PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वैकल्पिक ऊर्जामा एडिबीको सहयोग, सोलारका लागि नेपाललाई दुई अर्ब



पहिलोपोस्ट

वैकल्पिक ऊर्जामा एडिबीको सहयोग, सोलारका लागि नेपाललाई दुई अर्ब

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सोलार ऊर्जा प्रवर्द्धनका लागि नेपाल सरकारलाई २ अर्ब १८ करोड रुपैयाँ (२ करोड अमेरिकी डलर) अनुदान दिने भएको छ। सोलार विद्युतमा व्यावसायिक लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्य साथ बैंकले यो रकम दिन लागेको हो।
 
सन् २०१८ सम्ममा सोलारबाट कम्तीमा २५ मेगावाट बिजुली व्यावसायिक स्केलमा उत्पादन होस् भन्ने बैंकले चाहेको छ। 'त्योभन्दा महत्वपूर्ण हामी एउटा विजनेश मोडल विकास भएको देख्न चाहन्छौँ,’ बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘जसको सिको ऊर्जा संकट खेपिरहेका दक्षिण एसयाली मुलुकहरु जहाँसुकै गर्न सकियोस्।'
 
बैंकको अनुदान सरकारले निजी क्षेत्रको सोलार बिजुलीमा गरेको लगानी र त्यसका लागि नेपाल विद्युत प्राधिकरणले तिर्ने न्यूनतम मूल्यको 'ग्याप' पूर्तिका लागि उपलब्ध गराउनेछ। निजी क्षेत्रको लागत बमोजिम बिजुलीको मूल्य नपाउने अवस्था आयो भने पनि घाटा लागेर निरुत्साहित नहुन् भनेर सहयोग गर्ने लागेको बैंकले जनाएको छ। 'नेपालले यसरी पहिलो पटक यस्तो व्यावहारिक फन्डिङ प्राप्त गरेको हो,' विज्ञप्तिमा भनिएको छ।
 
'सोलार बिजुलीमा नेपालका निजी लगानीकर्तालाई वित्तीय सुरक्षण प्रदान गर्न लागेका हौँ,’ बैंकको दक्षिण एसिया शाखाका वरिष्ठ ऊर्जा विज्ञ आइमिङ झोउले भनेका छन्, ’यसले विद्युत जस्तो संवेदनशील क्षेत्रमा सरकारी लगानीको अपरिहार्यतालाई कम गर्न सघाउने विश्वास लिएका छौँ।' अब नेपाली निजी क्षेत्रले सोलार बिजुलीमा लगानीको तत्परता देखाउने विश्वास लिएको समेत उनले उल्लेख गरेका छन्।
 
नेपालमा सोलारबाट व्यावसायिक रुपले बिजुली उत्पादन भए सुक्खा याममा नदिनालाको पानी कम हुँदा समेत जनताले उज्यालोमा बस्न पाउने बैंकको विश्वास रहेको छ। निजी क्षेत्रले मिनी र माइक्रो हाइड्रोमा राम्रो लगानी गरेको भन्दै बैंकले प्रशंसा समेत गरेको छ।
 
अब नेपालमा व्यावसायिक रुपले सोलार बिजुली उत्पादनका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान हुनेछ। त्यसमा इच्छुक कम्पनीले आवेदन दिन सक्नेछन्। विद्युत खरिद सम्झौतामा उनीहरुले उत्कृष्ट 'अफटेक' मूल्य पाउने समेत बैंकले जनाएको छ।
 
सोलार सिष्टमबाट बिजुली उत्पादन सुरु भएको भएको पहिलो दिन नै बैंकले फन्डिङ रकम उपलब्ध गराउने जनाएको छ। यसको डेड लाइन सन् २०२२ लाई राखिएको छ। टेन्डर प्रक्रिया सन् २०१७ मा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell