PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इन्टरनेटमा भारतको एकाधिकार तोडिँदै, चीनको इन्टरनेट प्रयोग गर्न पाइने



उमेश पौडेल

इन्टरनेटमा भारतको एकाधिकार तोडिँदै, चीनको इन्टरनेट प्रयोग गर्न पाइने

काठमाडौं : एक महिनापछि चीनको इन्टरनेट नेपालीले प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमका अनुसार डिसेम्बरभरि परीक्षण गरेपछि जनवरीदेखि सर्वसाधरणले प्रयोग गर्न पाउनेछन्।
 
टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जनवरीदेखि सर्वसाधरणले चीनको इन्टरनेट चलाउन पाउने जानकारी दिए। टेलिकम र चाइना टेलिकम ग्लोबलबीच मंगलबार रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
 
टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकमका कार्यकारी उपाध्यक्ष ओउ यानले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि इन्टरनेट प्रयोग गर्न पाउने सुनिश्चित भएको हो। केही समयअघि यी दुर्इ संस्था अप्टिकल फाइबरमा जोडिएका थिए। अहिले नेपालले भारतहुँदै आएको इन्टरनेट प्रयोग गरिरहेको थियो।
 
हाल नेपाल विश्वसँग टेलिकम्युनिकेसन मार्फत जोडिनका लागि दक्षिण भारतको चेन्नर्इ हुँदै समुन्द्रीमार्गबाट हङकङमा भएको एसियाको सबैभन्दा ठूलो डेटा सर्भरसँग जोडिएको छ। चीन हुँदै जोडिँदा पनि सर्भर हङकङकै  हो तर दूरीका हिसाबले चीनको बाटो छोटो पर्छ। राउन्ड ट्रिप डिले (आरटिडी) कम हुन्छ र नेपालमा इन्टरनेट चाँडो चल्छ। जसले गर्दा इन्टरनेट तीव्र गतिमा चल्छ।
 
चिनियाँ मार्गबाट पनि इन्टरनेट कनेक्टिभिटी सम्भव भएको अमात्यले बताउँदै नयाँ रुटबाट ल्याउँदा टेलिकमले थप लाभ लिन सक्ने बताए। उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने बताए। चीनसँग अप्टिकल फाइबर जोडिँदा सस्तो र गुणस्तरीय इन्टरनेट सुविधा पाइनेछ।
 

फाइदा के?

वर्षौदेखि एउटै देशसँगमात्र भएको कनेक्टिभिटी अन्त्य हुन्छ जसका कारण केही गरी भारतले नेपालमा इन्टरनेट सेवा बन्द गरेमा विकल्प पाइन्छ। नेपालको इन्टरनेट अहिलेको भन्दा चाँडो चल्छ।
 
नेपालमा चल्ने इन्टरनेट मिडियामा नोइज कम हुन्छ  र फ्लो स्पिड बढ्ने हुनाले इन्टरनेटमा डेटा स्पिड बढ्छ जसका कारणले इन्टरनेटको मूल्यमा पनि कमी आउँछ। टेलिकमले भारत र समुद्र प्रयोग गरेबापत तिरिरहेको धेरै रकम बच्छ ।
 

नेपाल इमर्जिङ इन्टरनेट हब बन्दै

चीनसंगको अप्टिकल फाइबरमा जोडिएपछि नेपाल दक्षिण एसियाको इमर्जिङ हब बन्नेछ। जसका कारण समग्र दक्षिण एसियाले नै फाइदा लिन सक्नेछन्। भारत, माल्दिभ्स्, भुटान र श्रीलङ्काले फाइदा लिन सक्नेछन्।
 
ती देशहरुको कुनै कारणवश समुद्रमा बिछ्याइएको अप्टिकल फाइबर टुट्यो भने नेपालतर्फको जडानले सहयोग पुग्नेछ। नेपालले बाटो प्रयोग गरेबापत भारत र अरु देश र टेलिकम कम्पनीहरुले नेपाल टेलिकमलाई पैसा तिर्नुपर्छ जुन हाल नेपालले भारतीय बाटो प्रयोग गरेवापत भारतको एयरटेल कम्पनीलाई पैसा तिरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell