PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अपरिचितको जुस खाँदा गुम्यो साउदीको कमाई



सविन ढकाल

अपरिचितको जुस खाँदा गुम्यो साउदीको कमाई

काठमाडौं : साउदीबाट हिँडेका सञ्जय चौधरी त्रिभुवन विमानस्थलमा उत्रिए लगत्तै गौशालाको एक गेष्ट हाउसमा पुगे। गेष्ट हाउसमै रहेका एक ब्यक्तिसँग उनको चिनजान भयो। बाहिर डुलौँ भन्ने साथीको प्रस्ताव स्वीकार्दै उनी पिङ्गलास्थानको चौरमा पुगे। नवपरिचित मित्रले जुस निकाले। उनले बिना कुनै संकोच जुस खाए। त्यसपछि के भयो उनले पत्तो पाएनन्।

आँखा खुल्दा उनी पिंगलास्थानको चौरमा एक्लै सुतिरहेका थिए। यताउता साथीलाई खोजे तर उनी थिएनन्। उनको मनमा चिसो पस्यो। हुत्तिँदै गेस्ट हाउसको कोठामा पुग्दा साउदीबाट ल्याएको न टिभी, न मोबाइल, न कपडा, न पैसा। रित्तो थियो उनको कोठा। 

गेष्ट हाउसमा सोधखोज गरे केही खुलेन। नजिकै प्रहरी कार्यालय रहेको खुलेपछि उनी हुत्तिँदै महानगरीय प्रहरी वृत्त गौशाला पुगेर उजुरी दिए । 
‘जुस खुवाएर बेहोस हुँदा लुटिने सञ्जय मात्रै हैनन्,’ बृत्तका डिएसपी अरुण भण्डारीले भने, ‘प्राय: यस्ता उजुरी आइरहन्छन्।’

उनका अनुसार प्राय: हप्तामा २ वटा यस्ता प्रकृतिका उजुरी आउने गरेका छन्। यस्तै प्रकृतिको ठगीमा सक्रिय मोहनकुमार शाह समूहको पक्राउपछि यस्ता घटना कम भएको थियो। तर अहिले पुनः यस्ता घटनाबारे उजुरी आउने संख्या बढेको छ। 

अनुभवी प्रहरी अधिकारीका अनुसार लुटेराले हतियारको रुपमा जुसको प्रयोग गर्ने गरेका छन् । यसका लागि उनीहरुले लट्ठ्याउने औषधी किनेर सिरिञ्जमार्फत् कागजमा प्याकिङ गरिएको जुसमा मिसाउने गर्छन्। 

प्रायः यस्ता लुटेरा समूह बढी भिडभाड हुने बसपार्क, विमानस्थल लगायतका क्षेत्रमा छरिएर बस्छन्। सहयोगी बनेर उनीहरु यात्रुसँग नजिक हुन्छन्। छिट्टै परिचित झैँ बन्छन् र विभिन्न बहाना बनाएर बेहास बनाउने औषधी मिसाएको पेय पदार्थ खुवाउँछन्। 

प्रहरीमा आएका उजुरीको प्रकृति हेर्दा बेहोस बनाएपछि कतिले बिरामी भयो अस्पताल लैजान्छु भन्दै ट्याक्सीमा राखेर सुनसान स्थानमा लगेर सुन, पैसा जे छ त्यही लिएर हिँड्छन्। विदेशबाट आएका फेला परे साथी हुँ भन्दै उनीहरु बसेको होटलमा गएर सामान लिएर हिँड्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell