अर्को प्रश्नमा जटिल, पेचिलो र नगरी नहुने काम सङ्घीयता भएकाले यसबाट पछि नहट्ने पार्टीको अडान रहेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell